सरकारको राष्ट्रिय एजेण्डानै भएन, संसद् गालीगलौज गर्ने थलोमात्रै भयोः सांसद भण्डारी

इनेप्लिज २०८० कार्तिक १८ गते ११:५३ मा प्रकाशित

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले मुलुकलाई कहाँ लैजाने भन्ने राष्ट्रिय एजेण्डानै नरहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारदेखि कांग्रेसको सरकार हुँदासम्म सरकारको राष्ट्रिय एजेण्डा नभएको उनले बताए ।

‘प्रचण्डजीदेखि हामी (कांग्रेसको) प्रधानमन्त्री हुँदा पनि एजेण्डा भएन भने कोही पनि सफल हुँदैन । मूलुक कहाँ लैजाने भन्ने राष्ट्रिय एजेण्डा हुन्छ । मुलुकको राष्ट्रिय एजेण्डा भएन,’– उनले भने ।

साथै, उनले संघीय संसद्मा मुलुकको राष्ट्रिय एजेण्डाका बारेमा वहसनै नभएको बताए । संसद् एकले अर्कोलाई गालीगलौज गर्ने थलोका रुपमा स्थापित भएको उनको टिप्पणी छ । संसद्मा शीर्ष नेताहरुले दुई घण्टा बोले पनि जनताको एजेण्डा नबोलेर गाली गलौजमा मात्रै सीमित भएको उनले बताए ।

‘हाम्रो संसद्मा राष्ट्रिय एजेण्डाको बारेमा बहस हुँदैन । एकले अर्कोलाई गाली गर्ने, आरोप लगाउने न हुन्छ हाम्रोमा । ठूला नेताहरु बोल्नुहुन्छ नि, बोल्दाखेरी दुई घण्टा बोल्छन्, एकले अर्कोलाई गाली गर्छन,’– उनले भने ।

गत प्रतिनिधि सभाको अधिवेशन अन्त्यको दिन संसद्मा दोस्रो जेनेरेशनका नेताले सम्बोधन गरेको भएर कम गालीगलौज भएको उनको भनाई छ । अहिले देशमा युवा युवतीहरुले बस्नै नचाहेको बताउँदै उनले अब राजनितिक दलहरुले गालीगलौजमात्रै गरेर नहुने बताए । उनले अब राजनीतिक दल र सरकार आर्थिक स्रोत जुटाउने र भोलिको नेपाल सुन्दर बनाउने तर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए ।

‘त्यो त दोस्रो जेनेरेशनका माननीयहरु बोलेका थिए । कम गालीगलौज भयो । नत्र धेरै गाली गलौज हुन्थ्यो नि । अब हामीले बोलेर मात्रै भएन, निकास पनि त दिनुपर्ला नि ! आरोप लगाएरमात्रै पनि मुलुक बनेन, मुलुकले त दुःख पायो नि । युवा युवतीहरु बस्न नसक्ने अवस्था भयो । त्यस कारण अब हामीले फरक तरिकाले सोच्न पर्छ । कसरी आर्थिक स्रोत जुटाउने, कसरी भोलिको नेपाल सुन्दर बनाउने भन्नेतिर सोच्नुपर्छ,’– सांसद् भण्डारीले भने ।

ृअहिले व्यवस्थामाथि हमला भइरहेको तर्फ लक्षित गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्रनै भएको बताए । लोकतन्त्र फाल्ने कुरा उग्रवाद भएको उनको टिप्पणी छ । संविधानमा रहेका केही कमीकमजोरीका कारण जनतामा निराशा बढिरहेको उनको भनाई छ । संविधान निर्माणका क्रममा आफूले संघमा र प्रदेशमा सांसदको संख्या घटाउने र स्थानीय तहको निर्वाचन पार्टी विहीन बनाउने प्रस्ताव राखेको स्मरण गराउँदै उनले उक्त प्रस्वात कार्यान्वयन हुँदा अहिले जनतामा चरम निराशा र वितृष्ण बढेको बताए । स्थानीय तह बढि राजनीतिकरण हुँदा जनताको समस्या सम्बोधन हुन नसकेको उनको भनाई छ ।

‘हामीले बनाएको संविधानभित्र कमी कमजोरी रहे । संविधान बनाउने बेलामा मैले भनेको छु– एक सय एक भन्दा बढि केन्द्रमा सदस्य नबनाउने । जो अहिले पनि त्यो भाषण बेला बेलामा आउँछ । जो समानुपातिक छन्, विज्ञहरुलाई माथिल्लो सदनमा लैजाने, त्यहाँबाट मन्त्री बनाउने ।’ उनले भने, ‘प्रदेशमा यतिधेरै सांसद र मन्त्री चाहिएको थिएन । कामकाजीका लागि बनाउन पथ्र्यो । २०÷२१ जना भएको भए हामीलाई पुग्थ्यो एउटामा । स्थानीय निर्वाचन पार्टीलेस बनाइदिएको भए राजनितिकरण कम हुन्थ्यो ।’

साथै, नेपालको कर्मचारीतन्त्रले कामै नगरेको उनको भनाई छ । नेपालको कर्मचारी ५० प्रतिशत कटौती गर्न आवश्यक रहेको उनले बताए । स्थानीय तहमा धेरै राजनीतीकरण भएर जनताले धेरै दुःख पाएको उनले बताए ।

प्रतिक्रिया