स्वप्नवाटिका स्कुल बुद्धनगरले गर्यो सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रम

इनेप्लिज २०८० फागुन ३ गते २३:३७ मा प्रकाशित

काठमाडौं : काठमाडौंको बुद्धनगरमा रहेको स्वप्नवाटिका स्कुलले बुधवार सरस्वती पूजा कार्यक्रम सम्पन्न गरेको छ । साथै उक्त कार्यक्रमको अवसर पारेर स्वप्नवाटिकाले भर्ना प्रक्रिया औपचारिक रुपमा सुरू गरेको छ ।

संविधानसभा सदस्य तथा विद्यालयकी संस्थापक अध्यक्ष शुशीला श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सरस्वतीको मूर्तीमा पूजाआजा तथा धुपदीप बाली उद्घाटन गरिएको थियो । त्यसैगरी पूजा सकिएलगत्तै सुरु भएको विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शुशीला श्रेष्ठले स्वप्नवाटिका स्कुलले आफ्नो स्थापनाको ३० वर्ष पूरा गरिसक्दा समेत निरन्तर रुपमा यस्ता कार्यक्रमहरू गर्दै आइरहेको बताइन् । साथै उनले हाल नेपालमा केही पनि छैन भन्ने मान्यता हावी भएकोमा दुःख व्यक्त गरिन् ।

नेपालमा जे पनि छ तर गर्न सक्नु पर्छ, अल्छी गर्न हुँदैन, अबको शिक्षा सीपसँग जोडेर दिनु पर्छ तथा विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिन आवश्यक रहेको कुुरा व्यक्त गरिन् ।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक उज्वल राईले स्वप्नवाटिका स्कुल नयाँ ढङ्गबाट सञ्चालन गर्नका लागि आउनु भएका व्यक्तित्व रोशनरत्न शाक्य जोडिएपछि स्कुलका शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थी सबै खुसी भएको बताए । उनले भने ‘स्वप्न बाटिकाले अब छिट्टै आफ्नो परिवर्तन देखाउन सक्ने छ ।’

सरस्वती पूजा कार्यक्रममा लोकगायक कृष्ण कँडेल, चेल्सी इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल सुधीरकुमार झा र अध्यक्ष आनन्द आदित्यलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नर्सरीदेखि १२ सम्मका विद्यार्थीले विभिन्न लोकगीतहरूमा नृत्य,गायन, विज्ञान प्रदर्शनी गरेका थिए भने नेवारी बाजाले कार्यक्रममा थप ऊर्जा प्रदान गरेको थियो । सोही अवसरमा विद्यालयमा हुने विविध प्रतियोगितामा भाग लिएर विजेताहरूलाई पुरस्कार, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया