स्वास्थ्यकर्मी तथा समाजसेवी मन्जू कार्की संग्रौला नवरत्न पुरस्कारबाट सम्मानित

इनेप्लिज २०८० माघ १५ गते २३:२० मा प्रकाशित

गत शनिवार जनवरी २७, २०२४ का दिन अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) ले नवरत्न पुरस्कारको आयोजना गरी संसार भरीबाट नौ जनालाई नवरत्न पुरस्कारले सम्मानित गरेको छ ।

सो नौ जना मध्ये भर्जिनिया निवासी स्वास्थ सेवामा कार्यरत समाज सेवी मन्जू संग्रौला एक हुनुहुन्छ । मन्जू संग्रौला लगाएत नवरत्न पुरस्कारले सम्मानित सबैलाई इ नेपालिज डट कमको तर्फबाट हार्दिक बधाई छ । वहाले पुरस्कार वापत पाएको रकमलाई हिमालय फ्रि क्लिनिकलाई चन्दा स्वरुप प्रदान गर्ने घोषणा समेत गर्नु भएको छ ।

पुरस्कृत नौजना नवरत्न मध्ये सातजाना साहित्य विधामा कलम चलाउने विभिन्न देशमा कार्यरत महिलाहरु हुनुहुन्छ भने काठमाण्डौ नगरपालिकाको उप नगर प्रमुख सुनिता डंगोल र मन्जू संग्रौला समाज सेवाको क्षेत्रमा कार्यरत हुनुहुन्छ । वहाले समुदायमा स्वयम सेवा पुर्याएको कार्यलाई सम्मान गर्दै रेस्टन अस्पतालले २०११ सालमा नै ८ सय भन्दा वढी कर्मचारीबाट छनौट गरेर पहिलो मानवीय पुरस्कार (First Humanitarian Award) ले सम्मानित गरेको थियो ।

मन्जू संग्रौलाले सन २००० देखि नै समाज सेवा गर्दै आउनु भएको छ । भजिनियाको आर्लिंगटनमा स्थापित छिमेकी गाउबाट शुरु भएको समाज सेवाको वहाको यात्रा अनवरत रहेको छ र वहाको स्वास्थ सेवाले समयक्रममा अझ फराकिलो आकार लिएको छ । वहाले सन २००७ देखि २०२० साल सम्म एन्वा फ्री क्लिनिकमा रजिष्टर्ड नर्स (आर एन- स्वास्थ्य परिचारिका ) को रुपमा स्वयम सेवा (भोलेन्टियर) भएर स्वास्थ विमा नभएका व्यक्तिहरुलाई सेवा पुर्याउनु भएको छ ।

कोभिड महामारीले अमेरिकामा बन्दाबन्दि (लकडाउन )शुरु भए संगसंगै नेपालबाट अमेरिकामा परिवार भेट्न आएका १,२०० भन्दा बढी नेपालीहरु, नेपाल फर्कन नपाएको वा आफूले ल्याएको औषधीहरु रिफिल गर्न नपाएको कारणले मुख्यगरी वुवाआमाहरुमा माहामारीको त्रास छाएको थियो ।

डिसी दूतावास लगाएत विभिन्न संघ संस्थाले स्वास्थसंग सम्वन्धित सल्लाह र सहयोगको लागि वहाको सम्पर्क नम्वर(संख्या)लाई आफ्नो वेभसाइट(संजालस्थल) मा राखेका वा सेयर गरेका थिए । विभिन्न राज्यमा कार्यरत नेपालीभाषी चिकित्सकरहरुसंग संयोजन गरेर सो बन्दबन्दिको अवधीमा मन्जू संग्रौलाले २५० भन्दा बढी व्यक्तिहरुलाई पुन:औषधि प्राप्त गराउनु भएको थियो ।

वहाकै नेतृत्वमा सन २०११ देखि सोसाइटी अफ अमेरिकन नेपालिज नर्सेस (सान -SANN) को स्थापनाका लागि विधिवत काम शुरु भयो । हाल सो संस्थामा अमेरिकामा कार्यरत ४०० भन्दा बढी नेपाली स्वास्थ्य परिचारिका (नर्स)हरु आजीवन सदस्य रहनु भएको छ । सो संस्थाले ३ वटा विश्वविध्यालयमा साझेदारी (पार्टनरसिप )गरेको छ ।

सानका हरेक सदस्यले १० प्रतिशत ट्युसन (शिक्षा शुल्क)छुट पाउने सम्झौता अनुसार अधिकांश सदस्यहरुले सो सुविधा लिइ आफ्नो शैक्षिक योग्यता बढाएको वुझिएको छ । यो संस्थाका विभिन्न राज्यमा ९ वटा च्याप्टर(शाखा)हरु कार्यरत छन् । सान मार्फत कोभिड माहामारीको पहिलो १२ महिनाको अवधीमा अमेरिकामा रहेका स्वास्थ्य परिचारिका (नर्स)हरु र नेपालमा कार्यरत हजारौ नर्स(स्वास्थ्य परिचारिका )हरु तथा स्वास्थसेवीहरुलाई सहयोग पुग्ने गरी ८० भन्दा बढी अनलाइन(बिधुतिय-परोक्ष ) कार्यक्रमहरु संचालन गरेको थियो ।

सन २०१७ देखि मन्जू संग्रौलाले स्थनीय दूर्गा मन्दिरमा संचालित फ्रि क्लिनिक(निशुल्क स्वास्थ्य सेवा )को संयोजन गरी स्वयम सेवा गरीरहनु भएको छ । वहा अहिले सो मन्दिरको कार्यकारिणीमा रही काम गरीरहनु भएको छ । सन २०२२ को डिसेम्वर देखि मन्जू संग्रौला लगाएत डिसी महानगर मेट्रोमा कार्यरत नेपाली भाषी मेडिकल डाक्टर(चिकित्सक )हरुको संयुक्त प्रयासमा हिमालय फ्रि क्लिनिक संचालनमा छ ।

यो निशुल्क स्वास्थ्य सेवा कक्ष (क्लिनिक) मार्फत सैयौ व्यक्तिहरुले हरेक महिना स्वास्थ सेवा लिइरहनु भएको छ । मन्जू संग्रौला लगाएत सबै चिकित्सकहरु र स्वयम सेवीहरुलाई हार्दिक वधाई तथा शुभकामना छ ।

प्रतिक्रिया