सौन्दर्य प्रतियोगितको थालनी र मिसेज नेपाल क्यानडाको श्रृङ्खला

डा. गोबिन्दसिंह रावत टोरन्टो, क्यानडा २०८० फागुन ४ गते २२:५३ मा प्रकाशित

इतिहासको पाना पल्टाएर हेर्यो भने सुन्दर महिलाका रुपमा चर्चा पाएकी पहिलो नाम ईजिप्टमा ईसापूर्व ६९ सालमा जन्मेकी क्लियोपेट्राको आउने गर्छ । इतिहासकारहरूले क्लियोपेट्रालाई एक चतुर र महत्वाकाँक्षी नारीका रूपमा चित्रण गरेका छन् । क्लियोपेट्राको सुन्दरताको चर्चा त्यस बेला जताततै फैलिएको थियो । आफ्नो सौन्दर्यतालाई निरन्तरता दिन उनी गधाको दुधले भरिएको कुण्डमा नुहाउने र विभिन्न पूmलहरूको मिश्रणबाट अत्तर बनाएर प्रयोग गर्ने जस्ता सौन्दर्य प्रसाधनहरूको प्रयोगको थालनी गराएको मानिन्छ । सन् १८३९ मा एग्लिनटन टुर्नामेन्टमा विश्वमा पहिलो सुन्दरीका रुपमा जर्जियाना सेमोर लाई ’सौंदर्यको रानी’ को ताज पहिराइएको थियो । त्यसपछि भने यसले निरन्तरता पाएको देखिदैन । तर सन् १८५० मा सौन्दर्य प्रतियोगिताका लागि फोटोग्राफिक सौन्दर्य प्रतियोगिता शुरु भएको देखिन्छ । सन् १८५० मा खबरकागजका माध्यमबाट सुन्दरीहरुको तस्वीरलाई संकलन गरेर त्यसैबाट विश्व सुन्दरीको छनोट गरिन्थ्यो । त्यसपछि सन् १८८० तिर स्वीमिङ्ग कस्ट्युममा सौन्दर्यको पहिचान गरिन थालियो जसलाई बाथिङ्ग ब्युटी कन्टेस्ट पनि भनिन्छ । अनि समाजको आधुनिकीकरणसँगै सौन्दर्य प्रतियोगिताको थालनी भएको देखिन्छ । अनि हलिउड चलचित्रको प्रभावसँगै
विश्वका विभिन्न राष्ट्र पनि सौन्दर्य प्रतियोगिताले प्राथमिकता पाउँदै जान थाल्यो ।

गुगल सर्चका माध्यमबाट हेर्ने हो भने पहिलो विश्व सौन्दर्य (मिस वल्ड) प्रतियोगिता बेलायतको लण्डनमा जुलाई २९, १९५१ मा भएको थियो । त्यस सौन्दर्य प्रतियोगितामा स्वीडेनकी किकी हाकान्सनले मिस वर्ल्डको ताज जितेकी थिइन् । त्यसपछि यसले निरन्तरता पाँदै जान थाल्यो । क्यानडामा पहिलोपटक सौन्दर्य प्रतियोगिता ११ फरवरी १९२३ मा मोन्ट्रियल विन्टर कार्निभलको समयमा भएको थियो । त्यस प्रतियोगितामा सुश्री इनिफ्रेड ब्लेयरलाई पहिलो “मिस क्यानडा“ घोषणा गरिएको थियो। छिमेकी मुलुक भारतमा पहिलो मिस इन्डिया कलकत्ताकी प्रमिला (इस्थर भिक्टोरिया अब्राहम) ले सन् १९४७ मा जितेकी थिइन्। त्यसपछि सोन्दर्य प्रतियोगितामा विश्व सुन्दरीसँगै, ब्रमाण्ड सुन्दरी, एशियाली सुन्दरी हुँदै देश, प्रदेश, जिल्ला, शहरबाट अब विवाहिता महिला सुन्दरी प्रतियोगिताले पनि स्थान पाउँदै गएको छ । भर्खर मिसेज नेपाल क्यानडा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।

यस्ता सौन्दर्य प्रतियोगितामा नेपालीहरु सुन्दरीहरुको सहभागिता अर्थात भनौं नेपालमा सौन्दर्य प्रतियोतिाको थालनी सन् १९९४ मा भएको थियो । त्यस सौन्दर्य प्रतियोगितामा रुबी राणा सन् १९९४ मा पहिलो मिस नेपाल बनेकी थिइन्। मिस वीरगन्जको उपाधि जितेपछि उनले मिस नेपाल उपाधिका लागि प्रतिस्पर्धा गरिन् । पहिलो मि; नेपाल बन्न सफल भईन् । यो सौन्दर्य प्रतियोगिता सन् १९७० मा स्थापना भएको काठमाडौं जेसिसले आफ्नो रजत जयन्तीको विशेष अवसरमा सन् १९९४ मा पहिलो मिस नेपाल सौन्दर्य प्रतियोगिता आयोजना गरेको थियो ।

त्यसपछि नेपालमा सौन्दर्य प्रतियोगिताको बाढीनै लाग्यो भन्दा अत्योक्ती नहोला । त्यसबेलाको पहिलो नेपाल सुन्दरीको प्रतियोगिताको म पनि एक प्रत्यक्षदर्शी भएकोले विरेन्द्र सभागृह भित्र सुन्दरीहरुको प्रतियोगिता चल्दै गर्दा बाहिर अखिल नेपाल महिला सँघको विरोध कार्यक्रम चल्दै थियो । यसरी विरोधको वातावरणबाट शुरु भएको नेपाली सौन्दर्य प्रतियोगिताले आज नेपालीहरुको बाहुल्यता रहेका विश्वका विभिन्न मुलुकमा पनि सफलताका साथ सम्पन्न हुँदै आएको छ ।

यसको थालनीको बेला सौन्दर्य प्रतियोगितामा परम्परागत रुपमा प्रतियोगीहरुको शरीरिक विशेषताहरुको श्रेणीकरण गरेर मूल्याङ्कन गरिन्थ्यो । तर आजको मितिमा यस्ता सौन्दर्य प्रतियोगितामा प्रतियोगीको आन्तरिक सौन्दर्य, व्यक्तित्व, बुद्धिमत्ता, प्रतिभा, चरित्र, र परोपकारी संलग्नताको न्याय गर्ने मापदण्डका साथ, छनोट समितिमा रहेका निर्णायकहरूसँग निजी अन्तर्वार्ता र सार्वजनिक अन–स्टेज प्रश्नहरूको जवाफहरू मार्फत रोजिने गरिन्छ ।

त्यसैले आजको सौन्दयताको परिभाषा सुन्दर मुहार हुनुलाई मात्र मानिदैन । प्रतियोगीमा व्यक्तित्व, बौद्धिकता, वादविवादको क्षमतासँगै वक्तित्व कला हुन पनि जरुरी मानिन्छ । आजको मितिमा सौन्दर्य प्रतियोगिता मिस, मिसेज वा टीनमा विभाजित भएको छ । सबै प्रतियोगिताको आआफ्नै महत्व रहेको हुन्छ । अमेरिकामा मिस नेपाल अमेरिकाको नाममा २०११ देखि सौन्दर्य प्रतियोगिता हुँदै आएको छ भने २०१७ देखि मिस नेपाल नर्थ अमेरिका सौन्दर्य प्रतियोगितामा क्यानडाको पनि सहभागिता रहेको थियो । मिस बल्र्ड र मिस ईन्टरनेशनल सोन्दर्य पैतियोगितामा ईटहरीकी पृथीविया थापा २०२३ कि मिस बल्र्ड बन्न सफल भएको देखिन्छ भने मिसेज नेपाल इन्टरनेशनल २०२३ को ताज श्रीमती सृजना केसीले पाएकी थिईन् । २०१८ देखि शुरु भएको मिस नेपाल नर्थ अमेरिकाको सोन्दर्य प्रतियोगितामा २०२३ मा न्युयोर्ककि जुबली शेर्पाले ताज पाएकी थिईन् भने क्यानडाकी ईशा सुवेदी दोस्रो रनरअप अर्थात तेस्रो भएकी थिईन् ।

क्यानडामा सौन्दर्य प्रतियोगिताको थालनी गर्ने श्रेय विस्डो (महिला शिक्षा र सीप विकास संगठन ) र एनएफएच, नेपाल (नेपालिज फेसन होम, नेपाल) लाई जान्छ । गत जनवरी २०२४ मा सम्पन्न भएको पहिलोपटक क्यानडा मिसेज अर्थात श्रीमती सोन्दर्य प्रतियोगिताको थालनी गरेर एउटा इतिहास रचेको छ । यसपटकको प्रतियोगिता आयोजकहरुमा मात्र बढी केन्द्रित भएको अनुभव मैले गरेको छु । विस्डो ( महिला शिक्षा र सीप विकास संगठन ) र नेपालिज फेसन होम, नेपालको संयुक्त आयोजनामा सम्पन्न पहिलो श्रृखलामा कम सहभागिता देखियो ।

बिसजनाबाट शुरु भएर दशजनाको सहभागितामा छ जना अन्त्यसम्म पुग्न सफल भएको देखियो । यस्तो हुनुमा प्रचारप्रसारको कमी, अन्य संस्थाहरुसँगको समन्वयको कमी र विशाल टोरन्टोबाहिरका नेपाली समुदायलाई यस बारे जानकारी नहुनु जस्ता कारणहरु कारक बनेको जस्तो लाग्छ । प्रतियोगिताको मूल्याङ्कन समितिमा रहनु भएका आफ्नो क्षेत्रमा बैशिष्ठता प्राप्त गरेका निरा शर्मा, डा. संगीता धौबडेल, सुभेक्षा भट्ट , डा. निलु केशरी र डा. सोनी थापा ओलीहरुको निर्णयक प्रक्रियाबाट पुरा भएको पहिलो मिसेज क्यानडा सौन्दर्य प्रतियोगितामा कम से कम एकजना पुरुष निर्णयक हुनु जरुरी थियो जस्तो मलाई लाग्छ । यहाँ महिलाको सौन्दर्यताको मूल्याङ्कन गर्न महिलानै सक्षम हुन्छन् होला तर वास्तविकताका महिलाको सौन्दर्यताको पहिचान र वयान गर्ने पुरुष नै हुने गर्दछ भन्दा अत्योक्ती नहोला ।

अन्टारियो प्रान्तको ब्राम्टन शहरमा पहिलो मिसेज नेपाल सौन्दर्य प्रतियोगिता क्यानडाका लागि नेपाली कार्यवाहक राजदूत रोजिना ताम्राकारको प्रमुख आतिथ्यमा सम्मन्न भएको थियो । एउटा इतिहास रच्दै शुरु भएको पहिलो वैवाहित सुन्दरीको ताज सृष्टी श्रेष्ठले हात पारेकी थिइन् । फस्ट रनरअप र फोटोजनिकमा अलिशा राजभण्डारी, सेकेण्ड रनरअपमा रश्मी थापाको नाम घोषणा भएको थियो । त्यस्तै टेलेण्टेड प्रतियोगीमा यमी कर्माचार्य र पब्लिक च्वइसमा श्याम लिम्बु सफल भएका थिए । कार्यक्रमका आयोजक चन्दा श्रेष्ठ र हेमा मानन्धरले आयोजना गरेको व्यवस्थित कार्यक्रमले दर्शकको मन जित्न सफल भएको थियो । तर यसमा अझ बढी गृहकार्य गरेर क्यानडामा अवस्थित व्भििन्न संघ संस्थाहरुसँग समन्वय गरेर अझ बढी प्रतिनिधिहरूको सहभागिता बढाउन सकिन्थ्यो ।

मिसेज नेपाल क्यानडाका प्रमुख अतिथि बन्नु भएकी कार्यवाहक राजदुत रोजिना ताम्राकारले यस्ता कार्यक्रमहरूका माध्यमबाट नेपाल र नेपालीहरुको पहिचान विश्वभरी फैलने भएकोले कार्यक्रमको नरन्तरताको कामना गर्नु भयो ।

वास्तवमा यस्ता कार्यक्रमहरुले महिलाहरुको क्षमता वृद्धि गर्नका साथै आजको विश्वको वास्तविकता र मानव समाजको अवस्थाका बारेमा अध्ययन र अनुसन्धान गर्ने बाध्य गराउँछ । महिलालाई समुदायको प्रतिनिधित्व गर्न उत्साहित गर्छ ।क्यानडामा मिसेज नेपालपछि चाँडैनै मिस नेपाल क्यानडाका लागि सौन्दर्य प्रतियोगिता हुँदैछ भन्ने जानकारी
आएको छ । २०२३ मा एम.एन.सी. ईन्क (मिस नेपाल क्यानडा ईन्क) को नामबाट स्थापना भएको संस्थाले २०२४ मिस नेपाल क्यानडाको आयोजना गर्दैछ । यसको जानकारी र प्रतियोगिताका लागि आवेदन फारम संस्थाको वेब साईटमा राखिएको छ । तर यसका सहभागी हुने युवती अविवाहित नेपाली नेपालको नागरिक हुनु पर्नेबाट यसले
क्यानडामा रहेका क्यानेडियन नेपाली समुदायको प्रतिनिधित्य कसरी गर्नेछ भन्न प्रश्न आउने गर्छ ।

प्रतिक्रिया