बाना भवन ऋण मुक्त अभियानको लागि ६३ हजार डलर सङ्कलन ,चन्दादाताहरु सम्मानित

इनेप्लिज २०८० माघ १६ गते २:२२ मा प्रकाशित

मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका( बाना )भवन ऋण मुक्त अभियानको लागि आयोजना गरेको कार्यक्रममा ६३ हजार डलर सङ्कलन गरेको छ ।

गत जनवरी २८ आइतबारका दिन सम्पन्न बाना सम्मान तथा अभिनन्दन कार्यक्रममा भवन निर्माण सुरु भए देखि नै सहयोग र साथ दिनेलाई सम्मान तथा अभिनन्दन गरिएको छ । उक्त सम्मान कार्यक्रम पछि “बाना भवन ऋण मुक्त” अभियानका लागी नेपाली समुदायको थप सहयोगबाट ६३,९३६ डलर संकलन भएको अध्यक्ष सुबोध पन्तले खुशी हुँदै सामाजिक संजालमा प्रकाशन गरेका छन् ।

साथै आगामी फेब्रुअरी १० का दिन दोश्रो चरणको कार्यक्रम आफ्नै बाना भवनमा समेत हुने अध्यक्ष पन्तले जानकारी दिएका छन् । गत आइतबार जनवरी २९ का दिन अमेरिकी फुटबल(भकुण्डो)को कारण बाल्टीमोरकै रेभन्स टोलीको खेल भएकोले अपेक्षा भन्दा न्युन सहभागिता भएकोले दोश्रो पटक पनि कार्यक्रम गरिने भएको छ ।

गत आइतबार सम्पन्न बाना सम्मान तथा अभिनन्दन कार्यक्रममा १,००० हजार डलर दिने १०२ जना चन्दादाताहरु सम्मान तथा अभिनन्दन गरिएको थियो । त्यस्तै २,५०० देखि माथि १५,००० सम्म दिने ५२ जना चन्दादाताहरुलाई पनि सम्मान तथा अभिनन्दन गरिएको थियो । गत आइतबार सन् २०११ देखि नै चन्दा दिएकाहरुलाई सबैलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा आमन्त्रित गरिएको थियो ।

अमेरिकी फुटबल(भकुण्डो)को कारण न्यून सहभागिता हुनुको साथै कार्यक्रम छोटो गरिएको थियो । भाषण र आसन ग्रहणलाई किनारा लगाउदै कार्यक्रम द्रुत रुपमा संचालन गरि उपस्थित भएका चन्दादाताहरुलाई बानाका अध्यक्ष,पूर्व अध्यक्षहरु विजय श्रेष्ठ, महाबाणिज्यदूत प्रेम राजा महत ,बानाका पूर्व अध्यक्ष तथा भवन ट्रस्टीका अध्यक्ष कूल मनि आचार्य ,अन्सुया श्रेष्ठ वन्त ,बानाका पूर्व महासचिव/सल्लाहाकार हाल वोर्डअफ ट्रष्टी र प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटी सचिवालय सदस्य तथा अमेरिकाज महादेशदेश ईन्चार्ज तथा वाल्टीमोर भन्दा वाहिरको राज्यहरूवाट सबै भन्दा धेरै धनराशि संकलन गर्ने प्रभुराम थापा तथा अध्यक्ष सुबोध पन्त लगायतले पुरस्कार वितरण गरेका थिए ।

गत आइतबार मात्रै पहिले नै चन्दा दिनेहरु लगायत ३ दर्जन व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए । त्यहाँ आएका केहीले धनादेश (चेक)समेत हस्तान्तरण गरेका थिए ।

सम्मान तथा अभिनन्दन कार्यक्रममा अध्यक्ष सुबोध पन्तले मन्तब्यका साथै चन्दादाताहरु प्रति कृतज्ञता व्यक्त गरेका थिए । बानाका पूर्व अध्यक्ष तथा भवन ट्रस्टीका अध्यक्ष कूल मनि आचार्यले चन्दादाताहरुको बारेमा सन् २०११ देखिका सूचीको साथै रकम दिएका र बाकी राखेकाहरुको नामावली समेत प्रस्तुत गरेका थिए । बानाले कूल तिरेको ऋण र अब तिर्नु पर्ने ऋण समेतको उल्लेख गरेका थिए ।

सन् २०११ देखि नै भवन निर्माणको लागि प्रतिज्ञा (बचन )दिनेहरु मध्ये केहीले रकम नदिएको समेत जानकारी दिएका थिए । कार्यक्रममा बानाका महासचिव सागर घिमिरेले कार्यक्रम संचालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारतीय उपाध्यायले स्वागत मन्तब्य राखेकी थिइन् ।

बानाभवनको लागि सबै भन्दा ज्यादा कुलमणि आचार्यले १५,४२२ दिएका छन । त्यस्तै १५ हजार डलर दिनेमा अर्का समाज सेवी प्रेम कुमार श्रेष्ठले पनि १५ हजार चन्दा दिएका छन् । चन्दादाताहरुको परिवार सहितको तस्बिर पर्दामा प्रदर्शन गर्दै मंचमा सम्मान तथा अभिनन्दन पुरस्कार मार्फत गरिएको थियो ।

प्रतिक्रिया