मृत्योत्सव

ऋषभदेव घिमिरे २०८० मंसिर १ गते ३:०५ मा प्रकाशित

यमदूत
हातमा माला लिएर आओस्
तिलोक्तमा आएर दैलोदेखि
तुलसीको मोठसम्म
हरियो गोबरले पोतिदिउन्
मेरो गोलोक गमनको मार्ग
जलघडा काखिमा बोकेर
दायाँबायाँ उभिउँन् मेनका र उर्वशी
बैकुण्ठ विमान लिएर आउन
सबै समुपस्थित समूहलाई
म दुबै हात हल्लाएर हासीहासी
बर्साउन सकू स्वागत गारत
फूल, अबिर र लावा

म मनमा विराज भगवानलाई प्रणाम गरेर
खोल्न सकू सुक्ष्मतन्तुमा बाधिएको प्राण
सबै शुभचिन्तकलाई प्रणाम गरेर
हिंड्न सकू बैकुण्ठलोकको बाटो

संसारीक रङ्गमञ्चमा
आफ्नो भूमिका समाप्त भएको
घोषणा गरेर
विश्राम दिन सकू बोलिको
अन्तिम अर्घजल दिने पात्रलाई
सविस्तार बताउन सकू
आगमन र प्रत्यागमनको
नियमित जीवनक्रिया

अन्तिम समयको मेरो मृत्यु उत्सवमा
सहभागी हुने अभ्यागतको हातमा
उपहार स्वरुप दिन सकू
कल्पनाशक्तिले बेजोड भएको जीवनकाव्य
स-स्वर वाचन गरेर सुनाउन सकू
सुरुवाती र समाप्तीको समान हर्षगान
पुराना कर्कशपूर्ण मेरा अभिव्यक्तिबाट
विश्राम मागेर मनाउन सकू
शान्तिपूर्ण मृत्योत्सव

मेरो मृत्यु शोक होइन
उत्सव बनोस्
न खसालुन् कुनै शोभायात्राका लस्करले
मोती जस्ता अनमोल आँसु
मृत्योत्सवमा सामेल प्रत्येक मानिसका
प्रफुल्लित मनले गरेको बिदाइबाट नै
प्राप्त हुनेछ मेरो अमोघ मोक्ष।

( ऋषभदेव घिमिरे चर्चित कवि तथा साहित्यकार हुन् )

प्रतिक्रिया