प्रविधिको प्रयोगले समाज एकलकाँटे बन्दै

इनेप्लिज २०८० माघ ५ गते १९:३५ मा प्रकाशित

बेद प्रसाद घिमिरे-पछिल्लो पुस्तासँगै तिनका अभिभावकसमेत सूचना-प्रविधिको प्रयोगमा ब्यस्त र अभ्यस्त रहँदा समुदायमा घुलमिल हुने, दुःख-सुखमा सरसहयोग गर्ने, भेटघाट गर्ने, आफैं उपस्थित भइ खुशी साटासाट गर्ने क्रममा कमी आएको छ । मोवाइल, ल्यापटपमा गेम, सामाजिक सञ्जाल र युटुयुबमा ब्यस्त भैइदिँदा नानी-बाबुहरूको पढाइ र शारीरिक स्वास्थ्यमा समेत असर गरिरहेको छ । घरभित्रै प्रविधिको दासी हुन पुगेपछि बिहान, बेलुकाको समयमा गरिने शारीरिक ब्यायम हुन नसक्दा यसले मानिसको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको छ । गहन अध्ययन, अनुसन्धानका लागि सूचनाको स्रोतको रूपमा प्रविधिको प्रयोग सहयोगी हुने भएपनि पठन-संस्कृतिमा आएको ह्रासले फेसबुक, युट्युब लगायतका एप्सहरूबाट मात्र खोजेका सम्पूर्ण कुरा प्राप्त हुन सक्दैनन् । गहन पुस्तकहरूको अध्ययन हुन नसक्दा यसबाट मानिसको अध्यनशीलतामा कमी ल्याउँछ ।

पहिला-पहिला घरमा कोही पाहुना आयो भने हामीहरू उठेर नमस्कार, ढोग गरेर सत्कार गर्ने गर्दथ्यौँ । अहिलेको पुस्तालाई उहाँ हाम्रो फलाना नाताको हुनुहुन्छ, अभिवादन गर भनेर नभनेसम्म सञ्जालमा झुम्मिएका भुराहरू केही वास्ता गर्दैनन् । एकपटक चिनाएको आफन्त, नातेदार वा साथीभाइलाई अर्को पटक भेट्दा चिन्दैचिन्दैनन् । फेरि ओइ बिर्सियौ कि क्या हो ? उहाँ फलानो भनेर भन्नैपर्ने अवस्था छ । यो सबैको साझा समस्याको रूपमा घर-घरमा बढिरहेको छ । मानिसको दुःख, सुख, संस्कार, संस्कृति, जात्रा, पर्व, प्राकृतिक विपत्ति, आदिको विषयमा पनि अहिलेको पुस्ताले चासो लिइरहेको पाइँदैन । हुन त यी कुराहरू इन्टरनेटको माध्यमबाट घरमै बसिबसी जानकारी लिन नसकिने त होइन, तर आफ्नो वरिपरि छिमेकमा, देशमा भएका घटनाक्रमहरूका बारेमा चासो राख्ने, सम्भव भएसम्म स्वयम् उपस्थित भएर अवलोकन गर्ने समयलाई फेसबुक, ट्वीटर, इन्ट्राग्राम, भाइबर, इमो, वीच्याट, युट्युब च्यानलहरूले खोसिदिएका छन् ।

प्रविधिको सही सदुपयोगले नयाँ-नयाँ कुराहरूको जानकारी लिन, विभिन्न देश वा स्थानहरू (जहाँ आफू पुगिएको छ, वा छैन) का बारेमा हेर्न र बुझ्न मद्धत त गरेकै छ । तर यसको अधिक प्रयोगले उत्पादशील कार्यमा लगाउने मानिसको समय खोसिदिन्छ कि भन्ने चिन्ता पनि त्यत्तिकै छ । कार्यालय समय र कामको समयमा पनि सामाजिक सञ्जालमा ब्यस्त भइदिँदा जनताको काममा बाधा त परेकै हुन्छ । कोही मानिस कसैकोमा पाहुना गयो वा आयो भने भलाकुसारी, सञ्चो-बिसन्चो, केटा-केटीकोे पढाइलेखाइ, घर-ब्यवहारको बारेमा सोधखोज गर्नुभन्दा पहिला वाइफाईको पासवर्ड लिने वा पासवर्ड स्क्यान गर्नुमै ध्यान केन्द्रित भएको पाउँदछौँ । यसले हामीलाई प्रविधिको लत बसिसकेको छ । अर्थात् हामी सामाजिक सञ्जालमा मात्र रमाउन थालेका छौँ । बिजुली गयो भने वाइफाइ नचलेकामा चिन्ता हुन्छ, गर्मीमा पङ्खा नचलेको वास्ता हुन छोडेको छ । मानिसकोे दुःख-सुखमा सहभागी हुनेभन्दा सबैजसो मानिसहरू प्रविधिको दासी भइदिँदा समाज एकलकाँटे र एकादेशको काथा बन्दै गएको छ।

प्रतिक्रिया