“”””पुनरावृत्ति_______

✍️ निलीमा आचार्य विश्वनाथ, असम २०८० मंसिर ३ गते १२:१२ मा प्रकाशित

भाले बास्यो
उज्यालो भयो
मसिनी
जुरुक्क उठ्छे
अल्छी नगरी
न बर्खाका छोटा रातको बहाना चल्छ
न हिउँदे लामा रात र उज्यालो नभएको
निहुँ खट्छ

उसको सामु छ एउटा लामो सूचीपत्र

रोप्ने
काट्ने
गोड्ने
बेढाउने
छप्काउने सँगसँगै
हा- हा
घुर-घुर
आ-आ
ला-ला
छ्या-छ्या गर्दै
धपाउँँदै
हप्काउँँदै
बोलाउँदै
सह्यारदै
कैयौं वसन्त बित्छन्

भोलि फेरि
भाले बास्छ
उज्यालो हुन्छ

अनि पुनरावृत्ति हुन्छ उही सूचीको

ऐया__!
के भयो?
केही पनि भाको छैन।

सधैं यस्तो गीत गाएर हुन्छ?
हिँड अस्पताल ।
जाँच
केही पनि छैन
यद्यपि केही नभए नि
मसिनीलाई दुख्छ
मुटुनेर चसक्क गर्छ
मसिलो काँडा बिझेझैं चस्स गर्छ
कहाँनेर हो
ऊ भन्न सक्दिन

त्यत्तिकै दिन बित्छ
रात पर्छ
भाले कराउँछ

अनि
फेरि उज्यालो हुन्छ
®️___

प्रतिक्रिया