इष्टर्न आयोवामा देउसी भैलोवाट उठेको पैसा भूकम्प पीडितलाई प्रदान गरिने

Enepalese Published on: November 23, 2023

आयोवा, अमेरिका। प्रवासी नेपाली मञ्च (ओएनएफ) आयोवाले नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसरमा इस्टर्न आयोवामा बसोवास गर्ने नेपालीहरूको बीचमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

आयोवा राज्य कमिटीका अध्यक्ष पुरूषोत्तम बरालको इस्टर्न आयोवा स्थित निवासमा आयोजित देउसी भैलो कार्यक्रममा त्यस क्षेत्रमा बसोवास गर्ने २८ परिवारका करिब ८० जना नपालीको उपस्थिति रहेको राज्य कमिटीका सचिव दावा शेर्पाले बताए ।
देउसी भैलोमा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर, प्रवासी नेपाली मञ्चका पूर्व सल्लाहकार संयोजक प्रितिसागर खत्री, आयोवाका व्यवसायी तथा समाजसेवी अबन बराल, दिपेश गौतम, रामकृष्ण सुनार लगायतको उपस्थिति रहेको थियो ।

देउसी भैलोबाट ४००० डलर संकलन भएको र संकलित रकम जाजरकोट र रूकुम पश्चिममा भूकम्पबाट पीडित क्षेत्रमा एक स्थायी संरचनाका लागि सहयोग गरिने योजना रहेको कमिटीका अध्यक्ष बरालले बताएका छन् ।

देउसी भैलोको समापनका क्रममा बोल्दै एमाले केन्द्रीय सदस्य महरले प्रवासमा रहेर पनि नेपालको संस्कृति जोगाउँदै नेपाललाई दुख परेका बेला त्यो दुखमा मल्हम लगाउन गरिएको प्रयत्न अत्यन्त प्रशंसनीय र सराहनीय भएको बताए ।

प्रवासी नेपाली मञ्च, अमेरिकाका मिडवेस्ट क्षेत्र समन्वयकर्ता थोमस बास्तोला भन्छन्, सबै ओएनएफका राज्यकमिटीहरूले कम्तीमा दुइटा रचनात्मक कार्यक्रम गर्ने साधारण सभाको निर्णय मुताविक राज्य कमिटीहरूले काम गर्दै गरेको र त्यसमा आयोवा राज्य कमिटीले एकदम राम्रो सुरूवात गरेको छ ।

संकलित रकम हस्तान्तरणका लागि भूकम्प प्रवावित क्षेत्रका स्थानीयहरूसँग ओएनएफका तर्फबाट क्षेत्रीय इन्चार्ज बास्तोला तथा आयोवाबाट अबन बराल र दिपेश गौतमले समन्वय गरिरहेको अध्यक्ष पुरूषोत्तम बरालले जानकारी दिएका छन् ।