मेरील्याण्डमा नेपालीहरुद्वारा संचालित नेपाली चमेनागृह रोयल स्पाईसको उद्घाटन सम्पन्न

इनेप्लिज २०८० पुष २४ गते २:४३ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको लिन्थिकम हाइट्स स्थित नेपालीहरुद्वारा संचालित नेपाली चमेनागृह रोयल स्पाईसको उद्घाटन सम्पन्न भएको छ । कोरोना महामारीको चरम अवस्थामा सन् २०२० जुलाई ३१ बाट अर्कै नेपालीहरुले संचालन गर्दै आएको उक्त चमेनागृह गोबिन्द खनाल ,यादब खनाल र भेषराज पाण्डे परिवार कै व्यक्तिहरुबाट हाल यो संचालनमा रहेको छ ।

तत्कालिन समयमा केवल चमेनागृह मात्र अर्थात् भोजनालय मात्र रहेकोमा अहिले केही समय देखि मधुशाला( बार )सहित पुनर्निर्माण गरे पछि गत जनवरी ७ आइतबारका दिन मेरिल्याण्ड राज्यका नेपाली मूलका बिधान सभा सदस्य अर्थात् सांसद डा ह्यारी भण्डारीले रातो फित्ता (रिबन )काटी उद्घाटन गरेका थिए ।

प्रमुख अतिथी रहेका डा भण्डारी मेरिल्याण्ड निर्वाचन क्षेत्र ८ का संसद हुन् भने नेपालीहरुले संचालन गरेका र संचालन भै रहेका व्यवसाय तथा नेपालीहरुको अमेरिकामा प्रगति र उन्नतिमा उनि भौतिक रुपमा पुगी हौशला प्रदान गर्ने गर्छन ।

उनले रातो फित्ता (रिबन) काट्दै संचालकहरु गोबिन्द खनाल ,यादब खनाल र भेषराज पाण्डेलाई बधाई दिनुको साथै शुभकामना दिए । उद्घाटनमा त्यहाँ नेपाली समुदाय तथा बिदेशी ग्राहकहरुको समेत उपस्थिति रहेको थियो । मधुशाला औपचारिक रुपमा उद्घाटन गरेको अवसरमा खाना र पेय पदार्थहरुमा ५० % छुट दिइएको थियो ।

संचालक गोबिन्द खनालले पनि सबैलाई स्वागत गरेका थिए । यो चमेना गृह मेरिल्याण्ड राज्यको लिन्थिकम हाइट्समा रहेको छ भने रोयल स्पाइस नेपलिज एण्ड इन्डियन रेस्टुरेन्ट एण्ड बार भनेर नाम राखिएको छ ।

संचालक खनालले सबै नेपाली समुदायलाई यस क्षेत्रमा आवत जावत गर्दा एक पटक चमेनागृहमा आउन आग्रह गरेका छन् । संचालक गोबिन्द खनाल यसै क्षेत्रमा क्यानडा ,अमेरिकाको मिसिगन/ शिकागो क्षेत्रमा अनुभव बटुलेका एक चमेनागृह (रेस्टुरेन्ट )का सफल व्यक्तित्व हुन् ।

खनाल भारतमा १९९४ बाट काम सुरू गरि दुबईमा सन् २००० बाट २०१३ सम्म ,हिल्टन होटेल क्यानाडामा सन् २०१३ देखि २०१५ र अमेरिका सन् २०१५ जुलाईमा आई सन् २०२० जुलाई ३१ बाट रोयल स्पाइस चमेना गृह सुरु गरेका हुन् ।

प्रतिक्रिया