रिनोल्ड्सबर्ग नगरमा दशैं तिहार मेला लाग्ने

Enepalese Published on: October 6, 2023

हिन्दुहरुको महान चाडपर्व दशैं तिहार (दीपावली) को सम्मुखमा यहि शनिबार अक्टोबर ७ मा रिनोल्ड्सबर्ग नगरको आयोजनमा भव्य मेला हुने भएको छ।

रिनोल्ड्सबर्गको सिभिक उद्यानमा स्थानीय व्यापारीहरु, गैरनाफामुखी सँस्थाहरु, कलाकारहरु र हजारौं जनसमुदाय भेला हुने जनाइएको छ।

रिनोल्ड्सबर्ग नगर परिषद सदस्य भुवन प्याकुरेलका अनुसार यस मेलामा ८० भन्दा बढी व्यापारिक समूहले दर्ता गरेका छन्। यस अलावा मध्य ओहायो राज्यमा नेपाली भाषी समुदायले चलाएका खेलकुद समूह, क्लब, मन्दिर, भजन मण्डली र साँस्कृतिक समूहको सहभागिता हुने भुवनले बताएका छन्।

यो मेला रिनोल्ड्सबर्ग नगरकै स्वीकृति र सहयोगमा हुन लागेको हो।

मेलाका संयोजक श्याम गौतमका अनुसार यसपालिको मेलामा ८ देखि १० हजार मानिसको आवतजावत हुने अनुमान गरिएको छ। मध्य ओहायोमा करिब चालिस हजार नेपाली भाषा बोल्नेको जनसंख्या छ भनिन्छ। यस मेलामा ओहायो राज्य मात्र नभई वरिपरीका अरु राज्यबाट पनि मानिस आउने अपेक्षा आयोजक समितिले गरेको छ ।

‘अमेरिकामा हुर्कदै गरेको नयाँ पुस्तालाई नेपाली भाषा , संस्कृती , कला र पहिरनको पहिचान गराउन पनि यस्तो मेलाको आवस्यकता परेको हो। हामी सबैमा आफ्नो पहिचानको चिन्ह लिएर मेलाको उल्लास भर्न आउनुहोस भन्न चाहन्छौं’, विश्व भुटानी हिन्दु संगठनका अध्यक्ष कमल धिमालको निम्तो छ सबैमा।

“व्यवस्थापनको हिसाबले गत साल भन्दा यो साल धेरै सुधार गरिएको छ। सुरक्षाको चाँजो नगर प्रहरीबाट हुने छ। हराएका सामग्रीको सूचना लिने र दिने बुथ बस्ने छ।“ आयोजक समितिको मङ्गलबार बेलुका बसेको वैठकले यस्तो जानकारी गराएको हो।