कलिउड नाइट २०२३ भव्य रूपमा सम्पन्न

नारायण अधिकारी रिचमण्ड, भर्जिनिया २०८० असोज २१ गते ११:१४ मा प्रकाशित

केसी डान्स सेन्टरले सधैं झैं यसपालि पनि दशैं–तिहार उत्सवका रूपमा कलिउड नाइट, अक्टोबर ७, २०२३ सम्पन्न गरेको छ । डिसी मेट्रो क्षेत्रमा रहेका नेपालीहरूको साझा कार्यक्रमको रूपमा हरेक वर्ष केसी डान्स सेन्टरले यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

विगत ६ महिनादेखि अनवरत रूपमा मेहनतपूर्वक तयारीका साथ गरिएको कार्यक्रम भर्जिनियाको मनासासस्थित हिल्टन पर्फमिङ आर्ट सेन्टरको अडिटोरियम हलमा सम्पन्न भयो ।

केसी डान्स सेन्टरले आयोजना गर्ने कार्यक्रम भनेपछि कार्यक्रम यसै लोकप्रिय हुने नै भयो । यो कार्यक्रम यस क्षेत्रका नेपालीहरूका लागि एउटा पूर्ण प्याकेज कार्यक्रम हो जसमा गायन, नृत्य, कमेडी, बाल नृत्य सबै समावेश हुन्छन् ।

आजको कार्यक्रममा ५.३० बेलुका गर्ने भनिएकोमा ठयाक्कै ५.३० मा नै सुरु भयो । यो कार्यक्रमले समयको मापनलाई विगत वर्षहरूमा पनि कहिल्यै ढिला गरेन, यसपालि पनि ठीक समयमा कार्यक्रम गर्ने परम्परालाई निरन्तरता दिएको छ । अमेरिकामा हुने अन्य नेपाली कार्यक्रमहरू तोकिएको समयभन्दा २ घण्टासम्म पनि ढिलो हुने प्रवृत्तिलाई केसी डान्स सेन्टरले समयमै सुरु गरेर एउटा गतिलो पाठ सिकाएको छ ।

अब जाऔं कार्यक्रमस्थलतिर । कार्यक्रम सुरु हुनुपूर्व हल बाहिर दर्शकहरूको ठूूलो भीड थियो । कार्यक्रम हेर्न उत्सुक के बृद्ध, के युवा, के साना नानीहरू, सबै उत्सुक थिए । ५.३० बजेदेखि टिकट चेकइनका साथ दर्शकहरू हलमा प्रवेश सुरु गरे भने निर्धारित ५ः३० सम्ममा भित्र हल पूर्ण भरिभराउ थियो ।

कार्यक्रम दुर्गाबन्दनाबाट सुरु भई दुर्गामाताले दैत्यको बध गरेको गीतिनाटकबाट सुरु भएको थियो भने त्यसपछि स्थानीय नेपालीहरूका साना केटाकेटीहरूले आफ्नो नृत्य प्रदर्शन गरेको दृश्य साह्रै रमाइलो थियो । कार्यक्रमको एउटा नृत्यले सबैको मन छोएको देखिन्थ्यो । नृत्यको सुरुमा हिमाली भेगका बासिन्दाको भेषभुषामा सोही ठाउँको प्रतिनिधित्व हुने गरी नृत्य प्रदर्शन हुँदाहुँदै तुरुन्तै तराइतिर मैथिली समूदायको सँस्कृतिसँग सम्बन्धित नृत्य प्रदर्शन भयो भने त्यसैको निरन्तरतामा पहाडे समूदायसँग सम्बन्धित नृत्य प्रदर्शन भयो । त्यसको लगत्तै नेवारी सँस्कृति झल्किने गरी नेवारी नृत्य पनि प्रदर्शन भयो । नृत्यको अन्तमा, ती सबै समूदायका नृत्य प्रदर्शकहरू मञ्चमा देखा परी “सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल” गीतको नृत्यले सबैलाई भावुक बनायो । हाम्रो देशको विविधतालाई समावेशी पारामा नृत्य प्रदर्शन गाराउने आयोजकको कलापक्षलाई उठेर अभिवादन गरेका थिए सम्पूर्ण दर्शकहरूले । यो सामूहिक नृत्यमा मेरिल्याण्ड–निवासी कलाकार राहुल केसीलगायतका स्थानीय कलाकारहरूले बेजोड नाच प्रदर्शन गरेका थिए ।

त्यसपछि बेजोड हास्यव्यङ्ग्य प्रस्तुतिमा उत्रिएका थिए प्रसिद्ध हास्यव्यङ्ग्य कलाकार शिवहरि पौडेल र पुराना हास्य कलाकार खेम शर्मा । उनीहरूले हाम्रो नेपाली सँस्कृतिमा हुँदै नभएको बच्चा जन्मनुभन्दा पूर्व गरिने “बेबी सावर”माथि गर्नु व्यङ्ग्य–प्रहार गरेका थिए । उनीहरूको व्यङ्ग्यले हलभरी हाँसोको फोहरा फुटेको सुनिन्थ्यो । यसमा सबै दर्शकहरूले ताली बजाएर यसको अनुमोदन गरेका थिए ।

