राष्ट्रिय सभाका उम्मेदवार छनोटप्रति महामन्त्री गगन थापाको असहमति

बेद प्रसाद घिमिरे २०८० पुष २३ गते २३:१५ मा प्रकाशित

बेद प्रसाद घिमिरे : राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले छनोट गरेका उम्मेदवारको विषयमा महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन्। 

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको  बैठकले राष्ट्रिय सभा उम्मेदवारका लागि १० जना उम्मेदवार टुंगो लगाएको थियो।  सत्तारुढ गठबन्धनमा कांग्रेसले १० सिटका लागि उम्मेदवार उठाउने सहमति भएअनुसार उम्मेदवारको नाम टुंगो लगाइएको हो। 
महामन्त्री थापाले भने उम्मेदवार छनोट गर्दा मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै लिखित असहमति राखेका हुन्। 

यस्तो छ थापाको असहमति
१. हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ। यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो।

संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन।
२. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ। यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ।

अतः आजको निर्णयप्रति मेरो लिखित असहमति रहेको छ। मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ।

प्रतिक्रिया