भर्जिनियामा अप्रिल १५ का दिन नेपाली अमेरिकन हेरिटेज डे मनाउने घोषणा ,दुवै सदनद्वारा स्वीकृत

इनेप्लिज २०८० फागुन १७ गते २:०२ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको बिधान सभा तथा सिनेटले नेपाली समुदायको लागि अप्रिल १५ ,२०२४ का दिनलाई नेपाली अमेरिकन हेरिटेज डे अर्थात् सम्पदा दिवसको घोषणा गरेका छन ।

भर्जिनियाको दुवै सदनमा भर्जिनियाका नेपाली समुदायको पहलमा सयुक्त संसदमा पेश गरिएको उक्त प्रस्तावलाई दुवै सदनले पारित गरेको छ । अर्थात् बिधान सभा तथा सिनेटले नेपाली अमेरिकन हेरिटेज डे को प्रस्ताव स्वीकृत गरेको छ ।

भर्जिनियाको प्रतिनिधि सभा तथा सिनेटले सयुक्त सङ्कल्प(रेजोलुसन) ४२ (एचजे४२)लाई सयुक्त रुपमा अनुमोदन गरेको छ ।

यो सङ्कल्प(रेजोलुसन) भर्जिनियाको राजधानी रिचमण्ड स्थित सयुक्त सदनमा पेश गरिएको थियो । भर्जिनियाको तल्लो सदन बिधान सभा र माथिल्लो सदन सिनेट दुवैले पारित गरेकोले नयाँ बर्ष २०२४ देखि नै नेपाली समुदायले नेपाली अमेरिकन हेरिटेज डे (सम्पदा दिवस )मनाउने छन ।

यसअघि, भिर्जिनियाको हर्डन नगरले एप्रिल २० लाई नेपाली अमेरिकी हेरिटेज दिवसको घोषणा गरेको थियो । त्यसै वर्ष २०१९ मा मोडल नेपाली सोसाइटी, यूएसए र एनआरएन भिर्जिनिया च्याप्टरले हर्नडनमा हेरिटेज दिवस मनाउँदा ७०० भन्दा बढी जनसंख्याको सहभागिता रहेको थियो जसमा भिर्जिनिया राज्यका निर्वाचित अधिकारीहरू, मेरिल्यान्ड राज्य र हर्डन नगरका अधिकारीहरू पनि शामिल थिए।

भर्जिनिया राज्यको हर्नडन निवासी तथा हर्नडन निर्वाचित नगर परिषद सदस्य प्रदिप ढकालको साथै यसै समुदायका सामाजिक अभियन्ता सुमनराज तिम्सिना लगायत समुदायका अन्य अगुवाहरुले प्रत्यक्ष एवम् परोक्ष रुपमा सहयोग र साथ दिएको कारण यो सम्भव भएको हो ।

तर प्रस्ताव पेश गर्ने मुख्य रुपमा भर्जिनियाकी बिधान सभा सदस्य अर्थात् सांसद आईरिन शिनले सयुक्त सभा पेश गरेकी थिइन् । उनि जिल्ला ८ कि बिधान सभा सदस्य हुन् । उनि डेमोक्र्याटिक दलकि जन प्रतिनिधि हुन् भने उनको क्षेत्र फेयरफ्याक्स काउन्टीको केही भाग पर्दछ । उनि सन् २०२२ देखि नै जिल्ला ८ को लागि निर्वाचित सांसद हुन् ।

त्यसै गरि यो प्रस्तावको लागि सिनेटका जेनिफर बि बोयस्को ,घजाला अजिम सलिम तथा सुहास सुब्रमन्यम तथा बिधान सभाका आईरिन शिन, एलिजाबेथ बि बेनेट पार्कर,मिसेल लोपेस माल्ड़ोनाड़ो ,केली के कनभिर्स -फलर ,एडेल वाई म्याकक्लर ,क्यानन श्रीनिभासन तथा क्याथी के एल ट्रानको साथ र सहयोग रहेको थियो ।

दुवै सदनबाट पारित भए पछि ढकालले खुसी व्यक्त गर्दै यो सबै नेपालीहरुको लागि गर्वको बिषय भएको बताए ।

प्रतिक्रिया