यस प्रहसनमा अर्को विषय थियो– अमेरिकामा नेपाली महिला र पुरुषहरूको पारिवारिक एवम् सामाजिक भूमिका बराबरी काम बाँडफाँडका नाममा ठीक उल्टो हुने गरी फेरिएको देखाएका थिए । पुरुषहरू खाना पकाउने, भाँडा माझ्ने काम गर्छन् भने महिलाहरू टिकटक बनाउँछन् । महिलाहरू पार्टीहरूमा मदिरा पिउँछन् भने पुरुषहरू गाडी चलाउनुपर्छ भनेर नपिइकन बसेका हुन्छन् । महिलाहरू १० बजेसम्म सुतिरहन्छन् भने पुरुषहरू अगाडि नै उठेर चिया पकाउँछन् । यसरी काम बराबरी बाँडफाँडको भएको छ भनेर प्रस्तुत भएको हास्यव्यङ्ग्यको मिश्रित प्रतिक्रिया थियो । यसमा पुरुषहरू मुसुक्क देखिन्थे भने महिलाहरू गमक्क देखिन्थे ।

प्रहसनको अन्तमा, उनीहरूले दिएको सन्देश थियो– नेपालमा बाबुआमाहरूलाई दुखाइ पिराइ पर्दा डलर पठाउनुभन्दा आफैं गएर हेर्नु र उपचारमा सहयोग गर्नु धेरै राम्रो हुन्छ । स्वयम् उपस्थित भएर बाबुआमालाई देखाएको सद्भाव, माया प्रेम, आदरभाव पैसाभन्दा धेरै मूल्यवान हुन्छ भन्ने सन्देशले सबैलाई भावुक बनाएको थियो भने हलले ताली बजाएर यसलाई सदर गरेको थियो ।

कार्यक्रममा प्रहसनपछि नेपालकी ख्यातीप्राप्त गायिका इन्दिरा जोशीले दुई भागमा आफ्नो गायन प्रस्तुत गरिन् । पहिलो भागमा उनले तीनवटा गीत गाएर आफ्नो प्रस्तुती दिइन् । उनको गीतमा सँगसँगै गाउनेहरू पनि थिए । उनले केही नयाँ गीतहरू गाएकी थिइन् । इन्दिरा जोशीको पहिलो भागको प्रस्तुतिपछि स्थानीय कलाकार र साना भाइबहिनीहरूले नृत्य प्रदर्शन गरेका थिए ।

कार्यक्रमको क्रममा केसी डान्स सेन्टरको संस्थापक नविन केसी र लुना श्रेष्ठले पनि सामूहिक नृत्य प्रदर्शन गरेका थिए । उहाँहरूको नृत्य असाध्यै रमाइलो थियो ।

कार्यक्रमको अन्तमा, करीव ५० जना कलाकारहरूको ठूलो समूहले देउसी खेलेको थियो । देउसेहरूको टोलीले साइँला बाको घरमा देउसी खेलेको हो । यो देउसीका घरधनी साइँला बाको भूमिकामा ख्यातीप्राप्त साहित्यकार कृष्ण धरावासी र मञ्जु विमली हुनुहुन्थ्यो ।

कार्यक्रमलाई घघडान कार्यक्रम सञ्चालक परशु तिमल्सिना र एक जना बहिनीले गरेका थिए ।

“तपाईंहरूको उपस्थिति, हाम्रो हौसला” भन्ने नारा रहेको कलिउड नाइट २०२३ यसरी समापन भयो ।

यो कार्यक्रमले यस क्षेत्रका नेपालीहरूलाई वर्षमा एकपटक एउटै मञ्चमा ठूलो संख्यामा भेला पारी नेपाली चाड दशैं र तिहारको महत्वको प्रचारप्रसार गर्दछ । यसको माध्यमले विदेशमा रहेका नेपालीहरूले आफ्ना चाडपर्वहरूलाई निरन्तरता दिन ठूलो प्रेरणा प्रदान गर्दछ । विदेशमा बसेका नयाँ पुस्ताहरूलाई नेपाली भाषा, सँस्कृति र चाडपर्वलाई साँस्कृतिक कार्यक्रमका रूपमा बुझाउन र देखाउन मद्दत गरेको छ । नेपालबाट आउने स्थापित तथा स्थानीय कलाकारहरूको सहकार्यबाट कलाको माध्यमले सबै उमेर समूहका व्यक्तिहरूलाई मनोरन्जन र नेपालसँग निरन्तर जोड्ने काममा सहयोगी भूमिका निर्वाह गरेको छ । भौतिक रूपमा नेपाल नबसे पनि नेपाली भाषा र सँस्कृतिबिना कुनै नेपाली विदेशमा बसेको हुँदैन किभने व्यक्तिको पहिचान भनेको उसको भाषा र सँस्कृति नै हो । एउटा व्यक्ति वास्तविक रूपमा उ जन्मेको देशको सँस्कृतिले निर्माण भएको हुन्छ र सँस्कृतिको आदानप्रदान गर्नमा केसी डान्स सेन्टरले सहयोगी भूमिका निर्वाह गरेको छ ।

अन्तमा, नविन केसी र लुना श्रेष्ठका नाममा । अमेरिकाली प्रवासमा नेपालीहरूका माझ प्रत्येक वर्ष नेपाली चाड पर्वलाई कलाको माध्यमले प्रदर्शन गर्ने काममा कला प्रदर्शनका विशेषज्ञ नविन केसी र लुना श्रेष्ठको ठूलो योगदान रही आएको छ । उनीहरूले निकै मेहनतका साथ केही वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिएका छन् । म लगातार चार वर्षदेखि यो कार्यक्रममा दर्शक बनेर भाग लिइरहेको छु । स्वतन्त्र भएर एउटा दर्शकको नाताले भन्नुपर्दा पहिलेभन्दा अहिले राम्रो हुँदै गएको छ यो कार्यक्रम । अब अहिलेभन्दा अर्को वर्ष पक्कै पनि राम्रो हुनेछ । अनुभव र कला प्रदर्शनले यही बताइरहेको छ । केसी डान्स सेन्टरको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

-नारायण अधिकारी रिचमण्ड, भर्जिनिया

प्रतिक्रिया