एकैपटक उच्च राजनीतिक जिम्मेवारी दिँदा देशको अबस्था के होला ?

इनेप्लिज २०८० माघ ७ गते १३:१३ मा प्रकाशित

बेद प्रसाद घिमिरे-अनुशासन, नैतिकता, प्रतिबद्धता, दूरदर्शिता, समर्पण, देशभक्ति, निष्ठा, त्याग, त्यागको भावना, सोच, आदर्श, पृष्ठभूमि, विचार, कार्यशैली र व्यवहार हेरेर कुन राजनीतिकर्मी कस्ता भन्ने अवधारणा बनाइन्थ्यो । अचेल कसले कसलाई ज्यादा गाली दिन र होच्याउन सक्छ भन्ने आधारमा ब्यक्तिको हाइट नापिन्छ । कुन देश चहारेर फर्किएको हो भन्ने आधारमा स्तर निर्धारण गर्ने गरिन्छ । त्यसैले राजनीतिमा स्टण्टबाजी यो समयको मुख्य विशेषता भनौँ या मुख्य रोग भनौँ या समस्या बनेर भित्रिएको छ । हो, अब यही रोगका कारण राजनीतिमात्र बर्बाद हुँदैछैन, यसले सिङ्गो मुलुकको अस्तित्व नै विस्थापित गर्ने अवस्थातर्फ मुलुकलाई लैजाँदै छ ।

कुनै ब्यक्ति राम्रो हास्यकलाकार भएर देखापरेको पर्सिपल्टैदेखि उसलाई नेता बनाउने सपना नेपालीले देख्न थाल्छन् । कसैमा राम्रो कवित्व देखापर्दा, कोही धेरै उच्च स्तरको चित्रकार भएको पुष्टि हुँदा, कुनै दक्ष चिकित्सकको नाम बजारमा चल्दा, कोही आर्किटेक्टको डिजाइन राम्रो देखिँदा, कसैको व्यापार फस्टाउँदा, कसैले सञ्चारकर्मीको रूपमा टेलिभिजनमा राम्रो प्रस्तुति दिँदा, कोही फेसन डिजाइनरको रूपमा चर्चामा आउँदा या राम्रो सेफ भएको प्रचार हुँदा अर्थात् कुनै पनि क्षेत्रमा कोही सफल ब्यक्ति देखापऱ्यो भने हामी तिनलाई तुरुन्तै नेता बनाउन हतार गरिहाल्छौँ । राज्य चलाउनु र कुनै खास विषयमा विशेष क्षमता हुनु अलगअलग पाटा हुन्, एउटा फिल्डमा उचाइ लिने हरेक ब्यक्ति राजनीति र राज्य सञ्चालनमा पनि सफल हुन्छन् भन्ने होइन । ब्यक्ति जुन क्षेत्रमा छ त्यही क्षेत्रको राजा या हिरा बन्न सक्छन्, तर हामी शिखर नचढ्दै तिनलाई राजनीतिमा ओराल्न खोजिहाल्छौँ ।
भारतीय सिनेमामा कलाकार भएर अमिताभ बच्चन विश्वप्रशिद्ध भए, तिनलाई राजनीतिमा तानियो, असफल भए । शत्रुघन सिन्हा, जयाप्रदा, परेश रावललगायत कैयन सिनेकलाकार राजनीतिमा पसे, तर त्यहाँ चम्कन सकेनन् । बरु जीवनभर कलाकारितामा रहेर अवकाशपश्चात् राजनीतिमा लागेका रोनाल्ड रेगनलाई चाहिँ सफल राजनीतिकर्मी मानिन्थ्यो । फिलिपिन्सका सिनेकर्मी एस्ट्राडा राष्ट्रपति बन्न त सफल भए, तर कार्य ब्यवहारले तिनलाई पत्रु प्रमाणित गरिदियो । एउटा राम्रो मानिएको कलाकार केटोलाई युक्रेनीले हतार-हतार राजनीतिमा ताने, केटोले युक्रेन कहिल्यै विजयी नबन्ने युद्धमा देशलाई होमिदियो । अपरिपक्व केटाकेटीहरूलाई एकैपटक उच्च राजनीतिक जिम्मेवारी दिँदा केसम्म हुनसक्छ भन्ने कुराको प्रमाण युक्रेनका जिलेन्स्कीले सारा विश्वलाई दिइरहेका छन् ।

आधुनिक विश्वमा देशलाई समृद्धिको दिशा र गति दिने नेताको नाम लिनुपऱ्यो भने दुबईका राजा शेख रशीद, मलेशियाका मोहम्मद महाथीर, सिङ्गापुरका ली क्वान यु, दक्षिण कोरियाका पार्क चुङ ही, चीनका देङ सियाओ पिङ र बेलायतकी मार्गरेट थ्याचर तथा अहिले भारतका नरेन्द्र मोदी तथा रसियाका भ्लादिमिर पुटिन लगायतलाई लिइन्छ । तर यी कुनै पनि राजनीतिकर्मी स्टण्टबाजीबाट उदय भएका ब्यक्तिमा पर्दैनन् । देशलाई गहिराइमा बुझेर एउटा कठोर प्रतिबद्धतासहित राजनीतिमा आएर सफलता हाशील गर्नेमा यिनको नाम लिइन्छ । हिजो एउटा निश्चित आदर्श र लक्ष्यसहित राजनीतिमा आएका मानिसले इमानदारी, दूरदर्शिता र कार्यक्षमता दर्शाउन नसक्नुको परिणाम अहिले हामीले भोग्नुको मतलब अनेक उट्पट्याङपूर्ण र झिल्केगिरी गर्नेहरूबाट उत्पन्न राष्ट्रिय समस्याको समाधान हुनसक्छ भन्ने कदापि होइन, यस्ताहरूले निम्त्याउने भनेको थप बर्बादी मात्र होअहिले काम गर्ने र परिणाम हाशील गर्ने भन्दापनि केवल देखाउनका निम्ति मात्रै स्टण्ट हुनेगर्छ र त्यो स्टण्ट अर्काको खिल्ली उडाउने या गाली वर्षाउने कर्ममा सीमित हुने गर्छ ।


समाज र राजनीतिमा स्टण्टबाजीलाई अहिले ‘देखाउने र देख्ने’ दुवैथरीले सफलता ठानेका छन् । जब राजनीतिको मूलप्रवाह नै स्टण्टमा आधारित हुन्छ भने हामी स्पष्ट हुनुपर्छ- ‘यसरी यो देश कहिल्यै बन्नेछैन, बरु बर्बाद हुनेछ !’ आवेग र आक्रोशले कुनै देश बनेको छैन, बन्दैन । मनोविज्ञानले सम्वेदनाहरू असामान्य रहेको अवस्थामा लिइने निर्णयहरू सही हुन नसक्ने निष्कर्ष दिएको छ । त्यसैले बुद्धिमान र ज्ञानी मानिसहरू धेरै खुशी भएका बेला, दुःखी हुँदा, रिस उठेका बेला, प्रशन्न हुँदा या आक्रोश पैदा भएका बेला कहिल्यै कुनै निर्णय लिँदैनन् । तर यहाँ त आक्रोशमा आधारित मनोरन्जन दिएर आफ्नो साध्य सोझ्याउने प्रयास हुँदै आएको छ, युवापुस्ता त्यस्तै उटपट्याङ्पूर्ण क्रियाकलापलाई राजनीति ठान्दैछ । यस्तै स्थिति रहने हो भने बुझ्नुपर्छ- ‘यो देश कहिल्यै बन्दैन र बन्दैबन्दैन

प्रतिक्रिया