नेपालमा बडादशैंको आज आठौं दिन महाअष्टमी बिहानै देखि मनाउदै गरिएको अवस्था छ भने अमेरिकामा बिहानै भएकोले मनाईने सुरसारमा रहेका छन ।
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाई रहेका छन् भने अमेरिकामा रहेका नेपालीले पनि मन्दिर गै मनाउने छन ।
बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ ।
दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
अमेरिकामा पनि घटस्थापनादेखि नै नवदुर्गाको पूजा गर्न मन्दिरमा घुइचो लागेको छ ।
अमेरिकाका बिभिन्न राज्यमा नेपालीहरुले नै बनाएका मन्दिर ,हिन्दुहरुले बनाएका मन्दिर तथा सामुदायिक केन्द्रमा समेत दुर्गा स्थापना गर्नुको साथै घरघरमा देवी थापना गरेका दुर्गा भवानीको पूजा गरि रहेका छन् ।
आज विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ ।
आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु शोभा भगवती,गुह्येश्वरी, इन्द्रायणी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, बज्रवाराही, दक्षिणकाली, भाटभटेनी, बङ्गलामुखी ,उपत्यका बाहिर दन्तकाली , गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, पलाञ्चोक भगवती,दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।
साथै आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ ।
पशु बलि नचढाउनेहरुले नरिवल ,काँक्रो, घिरौँला, कुभिण्डो, मूला र आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।
नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने लगायत धार्मिक विश्वास छ ।
दसैँको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ ।
अमेरिकामा रहेका नेपालीहरु धेरै जना नेपालमा रहेका आमाबुवाको आशिर्बाद र टीका थाप्न नेपाल पुगेका छन् भने केही नेपालीहरुले आफ्ना आमाबुवालाई अमेरिकामै झिकाएका छन् ।
साथै अमेरिकामा यत्रतत्र छरिएर रहेका दाजुभाई/परिवारहरु एकै ठाउँमा जम्मा भएका छन् ।
प्रतिक्रिया