सर्वनाथले भवनाथको विहे गरेको दस पुगेर एघार लाग्यो । पहिलो वर्ष दशैंको टीका र जमरा सहित आमाबुबासँग आर्शिवाद थापे बाहेक भवनाथ घर पुगेको थिएन ।
सर्वनाथका छोराबुहारी दुबै पढेलेखेका जागिरे ।प्रत्येक महिना हातमा छनछन पैसा खेलाउने भएकोले सितिमिति अरूलाई मान्छे गन्दैनथे ।
जागिरे भवनाथले साथीभाइलाई गरेको हेँलाहोचोको बारे कसैले सर्वनाथलाई सुनायो भने सर्वनाथ भवनाथका दम्पतीको ढाकछोप गरिहाल्थे ।
आफू बाहेक अरु सबै अशिक्षित ठान्ने भवनाथले अरूलाई गरेको अपमानको सिमा नागेपछि एकदिन सेवाग्राहीले कार्यलयमा नै छट्काएपछि दुई चारदिन तह लागेको जस्तो भएको थियो ।
भ्याइनभ्याई गर्दै हरेक वर्ष भवनाथका बुवाआमा घरका अन्य सन्तानलाई टीका कुराएर, टिकाको दिन,दियो,कलश सहित थालीमा राता अक्षता र पहेँला जमरा अगाडि राखेर भवनाथका दम्पती टीका लगाउन आउँलान र सबैलाई टिका लगाइ दिउँला भनेर कुरेको नौ वर्ष बितेको पत्तै पाएनन् ।
सर्वनाथका दम्पतीले नौ वर्षसम्म कुर्दा पनि भवनाथका दम्पतीले मातापिताको हातबाट साइतको टीका थाप्न नआएपछि दिक्क हुँदै,मन अमिल्याएर परिवारका अन्य सदस्यलाई टीका लगाईदिए र आफू धेरै वर्षपछि साइतको टीका थाप्न हिडें । बाटोमा भवनाथको ससुरालीका नातेदार रविनन्दन भेटिए। भेट्ने वितिकै रविनन्दनले नाता अनुसारको ढोगभेट गरे । सन्चो विसन्चो सोधे ।दशैको शुभकामना बाँडे ।
छुटिने बेलामा रविनन्दन सर्वनाथपट्टी फर्के र ” चित्त नदुखाउनु है,एउटा कुरा भन्छु ?भन्दै हाँसे !
” सन्तानप्रतिको तृष्णाले सन्तानले गरेको अपमान र तिरस्कार विर्साउछ रे भन्थे ! तपाईको कोखबाट कस्तो सन्तान होइन,कुलङ्गार जन्मिएछन् । हरेक वर्ष नौरथा लागेदेखि टीका नसकिएसम्म भवनाथका जोइपोइ ससुराली मै विताउछन्। पहिलेपहिले त टाढाको बाटो भएर रातविरात अभर परेर ससुराली छिरेका होलान् भन्ने ठान्थे । त्यस्तो त होइन रहेछ,पछि मात्रै बुझें ।त्यत्रो टाढाको बाटो काटेर घर नजिक पुग्ने अनि साधनमा आधा घण्टा पनि नलाग्ने बाटोको आफ्नो जन्म घर नजाने,जन्मदिने बाबुआमा नचाहिने कस्तो सन्तान जन्मेछन् ? कस्तो अचम्म हो ? Obviously माया त लागेन लागेन!दुनियाँलाई देखाउन साइतको टिका र आर्शिवाद थाप्न त घरमा जानु नि ! “
” ससुरालीपट्टीका आफन्तले देख्लान् भनेर ससुरालीको घरमा हरेक वर्ष कोठाको बाहिरबाट ताल्चा लगाएर,कोठैभित्र कोपरामा गुहुमुत थापेर थुनिएर बसेको देख्दा मलाई त कुरी कुरी नै भयो ।”
“तपाईंहरू त सारै विचरा हुनुभएछ, कठै !”
“हेरेक वर्षको नौरथाभर ससुरालीमा रमाउने भवनाथसँग अरु कुराको के आश गर्नु ? टीका थाप्न हिड्नु भएछ ठिक गर्नु भयो। घरभित्रको ब्यथा कहे दुनियाँ हाँस्ने,नकहे बौलाउने ! मैले त जे देखें त्यहि सुनाएको, कलि युगमा सत्य देख्न मर्नु पर्दैन भन्थे हो रहेछ । आफ्ना पनि छोरैछोराको गुण छ। के हुने हो ? लौ! यस्तै छ है हजुर, विदा मागें ।”
भन्दै रविनन्दन हिडें ।
सर्वनाथका दम्पतीलाई रविनन्दनको कुरा सुन्ने वित्तिकैदेखि सहिनसक्नु भयो । बोल्ने ठाउँ नै थिएन । रविनन्दनको कुरा सुनेर सर्वनाथका दम्पतीको कहिल्यै न निहुँरिएको शिर उठ्नै नसक्ने गरि गिर्यो । के गरौं,कसो गरौं ? हुँदै एकछिन त पाइला चाले ।
हिड्दाहिड्दै छट्पटी भयो । पसिना खलखली भएर हिड्नै नसक्ने भए।एकाएक खरो भयो । कहाँ बसौं ?के खाउँ ? जस्तो भयो । सर्वनाथले यताउता बस्ने ठाउँ हेरे ।अलिपर सानो बाँसको झ्याङ्ग देखियो । एकछिन त्यहि बाँसको छायामा बस्ने विचारले सर्वनाथ बाँसको झ्याङ्गतिर लम्किए ।
ठमठम हिडिरहेका सर्वनाथका खुटा लर्वरीए । बाँसको झ्याङ्ग पुग्नै नपाई सर्वनाथ ऐया… मरें… ऐया.. छात्ती चर्कियो भन्दाभन्दै ढले ।
सर्वनाथकी पत्नी पति लडेको देखेर समाउन थालिन् ।विस्तारै पतिलाई भुँइमा पल्टाइन र यताउता हेरिन् ।कोही देखिनन् । सन्तानको पिरले पति ढलेको विर्सेर बाबू,मेरो छोरो,तँ कहाँ छस ? बुवा ढल्नु भो, आइज न छोरा … भन्दै रुन थालिन् ।
जति सम्झे पनि छोरो आएन,आओस् पनि कसरी र ? ससुरालीको मेजमानमा डुबेर बाबुआमा विर्सिसकेको थियो ।अतालिएकी सर्वनाथकी पत्नी गुहार …गुहार .. सहयोग पाउँ भन्दै कराउन थालिन् ।
चारैतिर चकमन्न थियोे । प्रतिउत्तरमा क्षितिजबाट गुहार… गुहार बाहेक कसैको आवाज सुनिएन ।
सीता ओझा
२०८०/०७/१५
प्रतिक्रिया