पूर्वमन्त्री गिरीको दाबी : प्रचण्डले अब बरु गणतन्त्र छोड्नुहुन्छ, प्रधानमन्त्री छोड्नु्हुन्न (भिडिओसहित)

इनेप्लिज २०८० कार्तिक ९ गते १०:५९ मा प्रकाशित

काठमाडौं, ९ कार्तिक । राप्रपा नेपालका उपाध्यक्ष एवम् पूर्वमन्त्री दिलनाथ गिरीले अहिलेका समकालिन नेताहरुमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो साहसिक नेता अरु नभएको दाबी गरेका छन् । उनले मुलुकमा गणतन्त्र पनि प्रचण्डले नै ल्याएको दाबी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमालसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यो देशमा गणतन्त्र ल्याउने पनि प्रचण्ड नै हो । उहाँको ब्याक–अपमा जोसुकै होस, यो जगजाहेर नै छ । को थियो त्यसको पर्दा पछाडि ? सबैलाई थाहा छ ।’ प्रचण्डले नै गणतन्त्रको अन्त्य गर्ने गिरीको दाबी छ ।

उनले भने,‘उहाँले नै अब गणतन्त्रको विसर्जन गर्नुहुन्छ ।’ उनले गणतन्त्र, संघीयता, समावेशिता सबैको सूत्रधार र नायक प्रचण्ड भएपनि त्यो प्रयोग गर्दै जाँदा क्यान्सर भएको सुनाए । गिरीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले बरु गणतन्त्र छोड्ने तर प्रधानमन्त्री पद नछोड्ने पनि दाबी गरे ।

उनले भने,‘यो राजसंस्थाको स्थापित उहाँले नै गर्नुहुन्छ । अर्को विकल्प छैन, उहाँजत्तिको साहसिक मान्छे छैन भन्ने मेरो निश्कर्ष हो ।’ अहिले देखिएको सबैखाले विकृतिको धोइपखाली गरी सफा गर्ने काम पनि प्रचण्डकै नेतृत्वमा हुने उनको दाबी छ । राजसंस्था फर्काएपछि पनि प्रचण्डले नै सरकारको नेतृत्व गर्ने र उनलाई सबैको साथ रहने उनले पनि दाबी गरे ।

प्रतिक्रिया