प्यारी मान्छे, असिम मायाँ….र सम्झना

नबिन बिक २०८० फागुन १२ गते १:३० मा प्रकाशित

रातको ढाई बजेछ…मस्त निद्रा आउने बेलामा झन किन तिम्रो यादको आँधी आईरहेको छ, कुन्नि किन हो त्यो त मलाई पनि थाहा छैन। कस्तो दिन थियो त्यो? जुन दिन हाम्रो पहिलो चोटी भेट भयो, यसलाई जीबनको एक कालो दिन मानौ की ? वा जीबनको एक सुनौलो दिन ? सायद कहिल्यै नभेटिनु पर्ने हामी त्यो दिन भेटिन पुग्यौ । तर जे भए पनि त्यो दिनलाई म मेरो जीबनको सुनौलो दिन नै मान्छु। त्यो दिन नभएको भए आजको यो दिन हुन्थेन, तिमी संग भेट नभएको भए , आजको यो कथा हुन्थेन, यो यादे हुन्थेन, जे भए पनि मैले तिमी सगं बिताएको हरेक पलहरु स्वर्णिम थिए । नौ बर्ष….. नौ बर्ष कसैको प्रेममा डुब्नु कुनै जोडी वा प्रेमीको लागी सानो कुरो पक्कै होईन, यसको लागी धेरै त्याग , तपस्या ,बलिदान र बिश्वास चाहिन्छ। तिमीले कत्ति पनि नडगमगाईकन मिलन होस वा बिछोड, खुशी होस वा दुखी , तिमी सधै अटल भएर औशीको रातको तारा झै सधै चम्कि रह्यौ।मायाँको उज्यालो दिई रह्यौ।

त्यो दिन नभएको भए आजको यो दिन हुन्थेन, तिमी संग भेट नभएको भए , आजको यो कथा हुन्थेन, यो यादे हुन्थेन

मेरो त के कुरा गर्नु र ? म त जुन देखे जुनै राम्रो , घाम देखे घामै राम्रो तर तिम्रो नजरमा केवल म नै राम्रो ….कति भाग्यमानि म तर मुर्ख पनी ….म कस्तुरी मृग जस्तै रैछु, जंगलै हररर पार्ने सुगन्धित कस्तुरी नाभि आफैमा रैछ तर सुगन्धको खोजी सारा जंगल चाह्रदै हिडे, मैले आफैमा भएको सुगन्ध चिन्न सकिन। ९ बर्षमा धेरै चोटी तनको भेट नभएता पनि मनबाट त हामी कहिल्यै अलग थिएनौ। मलाई थाहा छ , म तिम्रो मन र मष्तिष्कमा नराम्रो सॅग गडेको थिए , होला तिमीले जति, तिमीले जसरी मैले तिमीलाई मेरो मनमा गाडेको थिईन होला तर बिश्वास गर मेरो मनमा पनी तिमी कम गडेकी थिईनौ। तिम्रो अबोधपनाको र तिम्रो मायाको फाईदा उठाउदै मैले तिमालाई कैयौ चोटी मायाँको भन्दा केवल हवसको शिकार पो बनाएकी जस्तो लाग्छ मलाई।

कता कता आत्माग्लानी हुन्छ मलाई, तिमी त कलिली थियौ, तिमीलाई के नै थाहा थियो र? मैले बुझ्नु पर्ने थियो नि तिमीलाई, मैले सम्झाउनु पर्ने थियो नि तिमीलाई, तर म तिमी संग रिसाउन मात्रै जाने ,कति पबित्रता थियो तिम्रो मायामा, कति त्याग थियो तिम्रो मायाँमा, कति बिश्वास थियो तिम्रो मायामा, म अहिले सम्झिदा पनी मेरो शरिरका रौं खडा हुन्छन, मेरो रिसमा पनि , मेरो तिरस्कारमा पनि केवल माया मात्रै देख्यौ, मेरो नराम्रो सुन्ने तिम्रो कुनै कान थिएन,मेरो नराम्रो देख्ने तिम्रो कुनै आखाँ थिएनन । यदि समयलाई पछाडी फर्काउन मिल्थ्यो भनी म तिमीलाई तिमीले जसरी माया गरेकी थियौ त्यसरीनै खनखनी तात्तातै त्यस्तै पबित्र र चोखो माया दिन चाहन्छु। तिमीले चलचित्रमा देखेको टाईटानिकको ज्याकले रोज लाई गरेको माया र चखेवा जोडीले गरेको माया भन्दा धेरै शानदार, रमाईलो र मिठो पबित्र मायाँ दिन चाहन्छु तर…अफसोचको कुरा , समय फर्काउन नमिल्ने रैछ मायाँ।

मेरो नराम्रो सुन्ने तिम्रो कुनै कान थिएन,मेरो नराम्रो देख्ने तिम्रो कुनै आखाँ थिएनन

