इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदी कारागारबाटै भोक हड्ताल गर्ने

इनेप्लिज २०८० मंसिर २३ गते १९:४४ मा प्रकाशित

नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीले उनको अनुपस्थितिमा आइतवार ओस्लोमा आयोजना गरिने पुरस्कार प्रदान गर्ने क्रममा इरानको कारागार कक्षबाट नयाँ भोक हडताल गर्ने उनको परिवारले शनिबार जनाएको छ।

इरानमा अनिवार्य हिजाब लगाउने र मृत्युदण्डको सजायको विरुद्धमा अभियान चलाउने मोहम्मदीले बहाई धार्मिक अल्पसंख्यकसँग “एकतामा” भोक हड्ताल गर्ने उनको भाइ र श्रीमानले नर्वेको राजधानीमा नोबेल पुरस्कार समारोहको पूर्व संध्यामा आयोजित पत्रकार सम्मेलनमा बताए।

“उनी आज हामीसँग यहाँ छैनन्, उनी झ्यालखानामा छिन् र उनी धार्मिक अल्पसंख्यकसँग ऐक्यबद्धतामा भोक हडतालमा छिन् तर हामी यहाँ उनको उपस्थिति महसुस गर्छौं,” उनका कान्छो भाइ हमिदरजा मोहम्मदीले एक संक्षिप्त उद्घाटन बयानमा भने।

५१ वर्षीय कार्यकर्ताका पति तागी रहमानीले हडताल बहाई धार्मिक अल्पसंख्यकसँग ऐक्यबद्धताको संकेत हो भनी व्याख्या गरे । जसका दुई कारागारमा रहेका प्रमुख व्यक्तित्वहरू,महवास साबेत र फरिबा कमलाबादीले खाना अस्वीकार गर्न थालेका छन्।

‘मलाई यो पुरस्कार दिइने दिनदेखि नै म अनसन सुरु गर्छु, सायद त्यसबेला विश्वले यसबारे धेरै कुरा सुन्नेछ । ’, उनले भनिन् । इरानको सबैभन्दा ठूलो धार्मिक अल्पसंख्यक बहाई समुदाय यसका प्रतिनिधिहरूका अनुसार समाजका धेरै क्षेत्रहरूमा भेदभाव छ ।

मोहम्मदीले गत नोभेम्बरको सुरुमा आफ्नो टाउको नछोपी अस्पताल सार्ने अधिकार प्राप्त गर्न केही दिनसम्म अनशन बसेकी थिइन् भनि सिबिएस न्यूजले समाचारमा जनाएको छ ।

उनलाई “इरानमा महिला उत्पीडन विरुद्धको लडाई” को लागी अक्टोबरमा नोबेल पुरस्कार प्रदान गरिएको थियो।

१३ पटक गिरफ्तार, पाँच पटक कुल ३१ वर्षको कारागार सजाय र १५४ कोर्रा पाएकी मोहम्मदीले विगत दुई दशकको धेरै समय कारागार भित्र र बाहिर बिताएकी छिन ।

नरगेस मोहम्मदी “महिला, जीवन, स्वतन्त्रता” विद्रोहको नेतृत्व गर्ने महिला मध्ये एक हुन्, जसमा इस्लामिक गणतन्त्रको अवहेलना गरेको आरोपमा गिरफ्तार गरिएका २२ वर्षीया महसा अमिनीको सेप्टेम्बर २०२२ मा हिरासतमा मृत्यु भएपछि इरानभरि महिनौं लामो विरोध प्रदर्शनहरू भएका थिए।

प्रतिक्रिया