बाग्लुङ्ग सेवा समाज अमेरिकाद्वारा बडा दशैँ को शुभकामना कार्यक्रम सम्पन्न

इनेप्लिज २०८० कार्तिक १७ गते ११:१५ मा प्रकाशित

यहि मिति अक्टोबर २८, २०२३ को दिन न्युयोर्कस्थित ७५- १५ उड्साइड एभेन्यु, क्विन्समा रहेको सत्यनारायण मन्दिरमा बाग्लुङ्ग सेवा समाज अमेरिकाले नेपालीहरुको महान चाड बडा दशैँ तथा विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान, टीका तथा जमरा ग्रहण र साँस्कृतिक कार्यक्रमको आयोजना गरि कार्यक्रम सफल, सभ्य र भव्यरूपमा सम्पन्न गरेको छ । बाग्लुङ्ग सेवा समाजका अध्यक्ष श्री सकस बहादुर घर्ती क्षेत्रीको सभापतित्व र महाबाणिज्य दुत श्री विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रम बाग्लुङ्ग सेवा समाजका महासचिव श्री कृष्ण राज सुबेदी (क्रिष) ले सञ्चालन गरेका थिए । कार्यक्रममा बाग्लुङ्ग सेवा समाजका सचिब श्री दिपु श्रीष र महिला संयोजक श्री चमेली खाति परियारले शुभकामना मन्तव्य दिनुका साथै प्रमुख अतिथि महाबाणिज्य दुत श्री विष्णुप्रसाद गौतम, एन्आरएन्ए अमेरिकाका अध्यक्ष श्री सूर्य लम्साल, आरसी. एन्आरएन्ए अमेरिका श्री आङ छिरिङ शेर्पा, एन्आरएन्ए न्युयोर्क च्याप्टरका अध्यक्ष श्री हेमन्त मल्ल, सञ्चारकर्मी श्री सुनिता शर्मा कोइराला, नेपाल अमेरिकन कलाकार संघको अध्यक्ष श्री निशा सुनार, म्याग्दी समाज न्युयोर्कका अध्यक्ष लगायत विभिन्न संघ संस्थाका समाजसेवीहरुले बडा दशैँ तथा विजया दशमीको महत्त्वको बारेमा बोल्नुभएको थियो । सो कार्यक्रममा कलाकार दिलिप श्रीष, बिना कुमारी छन्त्याल र अन्य कलाकारको साथमा बाग्लुङ्ग सेवा समाज अमेरिकाका महिला संयोजक श्री चमेली खाति परियारले कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

बाग्लुङ्ग्को पहिचान नौमती बाजालाई अमेरिकामा पनि स्थापित र पहिचान गराएकोमा नौमती बाजा समुहलाई विशेष सम्मान गरिनुका साथै विभिन्न सञ्चारकर्मी लगायत अन्य सहयोगी दाताहरुलाई समेत सम्मान गरिएको उक्त विजया दशमी वि.सं. २०८० को शुभकामना आदानप्रदान र टीका-जमरा ग्रहण कार्यक्रममा बाग्लुङ्ग जन्मथलो भई अमेरिकामा बसोबास गरिरहेका बाग्लुङ्गेका साथै पर्वते र म्याग्देलीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । साथै न्युयोर्कमा रहेका विभिन्न संघ संस्थाहरुका प्रतिनिधि, विभिन्न कलाकारहरु र पत्रकारहरुको पनि उपस्थिती रहेको कार्यक्रमका संयोजक श्री दिपु श्रीषले जानकारी गराउनुभयो ।

बाग्लुङ्ग सेवा समाज अमेरिकाले सन् २०१५ देखि हरेक वर्ष बडादशैँ तथा विजया दशमीको कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान र विजया दशमीको टीका तथा जमरा ग्रहण कार्यक्रम गर्दै आएको बाग्लुङ्ग सेवा समाज अमेरिकाका महासचिव श्री कृष्ण राज सुबेदी (क्रिष) ले जानकारी गराउनुभयो ।

प्रतिक्रिया