केसी डान्स सेन्टर र समुदाय बीच अन्तरक्रिया: नेपाली समुदायले दिए सल्लाह ,सुझाव र पृष्ठपोषण

इनेप्लिज २०८० फागुन १३ गते १३:४९ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा सन् २०१७ देखि चर्चित कार्यक्रम कलिवुड नाइट कार्यक्रम गर्दै आएको केसी डान्स सेन्टर र समुदाय बीच अन्तरक्रिया सम्पन्न भएको छ ।

गत फेब्रुअरी २४ शनिबारका दिन फेयरफ्याक्समा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थिति समुदायका अगुवा ,बिभिन्न पेशा तथा सामाजिक अभियन्ताहरुसंग कलिवुड नाइट कार्यक्रमलाई अझ सुन्दर ,अद्वितीय,राम्रो ,समुदायमुखी बनाउन सकिन्छ भन्ने हेतुले सबैसँग सल्लाह,परामर्श ,राय ,सुझाव र पृष्ठपोषण लिइएको छ ।

त्यहा उपस्थित प्रत्येकले केसी डान्स सेन्टर(केसी नृत्य केन्द्र)ले आयोजना गर्ने कलिवुड नाइट कार्यक्रमलाई अत्यन्तै सकारात्मक र रचनात्मक सल्लाह,सुझावहरु दिएका थिए ।

कार्यक्रम अनौपचारिक रहेता पनि केसी डान्स सेन्टरका संस्थापक नविन केसीले सन् २०१७ देखि सुरु भएको कलिवुड नाइटलाई अझ कसरी सुन्दर ,राम्रो र कसरी सबै समुदायलाई समेट्न सकिन्छ भन्दै सबैसंग सल्लाह र सुझाव मागे ।

केसी डान्स सेन्टरसँग स्थापना काल देखि नै संलग्न रहेका परशु तिमिल्सिनाले २०१७ देखिका संलग्न कलाकारहरुको संख्या,कार्यक्रमको उपलब्धि ,सहयोग गरिएका सन्दर्भ, सन् २०२३ मा दर्शकहरुको उपस्थिति ,कार्यक्रम पश्च्यात अमेरिकामा चर्चा परिचर्चामा कार्यक्रम पुगेको तथा केसी डान्स सेन्टरले प्राप्त गरेको अवसर लगायत बिषयमा छोटोमा चर्चा गरे ।

उपस्थित अधिकांशले ठीक समयमा सुरु हुने कलिवुड नाइट र समय सीमा त्यतिकै कायम राख्न सल्लाह र सुझाव दिएका थिए । साथै बिगतमा झैँ नेपालका चर्चित एक कुनै कलाकारलाई ल्याउन सुझाव दिनुको साथै अझ दोश्रो पुस्तालाई यसै गरि संलग्न गराउन आग्रह गरेका थिए ।

उपस्थित सबैले कुनै भाषण, सम्मान तथा खादा नलगाउने हुनाले कार्यक्रमको गरिमा उच्च रहेको भन्दै त्यसलाई पनि निरन्तरताको लागि आह्वान गरे ।

अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालबालिकाहरु जो नेपाली भाषा सम्म बोल्न नजान्ने समेतले नेपाली गीतहरुमा गरेको प्रस्तुति व्यावसायिक कलाकारहरुले गरेको प्रस्तुत झैँ उत्कृष्ट प्रस्तुतिको सबैले मुक्त कण्ठले प्रशंसा समेत गरेका थिए ।

सबैले अझ यसलाई सबै नेपाली समुदायमा पुर्याउनु पर्ने र प्रचार प्रसार गर्नु पर्ने समेत सुझाव दिएका थिए । केसी डान्स सेन्टरकी संस्थापक लुना श्रेष्ठको उपस्थिति रहेको थियो।

प्रतिक्रिया