जिउँदो छउन्जेल
कसैले सोधेनन्
कस्तो छ्स् भनेर
भोक भोकै दिन बित्दा
कसैले दिएनन्
केहि खान्छ्स् भनेर।
धेरै पीर पालेँ
थुप्रै पीडा सहेँ
आफैंलाई सम्हाल्न
बोल्न के थालेँ
बेदना पोख्न
यसो के लेखेँ
के पाईस् लेखेर
भनेर दुत्कार्छ
बोलेर के नापिस् भन्दै
मुखैमा लोपार्छ।
मेरो शहर
गज्जब को छ
बुद्ध होईन्
गिद्ध मन पराउँछ
कोहि बाघ बनेको
देख्न सक्दैन
चितुवाको चाल चलेको
रुचाउँदैन
मेरो शहर,
स्याल मनपराउँछ
एउटाले चिच्याउँदा
कुरै नबुझी
हुइँया गर्दै पछी कुद्ने
जति भारी बोकाए पनि
चुईक्क नबोल्ने
गधा मन पराउँछ।
अझ असलमा त
मेरो शहर
बधशाला रुचाउँछ
दिनदहाडै जिउँदालाई
बीच सडकमा जलाउँछ
बाँच्नेहरुलाई
पटक्कै वास्ता गर्दैन
लास परेपछी
गोहिको आँसु बगाउँछ
मलामीमा रमाउँछ
मेरो शहर
लास मन पराउँछ।
मदन बस्नेत
प्रतिक्रिया