राष्ट्रिय सभाका १९ सदस्यहरुले आज शपथ ग्रहण गर्दै हुनुहुन्छ । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सदस्यहरुले शपथ ग्रहण गर्न लाग्नुभएको हो ।
आज शपथ ग्रहण गर्ने राष्ट्रिय सभा सदस्यहरुमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट हुनुहुन्छ ।
माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द हुनुहुन्छ ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल र सावित्री मल्ल, नेकपा एमालेबाट रुक्मिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरीले राष्ट्रिय सभा सदस्यको शपथ लिंदै हुनुहुन्छ ।
राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि हिजो सकिएको थियो । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उहाँहरू हिजो बिदा हुनुभएको हो ।
उहाँहरूको ठाउँमा हुने रिक्तता पूर्तिका लागि माघ ११ मा भएको राष्ट्रिय सभा निर्वाचनबाट १९ सदस्य निर्वाचित हुनुभएको थियो । एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन भने बाँकी छ ।
प्रतिक्रिया