झलनाथको खुलासाः ‘ओलीले चाहे फेरि वामपन्थीहरुको सरकार बन्नसक्छ’

इनेप्लिज २०८० मंसिर २८ गते २०:१२ मा प्रकाशित

काठमाडौं, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा आउने चाहना गरे फेरि वामपन्थीहरुको सरकार बन्नसक्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले अध्यक्ष ओलीलाई सरकारमा आउन चाहने हो भने वामपन्थीहरुसँग संवाद सुरु गर्न आग्रह गरे । उनले आफूले गरेका कमी कमजोरीसमेतलाई ध्यानमा राखेर वार्ताका माध्यमबाट समाधान खोज्ने हो भने फेरि वामपन्थीहरुको सरकार बन्नसक्ने उनले बताए । उनले वामपन्थीहरु एक भएको खण्डमा ओलीलाई उचित भूमिका दिइने समेत बताए ।

‘केपी शर्मा ओली सरकारमा आउन चाहनुहुन्छ भने यो देशका सबै वामपन्थीहरुसँग हिजो आफूले गरेका कमी कमजोरीलाई समेत ध्यानमा राखेर वार्ता सुरु गर्नुस् । साझा कुराहरु के छन् ? पत्ता लगाउनुस् । के मा फरक छ ? त्यो पनि पत्ता लगाउनुस् ।’ उनले भने, ‘मतभेदहरुलाई खुम्च्याउने र मत्यैक्यतालाई बढाउने नीति लिएर अगाडि बढ्नुस् । सबैसँग वार्ता गर्नुस् र साझा आधारमा उभिएर वामपन्थी एकता निर्माणको बाटोमा जानुस् । फेरि वामपन्थीहरुको सरकार बन्नसक्छ । त्यो बेलामा केपी ओलीले के भूमिका निर्वाह गर्ने भन्ने कुरा वामपन्थीहरुले निर्णय गर्नसक्छन् । उहाँको योग्यता र क्षमताको आधारमा उहाँलाई वामपन्थीहरुले भूमिका दिन्छन् ।’

साथै, उनले आफूलाई एमालेको याद असाध्यै आउने गरेको समेत बताए । एमाले फुटाउनु आफैंमा दुर्र्भाग्य भएको उनको भनाई छ।

प्रतिक्रिया