जब तिमी मेरो लागी तड्पिन्थ्यौ, रुन्थ्यौ, केवल मेरो एक झलक पाउन तिमी कति लालयित हुन्थ्यौ तब म तिम्रो भावनालाई लत्याएर हिड्थे, मलाई तिमी रोएको मन पर्थेन, तर मैले आज बल्ल थाहा पाउदै छु मानिस किन रुदा रैछन, किन एक झलकको लागी तड्पिडदा रहिछन, किन पागल हुदा रैछन? समयले सबै कुरा बुझाउदै छ। तिमीलाई मैले निश्चित दुरीमै राख्नुको कारण तिमीले नबुझेकी पक्कै थिईनौ, होटलको कोठामा लुकेर हैन म पनि तिमीलाई यो समाजले देख्ने गरि माया गर्न चाहन्थे, तिम्रो हात र सिउदो रंगाएर, तिमीलाई दुलहिको घुम्टो ओडाएर, त्यसको केहि महिनामा बेबी सावरको पार्टी दिएर, फेरी केही समयमा जेन्डर रिभिल पार्टी राखेर तिम्रो सबै चाहना पुरा गर्ने र तिमीलाई एक पुर्ण नारी बनाउने मन मेरो नभएको कहाँ हो र मायाँ? भाग्यको खेलै यस्तै रैछ, आँधीबाटो हिडेपछि तिमी संग भेट भयो, मैले वा तिमीले चाहेर तिम्रो ति सबै ईच्छा पुरा गर्न नसक्ने भए ।

कृष्णले झै घरमा रुक्मिणी हुदा हुदै तिमीलाई राधा बनाएर पनी राख्न सकिन किनकी म कुनै भगवान कृष्ण होईन, म त केवल एक साधरण मानब हु, मैले र तिमीले यो समाजबाट धेरै तिरस्कार र घृणाको प्रहार भेटने थियौ, ति सबै कुराहरुले गर्दा मैले तिमीलाई मेरो नजिक आउन रोक्नको लागी मैले मनमा बिशाल भिमकाय चन्द्रमाबाट पनि देखिने चीनको ग्रेटवाल जस्तै पर्खाल लगाएको थिए तर तिम्रो मायाको सागरलाई ति नाथे पर्खालले के रोक्न सक्थ्यो र, तिमीले सबै पर्खालहरु त बगाए लग्यौ लग्यौ तर मलाई पनि चुर्लुम्ब डुबाएर गयौ, तिम्रो पागलपनले मलाई पनि पागल बनाईछौ, तिम्रो प्रेम रोग मलाई पनि सारि सकिछौ, प्रेम रोग सरुवा रोग हुदो रहिछ भन्ने कुरा प्रमाणित गरिदिएकी छौ।

९ बर्ष सम्म मेरो बाटो हेरेर नथाकेकी, मायाको परिक्षा दिदा दिदा नथाकेकी तिमी जब मैले यो समाज संग, मायाको दुश्मनहरु संग लड्ने , अघि बढने निधो गरेर तिमी एउटा नारी भएर पाउनु पर्ने हक र सुख दिन्छु भनेर दृढ बिश्वास लिएर तिम्रो सामु आउदा तिमी टाढा गई सकिछौ,तिमी कति चाडै आफ्नो हार मानेर गईसकिछौ? तिमी अरु कसैको भै सकिछौ।तर मलाई जीबनमा एउटा कुरा सधै खट्की रहनेनछ, तिमीलाई भेटेर एक चोटी तिम्रो आँखामा आखाँ जुधाएर तिमीलाई जीबनभर साथ दिने मेरो निर्णय पनि सुनाउन सकिन र यो मौका फेरी आउने छैन किनकी तिम्रो सपनाको राजकुमारसंग तिम्रो लगन गाँठो कसिई सकेको छ, तिमीलाई धेरै हतार भएछ , मलाई थाहा छ तिमीलाई पनि पराई छान्नु त्यति सहज थिएन , यस्तो अप्रिय निर्णय लिनु तिम्रो लागी सजिलो पक्कै थिएन तर पनि उसलाई छान्ने तिम्रो बाध्यता थियो, तिम्रो परिवारलाई देखाउन, यो समाजलाई देखाउन, तर अरुलाई देखाउनकै लागी सम्झौतामा स्विकारिएको मायाले कति दिन थाम्ला? कति भोटो फटाउला? तिम्रो नयाँ मायाको बोटमा मायाको फुल मात्रै होईन, कपाल पनि फुलोस, सेतै कपाल फुलेर बुढि भईन्जेल सम्म तिमीलाई सधै मायाँ गरिरहोस।

यो मौका फेरी आउने छैन किनकी तिम्रो सपनाको राजकुमारसंग तिम्रो लगन गाँठो कसिई सकेको छ

मायाँ गर्न, मायाँमा तडपिन, मायामा पागल हुन र चटक्कै छोडेर आफ्नो बाटो लाग्न मैले तिमी संग सिकी सकेको छु, यति भएसी मैले पनि आराम संग, खुशी संग जीबन काटन सक्ने छु भन्नेमा म ढुक्क छु….जादा जादै फेरी पनि तिमीलाई अन्तिमचोटी मनबाटै साँचो मनले सरी र आईलभ यु भन्न चाहन्छु…तिमी जहाँ गए पनि, जस्की भएपनि सधै मेरो मन र मष्तिष्कमा मात्रै होईन तिमीले छिया छिया पारेको मुटुमा पनि सधै धड्किई रहने छौ…तिम्रो आगामी जिबन तिमीले सोचे जस्तै रंगीन होस…सुखी होस, खुशी होस……..अलबिदा मायाँ

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया