अमेरिकी सरकारी सेवामा रहेका मनोज खड्काले ल्याए बालबालिका र अभिभावक लक्षित प्रेरणादायी गीत

इनेप्लिज २०८० माघ २७ गते २२:१९ मा प्रकाशित

अमेरिका फेब्रुअरी १०। हालै बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको तिमी जे बन उदाहरण बन बोलको गीत लिरिकल भिडियोको साथ सरस्वती पूजाको अवसर पारेर सार्वजनिक भएको छ । नेपाल र अमेरिका बाट एकै साथ रिलिज भएको उक्त गीतका प्रत्येक हरफले विद्यार्थीहरुलाई राम्रा बानी व्यबहार अपनाउन उर्जा दिने अपेक्षा गरिएको छ । गीतले आफ्ना सन्तान प्राध्यापक, डाक्टर, ईन्जिनियर, पाईलट जस्ता निश्चित पेशामा लागेको देख्न रुचाउने परम्परागत सोच (old school of thought) भन्दा माथि उठेर जे जस्तो काम, पेशा वा व्यबसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्नु पर्छ भन्ने मूल मर्म बोकेको छ ।

बालबालिका तथा अभिभावकहरुमा समर्पित भनिएको उक्त प्रेरणादायी गीतलाई भोजपुर जिल्ला पौवादुम्मा गाउपालिका (साविकको सानोदुम्मा गाविस) मा जन्म भई हाल अमेरिकी सरकारी सेवाको महत्वपूर्ण जिम्मेवारीमा रहेका रचनाकार मनोज खड्काले आफ्नै यूटुब च्यानल मनोज खड्का अफिसियल बाट बजारमा ल्याएका हुन् । विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा रहि नेपाल लगायत विभिन्न देशहरुको कार्य अनुभव बटुलेका खड्का हाल अमेरिकाको राजधानी वाशिंगटन डी.सी.मा बसोबास गर्दै आएका छन् । उनी पेशागत कार्यको अतिरिक्त बचेको समय साहित्य सृजना र सामाजिक सेवाका साथै नेपाली भाषा र संस्कृती जगेर्नाको लागि लागिपरेका छन् । गीतकार खड्का अमेरिकाको भर्जिर्नियामा नेपाली मूलका बालवालिकाहरुका लागि स्वयम्सेवी तरिकाले सञ्चालन गरिएको नवदुर्गा नेपाली स्कूलका सञ्चालक समेत हुन् ।

तिमी जे बन उदाहरण बन लाई चर्चित गायक प्रमोद खरेल र डा. त्रिशला गुरुङले गाएका छन् । दुबै गायक गायिका नेपाली सांगितीक जगतमा अत्यधिक रुचाईनुका साथै व्यस्त र धेरै फ्यान् फलोअर्स भएका कलाकारमा पर्दछन् । प्रमोद र त्रिशलाले नै उक्त गीत गाउनुको कारण बारे जिज्ञासा राख्दा गीतका प्रस्तोता तथा रचनाकार खड्का गीतको समग्र भाव अनुसारकै गायक गायिका रोजिएको बताउछन् । उनी थप्छन्, गायन विधामा हरेक पुस्ताका स्रोता माझ लोकप्रीय दुवै गायक गायिकाको बौद्धिक स्तर समेत अव्वल रहेकोले वहाँहरुको व्यक्तित्वले गीतमा थप चमक भर्दै बालबालिकालाई हौसला दिने विश्वास लिईएको छ । खड्काका अनुसार गीतमा दुबै जनाको संयुक्त आवाजले बाबुआमा मिलेर आफ्नो सन्तानलाई सुमार्गमा लाग्न प्रेरणा दिएको अनुभूती गराउन खोजिएको छ । यो गीतको अर्को सशक्त पक्ष भनेको संगीत हो, जसमा अहिलेका कुशल र नाम चलेका कम्पोजर कल्याण सिंहले धुन् भरेका छन् । अमेरिकन गायक तथा संगितकार जोन माएर र ईन्डियन कम्पोजर ए.आर. रहमानको संगितबाट बिशेष प्रभावित संगितकार सिंहले धेरै गीति एलबम र नेपाली सिनेमामा समेत संगीत दिईसकेका छन् । उनले संगीत निर्देशन गरेका सिनेमाहरुमा प्रेम गीत २, भिसा गर्ल, मुखौटा, हसिया लगायत पर्दछन् । उत्कृष्ट मेलोडी तयार गर्न एरेन्जर दिक्षित पौडेल र रेकर्डिममा दिनेश श्रेष्ठ (डी. स्टुडियो) ले महत्वपूर्ण भूमिका खेलेका छन् । यसैगरी कभरपेज डिजाईन चर्चित ग्राफिक डिजाईनर तथा भिडियो निर्देशक अनिल स्थापितले तयार गरेका हुन् भने गीतको भिडीयो सम्पादन राजु बस्नेतले र एआई इमेज जेनेरेट सदीक्षा कट्टेलले गरेका छन् ।

गीत रिलिजको अवशरमा बोल्दै वरिष्ठ साहित्यकार, लेखक, समिक्षक तथा मदन पुरस्कार विजेता कृष्ण धराबासीले जसरी रंग, कुची र कल्पनाले सुन्दर चित्र बन्छ त्यसरी नै यो गीत शव्द, संगीत र स्वरको मीठो संगमले उत्कृष्ठ सृजना भएको बताए । साहित्यकार धराबासीले रिलिजमा आउनु अगाडीको भर्सनलाई धेरै पटक सुनेको पनि बताए । उनले थपे, यो गीतका हरेक हरफले एउटा निष्ठा र नैतिकताको अडान् लिन्छ । बिर्सिसकेको संघर्ष र आदर्शको उठान गर्छ । यो भजन् जस्तो पनि सुनिन्छ, बाल गीत जस्तो पनि लाग्छ । सबै भन्दा आनन्द आखा चिम्म गरेर सुन्नुमा छ ।

अमेरिका स्थित नेपाली दुताबासका डेपुटी चिफ अफ मिसन कुमार राज खरेल यो गीतले संसारका जुनसुकै कुनामा बस्ने नेपाली भाषी अभिभावकहरुले आफ्ना नानीबाबुलाई नेपाली सांस्कृतिक विरासतमा हुर्कन र आदर्श व्यक्ति बन्न प्रेरित गर्ने बिश्वास गर्दछन । पेशागत जिम्मेवारीका अतिरिक्त नेपाली साथै अंग्रेजी साहित्यमा विशेष रुची राख्ने खरेलले गीतका मनन्योग्य सन्देशले अनुशासीत र सुन्दर जीवन जिउने बाटो देखाएको बताए । उनले गीतको बिचबिचमा कोरसको रुपमा प्रयोग भएको झ् श्रीं ह्रीं सरस्वत्यै नमः मन्त्रले बालबालिकाको हुर्काई र समग्र व्यक्तित्व विकासको लागि आध्यात्मिक तथा सांस्कृतिक चेतनाको महत्वलाई झक्झकाई रहने बताउँछन् ।

ज्ञान, कला र संस्कृतीको श्रीबृद्धिका लागि फरक ढंगले तयार पारिएको यो गीतलाई आशीर्वाद मिलीरहोस् । हार्दिक शुभकामना ।

प्रतिक्रिया