भुजङ्गी छन्दकाे अभ्यास गर्दै छन्दमा टुक्का कविता लेखन कार्यक्रम सम्पन्न!

इनेप्लिज २०८० माघ १२ गते २२:१६ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० माघ ६ गते “छन्दमा टुक्का कविता लेखन श्रृङ्खला-९०” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न स्थानहरूबाट २० नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरी नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत भुजङ्गी छन्दकाे अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईँ तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई भुजङ्गी छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~~~
::::: भुजङ्गी छन्द :::::
~ गण :य य य लघु गुरु
~ गण सङ्केत : १२२ १२२ १२२ १२
~ ६ अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका भुजङ्गी छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
बढ्यो धेर ठन्डी, खसायो हिउँ
सँगै ओढ्न मन्डी, बनायो निउँ।
२.
बन्यो देश भन्छन्, स्वयं बन्दछन्
उनै देशको झन्, जरो खन्दछन्।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
महङ्गी छ ज्यादा, छ गाह्राे यहाँ
बताऊ सुखी भै, म जाऊँ कहाँ ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
१.
म तिम्रो कुराले फुरुक्कै परेँ
भन्यौ जे तिमीले खुरुक्कै गरेँ ।
२.
नभन्नू तिमीले निकम्मा अझै
लु हेर्नुस् त कोही छ होला मझैँ ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[४]
कतै प्रेम माला त गाँस्नै थियो
कता हो कता लौ हरायो सियो ।
✍️ बिके मुखिया
दार्जिलिङ भारत
[५]
१.
उदायो बिहानी, छटा छर्किँदै
र झस्केर हेरेँ, उता फर्किँदै ।
२.
सुनौलो र रातो,छ तातो जुनी
डुलेको डुलेकै,छु माटो  चुनी ।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
[६]
१.
म हारेँ तिमीले गलायौ खुदै
जलायौ पियारा बिहानी हुँदै ।
२.
सधैँ साँझ पार्छौ अबेला गरी
कता अल्मलिन्छौ अनाडी सरी ।
३.
यता देश लुट्दै सके यो घडी
सबै साफ पारे  गरेरै कडी ।
✍️ विवश पारदर्शी
झापा
[७]
१.
नदेखौँ नभेटौँ सुनेको हुने
भुलेको हुँदैनौँ गुनेरै रुने ।
२.
न आशा पलायो नखाटो छ यो
कसोरी उदायो उजेली भयो ।
✍️ अम्बिका अधिकाारी
झापा बिर्तामोड
[८]
१.
म आफ्नै हुँ आऊ,ल साथी भनी
उचाले पछारे,अघोरी बनी ।
२.
अनौठा कुराले, सबै दङ्ग छन्
गरें काम भन्छन् ,भयो भङ्ग झन् ।
✍️ प्रेम थापा “मन”
बागलुङ
[९]
१.
चलेकाे छ नेता बडाे ठाँटमा
मरेका अरू जिन्दगी ढाँटमा !
२.
अँगालेर पैसा सबै दाैडिने
जुनी हाे नमर्ने भनी पाैडिने ।
✍️ निरज कोइराला
इटहरी -१६
[१०]
१.
मलाई भनेका कुराले जलेँ
उकाली हरूमा थकाई छलेँ।
२.
झरेको तरेली हरूमा हिउँ
छहारी बनेरै अझै लौ जिऊँ।
✍️ पुष्पा राई
खाेटाङ।
[११]
१.
चुनौती छ यो मौसमी वायुको
छ ठन्डी बढी पीर भो आयुको ।
२.
भएको छ पीडा छ शङ्का झनै
छ चिन्ता असाध्यै र भारी मनै ।
✍️ पद्मा काश्यप पाण्डे
मोरङ
[१२]
ल कस्तो सिरेटो चलेको बरै
बचेरा चराको उडायो घरै।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[१३]
१.
बनाएर राम्रो सजाऊँ थलो
सबैको यसैले हुने हो भलो ।
२.
मिलाएर खाने यहाँ देखियो
त्यसैले उकास्ने कुरा छेकियो ।
३.
उखेल्यो र खम्बा पुर्‍यायो पर
छिमेकी नराम्रो हुँदा दुच्छर ।
✍️ चूडा निर्भीक
गोरखा, हालः काठमाण्डौँ ।
[१४]
डुबेथें कथामा, गरेरै ढिपी
हराए नि पात्रै, मनैमा टिपी ।
✍️ सुस्मिता अधिकारी
काठमाडौँ
[१५]
गयो मित्र मेरो भुलेरै गयो
यता जिन्दगानी अँधेरो भयो।
✍️ श्री कृष्ण धामी
बझाङ
[१६]
१.
म हेर्दैछु फर्की हिमाली धरा
जहाँ देख्न पाइन्छ डाँफे चरा ।
✍️ कमला देवकोटा
पाल्पा
[१७]
१.
बिहानी मलाई सुनौलो भयो
जवानी दुखेको कहानी गयो ।
२.
सबैले गरेको कमायौ खुसी
समायौ र बाटो बनायौ सुखी ।
✍️ आर्त अकुलीन
कैलाली
[१८]
१.
जताको पथैमा गए ता पनि
मनैका बिहानी नमारे भनी ।
२.
कहानी लिएको छ गन्तव्यले
सिरानी भिजेको छ मन्तव्यले ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१९]
१.
नदेख्ने छ आँखा यसै आसमा
भरोसा गरेको उनै साथमा ।
२.
करोडौँ कसैको ठगेको यहाँ
सयौँ कर्मचारी रमेका जहाँ ।
✍️ भगवती दवाडी
झापा
[२०]
१.
रमेको खुसीले मनैको गुसी
सजेको छ धेरै सबैको खुसी।
२.
विशालै हुने हो मनैको चुलो
खुसीको लता रे सबै को ठुलो।
✍️ अच्युत घिमिरे
सर्पाङ, भुटान🇧🇹]

::::: जय टुक्का! जष साहित्य!! ::::: 

प्रतिक्रिया