लाख स्त्रीभोगको लक्ष्य

इनेप्लिज २०८० माघ १० गते २२:२५ मा प्रकाशित

बेद प्रसाद घिमिरेराजा प्रताप मल्ल अत्यन्तै कामुक थिए। उनले एक लाख स्त्रीसँग सम्भोग गर्ने लक्ष्य राखेका थिए। वंशावलीहरूमा उनका तीन सय रानी भएका उल्लेख छ। तर ऐतिहासिक सामग्रीहरूमा रूपमति, अनन्तप्रिया, राजमती, प्रभावती आदि रानी मात्र भएको देखिन्छ। उनको मृत्यु हुँदा नौ जना रानी उनीसँग सती गएका थिए। केही रानी भने सती गएनन् (दाहाल, उहीः १६१)।

उनको मृत्यु विसं १७३१ वैशाख ९ गते भयो। उनी त्यतिखेर ५१ वर्षका थिए। वंशावलीमा ’अलि चमत्कारिक’ रूपमा उल्लेख भएअनुसार रातको समय उनी हरिसिद्धिको नाच हेरिरहेका थिए। देवी पनि अति सुन्दर भई मानिसको रूप लिई नाच हेरिरहेकी थिइन्। राजा प्रताप मल्लले त्यस्ती सुन्दरीलाई देखेर मन थाम्न सकेनन् र हातपात गर्न पुगे। तब देवी रिसाएर ‘तिमी अति व्यभिचारी रहेछौ, तिम्रो यति मात्र हुनेछ’ भनी अलप भइन्। केही बेरमै राजा प्रताप मल्लको मृत्यु भयो। उनले ३३ वर्ष शासन चलाए उनको कामवासनाका बारेमा योभन्दा पनि डरलाग्दो तथ्य भाषा वंशावलीमा उल्लेख छ।
देवीप्रसाद लम्सालद्वारा सम्पादित ‘भाषा वंशावली’ (भाग २–२०२३ः८९) मा उनले ‘आफ्नो यौवनावस्था पूरणार्थ स्त्रीभोग लक्षयोनी क्रिया पुर्‍याउने इच्छा राखेको’ उल्लेख छ। यो भनेका एक लाख स्त्रीसँग सम्भोग गर्ने इच्छा/लक्ष्य हो।

त्यसो हुँदा उनले मनोमानी रूपमा तीन हजारजति स्त्रीसँग सम्भोग गरे। एक बालस्त्री (नाबालिका) लाई करणी गर्दा ती नाबालिकाको मृत्यु भयो। यसबाट ’ठूलो पाप हुन पुग्यो’ भनी उनी प्रायश्चित गर्न लागे। त्यसपछि उनी पशुपतिनाथ पुगी त्यहाँ तीन महिना बसी कोटिलिङ्ग स्थापना गरी देवालयसमेत बनाए। पापमोचनका लागि उनले कोट्याहुति यज्ञ गरी यसअघि बिग्रिएको मन्दिरको गजुर बनाए। यस्तै पशुपतिनाथका दक्षिणढोकामा शिलाको चार वटा तुलास्तम्भ खडा गरी आफ्ना परिवारको मूर्ति बनाई गाउँको उत्तरतिरको धेरै गौचर संकल्प गरे। यसलाई भूदान–खेत नामकरण गराए। पापमोचनका लागि यतिले मात्र नपुग्ने ठानी पशुपतिमा लिंगाकार देवालय बनाउन लगाए। पशुपतिनाथको गजुरदेखि बाँधेर मोहनचोकको देवतासम्म एउटै पातकाले बाँधे। तीन महिनासम्म ’धर्मकीर्ति’ गरेर उनले आफूलाई लागेको ’पाप पखाले’को भाषा वंशावलीमा उल्लेख छ।

कान्तिपुर राज्यमा जनसङ्ख्या थोरै भएको समय थियो त्यो। विसं १८४९ को चीन र तिब्बतसँग नेपालको युद्ध हुँदा बहादुर शाहले अङ्ग्रेजसँग गुहार मागेका थिए। एउटा सामान्य वाणिज्य सन्धि पनि भएको थियो। त्यसैबेला अङ्ग्रेजका दूत बनेर कर्कप्याट्रिक आएका थिए। त्यसबीचमा नेपाल–चीनबीच सम्झौता भई युद्ध पनि सकिइसकेकोले एक महिना पनि बस्न नपाई कर्कप्याट्रिक फिर्ता भएका थिए (नेपाल, ज्ञानमणि ‘नेपालको महाभारत’–२०५२ः५१)। कर्कप्याट्रिकले त्यसबेला नेपालसम्बन्धी एक पुस्तक प्रकाशित गरेका छन्। आफ्नो पुस्तक ‘एन एकाउन्ट अफ् द किङडम् अफ् नेपाउल’ (सन् १७९३ः१६२) मा उनले त्यसबेला काठमाडौँमा २४ हजार घरधुरी रहेको उल्लेख गरेका छन्।

प्रताप मल्लको राज्यकाल विसं १६९८–१७३१ हो। प्रताप मल्लको मृत्यु भएको १२० वर्षपछि लेखिएको उक्त पुस्तकले काठमाडौँमा २४ हजार मात्रै घरधुरी थियो भन्नुले प्रताप मल्लको समयमा काठमाडौँको जनसङ्ख्या न्यून थियो भन्ने अनुमान गर्न सजिलै सकिन्छ। त्यसमा पनि आधा पुरुष र आधा जति महिलाको सङ्ख्या हुँदा पनि एक लाख स्त्रीसँग सम्भोग गर्ने लक्ष्य राख्नु उनको चरम व्यभिचारको रूप थियो। आफ्नो यौन दुर्व्यसनको लक्ष्य पूरा गर्न उनले कान्तिपुर वरपरका अन्य राज्यका स्त्रीहरू आफ्नो दरबारमा ‘झिकाए’ होलान् भन्ने अनुमान गर्न पनि गाह्रो छैन। तीन हजार स्त्रीसँग त उनले सम्भोग गर्न भ्याइसकेका थिए, तीमध्ये अधिकांशलाई उनले करणी (बलात्कार) गरे भन्ने अनुमान लगाउन गाह्रो छैन।

(इतिहास अध्यान बाट )

प्रतिक्रिया