बाल्टिमोरको इन्द्र जात्रामा गणेश,कुमारी र भैरव सहितको रथ यात्रा ,सम्भवत मुलुक बाहिर तीनै रथयात्रा गर्ने नेपा: कम्युनिटी यूएसए प्रथम

इनेप्लिज २०८० असोज २१ गते २३:३१ मा प्रकाशित

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजना गरिएको पाचौ इन्द्र जात्रा(येन्या पुन्ही) भव्यताको साथ सम्पन्न भएको छ ।

नेपा: कम्युनिटी यूएसएले (नेपा समुदाय अमेरिका) आयोजना गरेको उक्त समारोह मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क नामक उद्यानमा अक्टोबर ८ आइतबारका दिन अत्यन्तै सफलतापूर्वक सम्पन्न गरिएको छ ।

महामारीको कारण २ बर्ष सम्म स्थगित गरेको इन्द्र जात्रालाई पुन दोश्रो बर्षलाई समेत निरन्तरता दिईएको छ ।

नेपाल कै महत्वपूर्ण सांस्कृतिक पर्व येन्हा (इन्द्रजात्रा) अब काठमांडौमा मात्र सिमित रहेन । अमेरिकाको वासिंगटन डिसीबाट नेवा अर्गनाइजेसन अफ अमेरिका (एनओ ए )ले १२ बर्ष अगाडीबाट शुरू गरेको ईन्द्रजात्रा अब अमेरिकाको बिभिन्न राज्यहरूमा अनि बिश्वका विभिन्न देशहरूमा समेत उल्लेख्य रूपमा मनाउने क्रम जारी छ । यसै क्रममा मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा पनि सन् २०१८ मा देखि मनाउन थालिएको हो ।

नेवा: भेषभुषामा सजिएका बालबालिका देखि लिएर नरनारीहरू र बिदेशी नागरिकहरू समेत सबै जनाको उपस्थितीले काठमाडौँको झझल्को दिएको थियो ।

उक्त कार्यक्रममा यस बर्ष करिव ६ महिनाको अथक मेहनत र परिश्रम पश्च्यात कुमारी रथ यात्रा, भैरव रथ यात्रा तथा गणेशको रथ यात्रा समेतको आयोजना गरिएको थियो ।

सम्भवत मुलुक बाहिर तीनै रथयात्रा गर्ने नेपा: कम्युनिटी यूएसए प्रथम हुन् पुगेको छ । तर अमेरिकामा कुमारी रथयात्रा गराउने श्रेय एनओएलाई जान्छ । एनओएले अमेरिकामै कुमारी रथ निर्माण गरि कुमारी यात्रा गराई अमेरिकामा श्रीगणेश गरेको थियो ।

नेवा: समुदायको परम्परागत भोज समयबजीको बृहत् आकर्षक समयबजी प्रदर्शन , धिमे बाजा, परम्परागत सांस्कृतिक पहिरनका लगाई सांस्कृतिक बस्तुहरूको प्रदर्शन , पुलुकिसी तथा लाखे नृत्यहरू प्रस्तुत गरिएका थिए ।

काठमाडौँ उपत्यकाको झझल्को आउने गरी प्रसादको रूपमा हाथु हायेकेगु ( श्वेत भैरवको मुखबाट जाँडलाई नलीबाट प्लास्टिकको प्यालामा (गिलास)लिई सेवन गरिएको राखी खुवाउने थियो । यस बर्ष पनि मा नली मै मुख तल राखेर जाड सेवन गराईएको थियो ।

इन्द्रजात्रामा नेवा:समुदायको साथै वरपर तथा विभिन्न राज्यहरुबाट समेत आएका नेपाली समुदायको बाक्लो उपस्थिति थियो । बिशेष काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल,दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवा :समुदायहरूले मनाउने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।

नेवा समुदायका पुरोहित बासब राजोपाध्यायले जानकारी गराए अनुसार येन्हा : पून्हीं ( ईन्द्र जात्रा) सम्बन्धमा नेपाल भाषामा “यँ ” भनेको ईन्द्र भगवान , “यँया:” भनेको ईन्द्रजात्रा हो l यसको साथै पुलुकिसि ( ऐरावत हात्ति) ईन्द्रको वाहनले ईन्द्रलाई खोज्न आउँदा काठमांडौको किलाग: टोलमा समातिएको र ईन्द्र कि आमाले राक्षसको रूप “दागीं ” बनेर छोरोलाई लिन आउनु भएको थियो ।

बासव राजोपाध्यायले इन्द्रजात्राको बारेमा बताउनुको साथै लाखे र पुलुकेसी (सेतो हात्ती)को बारेमा समेत जानकारी गराएका थिए ।

नेपा: कम्युनिटी यूएसएका सभापति विक्रान्त मान श्रेष्ठ र बैकुण्ठमान श्रेष्ठले केही जानकारी दिनुको साथै नेपा: कम्युनिटी यूएसए सबैको हो भन्दै दर्ता गराउन मात्र आग्रह गरेका थिए ।

क्रिस श्रेष्ठ,बानाका सभापति सुबोध पन्त ,मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य डा ह्यारी भण्डारी तथा मेरिल्याण्ड राज्यकै नगर परिषद सदस्य लगायतले शुभकामना दिएका थिए । यस्तै डा भण्डारीले नेपा: कम्युनिटी यूएसएका विक्रान्तमान श्रेष्ठ तथा बैकुण्ठमान श्रेष्ठलाई मेरिल्याण्डको झन्डा हस्तान्तरण गरेका थिए ।

इन्द्र जात्रा आयोजक समितिका बैकुण्ठ मान श्रेष्ठ ,विक्रान्तमान श्रेष्ठ ,विजय श्रेष्ठ ,सृजन ताम्राकार ,दिलिप श्रेष्ठ लगायत सम्पूर्ण समिति सदस्यहरुले येन्हा पुन्ही सफल बनाउन करिव ५-६ महिना देखि ठूलो मेहनत गरेका थिए । र ,करिव महिना अहोरात्र खटिइ गणेश ,भैरव र कुमारीको नेपाल जस्तै रथ निर्माण गरेका थिए ।

प्रतिक्रिया