मेयर कोइरालाद्वारा अमेरिकाको सिराक्यूज शहरका मेयर वाल्सबीच भेटवार्ता प्रक्रिया पूरा गरेर भगिनी सम्बन्ध स्थापना गर्न दुवै मेयर सहमत!

इनेप्लिज २०८० असोज २६ गते १०:२८ मा प्रकाशित

विराटनगर / अमेरिका भ्रमणमा रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विभिन्न सहरका मेयरलाई भेटेर स्थानीय सरकार सञ्चालनका अनुभव आदानप्रदान गर्नुका साथै विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न आग्रह गर्नुभएको छ । बिहीबार विश्वकै सबैभन्दा शक्तिशाली सहरका रुपमा रहेको न्यूयोर्कका मेयर एरिक एडम्ससित भेट्नु भएका कोइरालाले शुक्रबार सिराक्यूज सहरका मेयर बेन वाल्ससित भेटवार्ता गर्नुभएको छ । मेयर वाल्सकै कार्यकक्षमा भएको भेटमा मेयर कोइरालाले विराटनगरको भौगोलिक, सांस्कृतिक, राजनैतिक र आर्थिक अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो । भेटमा मेयर कोइराला र वाल्सले स्थानीय सरकार सञ्चालनका अनुभव साटासाट गर्नुभएको कोइरालाका अन्तर्राष्ट्रिय सल्लाहकार सोमनाथ घिमिरेले जानकारी दिनुभयो । भेटवार्ता अत्यन्तै फलदायी र उपलब्धिमूलक भएको उहाँको भनाइ थियो ।

भेटमा विराटनगर महानगरले सञ्चालन गरेको प्रविधिमैत्री सेवा प्रवाह, फोहोर व्यवस्थापन, सीपमूलक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिएको मेयर कोइरालाले बताउनुभएको थियो । सिराक्यूजका मेयर वाल्सले पनि आफूले प्रविधि, सीपमूलक शिक्षा, वैज्ञानिक सहरीकरण, औद्योगीकरण, फोहोरलाई व्यवस्थापन, रोजगारी सिर्जनाजस्ता विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको थियो । वाल्सले विविधतालाई अँगाल्ने र सबैका लागि अवसर सिर्जना गर्दै सहरको आर्थिक वृद्धिदरलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउनुभएको थियो ।

नयाँ अर्थतन्त्रमा समावेशी वृद्धिका लागि सहरको रणनीति तयार पारेर अगाडि बढेको मेयर वाल्सले अनुभव सुनाउनुभएको थियो । सन् २०१७ मा पहिलो पटक निर्वाचित वाल्स २०२१ मा भएको अर्को निर्वाचनमा भारि मतले मेयरमा पुनः निर्वाचन हुनुभएको थियो । मेयर कोइरालाले वाल्सलाई विराटनगर भ्रमणको निम्तोसमेत दिनुभएको थियो । विराटनगर र सिराक्यूज सहरबीच भगिनीसम्बन्ध स्थापनाका लागिसमेत छलफल भएको थियो ।

प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो भगिनीसम्बन्धलाई औपचारिकता दिने दुवैजना मेयरबीच सहमति भएको अन्तर्राष्ट्रिय सल्लाहकार घिमिरेले जाननकारी दिनुभयो । तीन हप्ता लामो अमेरिका भ्रमणमा रहनुभएका मेयर कोइरालाले यसअघि न्यूयोर्कका मेयर एरिक एडम्स, न्यूयोर्क सिटी काउन्सिल माननीय शेखर कृष्णन, न्यूयोर्क राज्यका सिनेटर माइकल जियानारिस, न्यूयोर्क सिटी शिक्षा समितिका अध्यक्ष एवं न्युयोर्क राज्यका सिनेटर जोन सी लिउ, न्यूयोर्क विधानसभाका प्रथम फिलिपिनो अमेरिकी स्टिभन रागा र

न्यूयोर्क विधानसभाकी प्रथम साउथ एसियन न्युयोर्क राज्यकी एसेम्ब्लीउमेन जेनिफर राजकुमार लगायतसित समेत भेटवार्ता गर्नुभएको थियो । मेयर कोइराला संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी हुन यही असोज १० गते अमेरिका जानु भएको थियो । ४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी समिनारमा मेयर कोइरालाले सहभागिता जनाइसक्नु भएको छ।

प्रतिक्रिया