हार्दिक श्रद्धान्जली नन्दा भाउजु !!!

बसन्त श्रेष्ठ भर्जिनिया, अमेरिका २०८० माघ १४ गते १९:५४ मा प्रकाशित

आउनु भो तपाइँ कहाँ बाट, त्यो कसैलाई भन्नु भएन
जानु भो तपाइँ कता कता, त्यो पनि कसैलाई बताउनु भएन
तर यस जगतमा आएर त्यो कस्तो खेल रचाउनु भो
सम्झी सम्झी तपाईंलाई धुरु धुरु रुने बनाएर जानु भो !!!

मानव जीवनको अन्तिम प्रश्थान बिन्दु हो “मृत्यु” । जो सत्य छ, सास्वत छ अनि अपरिहार्य छ । मृत्युको कुनै निश्चित अवधि, सिमा र आयू पनि हुदैन । मानव जीवनले नचाहेको, नसोचेको र नखोजेको पनि यही मृत्यू नै हो । यस जगतमा भएका धेरै रहस्य मध्ये मृत्यु पनि एउटा रहस्यमय कुरा हो ।

हिन्दु धर्मले मृत्युको बारेमा भनेको छ “ जातस्यहि ध्रुबो: मृत्यु धुर्वम जन्म मृतस्यच : अर्थात् सबै जन्मेकाको मृत्यु र मरेकाको जन्म निश्चित छ ।

गीतामा मृत्युको बारेमा लेखिएकोछ – “ब्वासंसी जिर्नानी यथा बिहाय नान्यानी संयति नरोपरानी” । अर्थात मृत्यु शरीर परिवर्तनका लागि पुराना पात झरेर नया आउन पर्खे झैं अथवा पुराना बस्त्र बदलेर नया बस्त्र धारण गरे झैं भनेको छ ।

बौद्ध धर्मले मृत्यूको बारेमा भनेको छ – मृत्यू जीवनको अन्त्य होईन यो त केवल यो जीबनमा बास बस्ने त्यो शरीरको मात्र अन्त्य भएको हो ।

संसारमा बिभिन्न धर्मले मृत्युको बारेमा आआफ्नो दृष्टिकोण राखेता पनि श्रष्टा र विचारकहरुले मृत्युलाई अगम्य, उच्च, हितकर र अन्तिम गन्तब्य ठानेका छन् ।

बिश्वविख्यात साहित्यकार विलियम शेक्सपियरले “एज यु लाईक ईट” नाटकमा लेखेका छन् “यो संसार एक रंगमंच हो । अनि सारा नर नारी केवल एक अभिनेता । तिनीहरुको प्रवेश हुन्छ र बहिर्गमन हुन्छ । प्रत्येकको आआफ्नो भूमिका हुन्छ । कसैको छोटो हुन्छ त कसैको लामो हुन्छ ।

बस यहि नै मृत्यु हो ।

यहि संसारिक नियमलाई पालना गर्दै हामी सबैका अति प्रिय नन्दा सुबेदी भाउजुले आफ्नो नश्वर शरीर त्याग गरेर ब्रह्मलीन हुनुभएको छ । वहांको बिछोडमा हामि सबै दुखित छौं ।

शालीन, भद्र र निर्भिक व्यक्तित्व । लयालु, मायालु अनि सहयोगी स्वभावले परिपूर्ण । हंसिलो तर प्रष्ट चारित्रिक व्यक्तित्वले वहाँको देह उज्यालिएको थियो । प्रवासमा पहिचान र अस्तित्वको लागि अक्षरको खेति गर्न तल्लिन श्रीमान । श्रीमानको सुकर्ममा होस्टेमा हैसे गरि प्रवासी आकाश मात्र होईन पुरै आकाश ढाक्ने अनेसास बन्न सफलताको पछाडी नन्दा भाउजु एक प्रमुख मेरुदण्ड हुनुहुन्थ्यो भन्दा अत्युक्ति नहोला । म यस अभियानको शुरुकाल देखि कै सांक्षी हुँ भन्दा मलाई गर्वको अनुभुति पनि हुन्छ ।

मैले प्रत्यक्षरुपमा नन्दा भाउजु संग सन् १९९५ सालमा न्यु योर्कमा सम्पन्न भएको एएनए अधिवेशन स्थलमा भेटेंको हुँ । जहाँ मैले प्रवासमा लेखिएको मेरो पहिलो कविता सो कविता महोत्सवमा वाचन गर्ने अपूर्व मौका प्राप्त गरेको थिएँ ।
नेपाली भाषा साहित्यको संरक्षण र सम्वर्धनको लागि स्थापना भएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज संग मैले सन् १९९५ मा जोडिन सफल भएको हुँ ।

सन् १९९६ देखि बोस्टनमा भएको एएनए को सम्मेलनमा अनेसासको आयोजनामा “अन्तराष्ट्रिय नेपाली कविता महोत्सब” को सफल आयोजना पछि अनेसास र नन्दा भाउजुको परिवार संग हाम्रो पारिवारिक सम्बन्धको बिकास आज पर्यन्त सुमधुर रहेको यथार्थ छ ।

त्यस पछि अनेसासले गर्ने हरेक कार्यक्रममा नन्दा भाउजु संगको साक्षात्कार मात्र होईन पूर्ण सहयोग पनि पाईरहेको अवस्थाको म पूर्ण सांक्षी पनि हुँ । त्यस पछिको आज सम्मको निरन्तरता आपसी सहयोग, माया , प्रेम र सद्भावले संस्थागत रुम मात्र नभै पारिवारिक सद्भावले नै परिपूर्ण थियो । यसरी करिव तिन दशक देखिको अनगिन्ति सम्झनाका तरेलीहरु एक एक आँखा भरी तैरिरहेछ । यस अर्थमा संक्षेपमा भन्ने हो भने नन्दा भाउजुको कर्म जनहित र परोपकारी थियो भन्ने कुरामा म बिस्वस्त छु ।

भनिन्छ जन्मनु भाग्यको कुरा हो । मृत्यु समयको कुरा हो । तर मृत्यु पछि पनि बाँचिरहनु त्यो कर्मको कुरा हो । यहि सुकर्म ले नै नन्दा भाउजु युग युग सम्म बाँचिरहनु हुनेछ भन्ने कुरामा कुनै दुई मत छैन ।

अन्तमा !

नन्दा देबी सुबेदी भाउजु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । पत्नी वियोग भै शोकमा रहनु भएको आदरणीय होमनाथ सुबेदी दाई र शोक सन्तप्त सम्पूर्ण परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

ओम शान्ति, ओम शान्ति ओम शान्ति !!!

प्रतिक्रिया