तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) आगामी वैशाख महिना रामेछाप नगरपालिकामा आयोजना हुने

इनेप्लिज २०८० फागुन १३ गते १३:२९ मा प्रकाशित

काठमाडौँ। सेलिब्रेटी नेपालको आयोजनामा हुने तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) आगामी वैशाख महिना रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । महोत्सवमा सहभागीता जनाउन चाहनेहरुको लागी दर्ता पनी खुल्ला गरिएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

पर्यटन प्रबर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ आयोजना हुने यो महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरुको सहभागीता रहनेछ ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्मलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रबर्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो । महोत्सव पहिलो बर्ष गोरखा जिल्लाको लाप्राकमा र दोश्रो पटक काभ्रे जिल्लाको भकुन्डेबेसीमा सम्पन्न भएको थियो। तेश्रो संस्करणको जागरुक युवा क्लब रामेछापले स्थानीय ब्यबस्थापन गर्नेछ भने कार्यक्रम संयोजक चलचित्र निर्देशक कमल एक्चै मगर रहेका छन्।

प्रतिक्रिया