“बासेन्जी” चलचित्रका निर्देशक श्री क्लेमेन्टसँगको छोटो कुराकानी

इनेप्लिज २०८० असोज १४ गते १३:०० मा प्रकाशित

यही असोज २६ का दिन नेपाली चलचित्र क्षेत्रले एउटा नयाँ प्रकारको साइकोलोजिकल थ्रिलर चलचित्र पाउँदै छ – “बासेन्जी” । नेपालमा पहिलो पटक भिडियो गेम कथाशैलीमा बनाइएको चलचित्र “बासेन्जी” का निर्देशक अमेरिकी नागरिक इयन स्कट क्लेमेन्ट हुन् । गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको “बासेन्जी” हरर जनरामा निर्माण गरिएको चलचित्र हो ।

यो चलचित्रका निर्देशक श्री क्लेमेन्टसँगको छोटो कुराकानी –
१. तपाईंले नेपाली चलचित्र नै बनाउने निर्णय किन गर्नुभयो? केले प्रेरणा दियो?

  • मैले नेपाली चलचित्र बनाउने रोजाइ गरेको होइन, नेपाली चलचित्रहरूले मलाई रोजेका हुन् । म उच्च शिक्षा लिँदा-लिँदै नै मेरो नेपाली मित्र विराजसँग नेपाल आएँ, नेपालमै रमाए, नेपालमै प्रेरणा पाएँ र यहीँ बस्ने निधो गरेँ ।

२. तपाईंको पहिलो चलचित्र “आँपको अचार”को अनुभव कस्तो थियो? के त्यो सिनेमाले तपाईंलाई बासेन्जी बनाउन मद्दत गर्‍यो?

  • आँपको अचार एउटा बेग्लै यात्रा थियो । नेपालको बारेमा मात्र होइन, एउटा चलचित्रकर्मी हुनुको शिक्षा पनि मैले त्यही चलचित्रबाट पाएँ । त्यही चलचित्रमा बनेका मेरा साथीहरूसँगको सहकार्यले मलाई “बासेन्जी” बनाउन मद्दत गरेको छ ।

३. अन्य चलचित्रभन्दा “बासेन्जी” कसरी फरक छ? नेपाली दर्शकले के नयाँ पाउलान्?

  • यो चलचित्र दर्शकहरूका लागि सिनेमा हेर्नु भन्दा पनि एउटा कुनै सपना, वा एउटा मानसिक तरङ्गको यात्रा दिने प्रयास मैले गरेको छु । सिनेमाघरमा यो चलचित्र हेर्नु भनेको लामो समयसम्म यो चलचित्र सम्झिरहनु नै हुनेछ ।

४. एउटा निर्देशककै परिप्रेक्ष्यमा “बासेन्जी”का बारेमा थोरै बताउनुहोस् न ।

  • म शब्दहरूमा यो चलचित्रको बारेमा भन्नै सक्दिनँ किनकि त्यो भावना नै यो चलचित्र आफै नै हो । शब्दमा लेख्‍न सक्ने भए म यसलाई एउटा पुस्तक नै बनाउने थिएँ नि, हैन र? भन्दै गर्दा पुरानो कुरा दोहोर्‍याएको जस्तो लाग्ला – तर चलचित्रका बारेमा बुझ्न चलचित्र हेर्नै पर्छ ।

५. मनोवैज्ञानिक थ्रिलर चलचित्र नै किन?

  • खासैमा भन्नु पर्दा यो चलचित्रको जनरा जेसुकै भए पनि म खुसी नै हुन्छु । यसलाई मनोवैज्ञानिक थ्रिलर बनाउँछु भनेर बनाएको होइन, बन्दै जाँदा थ्रिलर जनराको बनेको हो । अचेलको जेन्डर रोल जस्तो “यो-त्यो” होइन, यसको कुनै जेन्डर नै छैन – नन-बाइनरी हो यो ।

६. तपाईंले यो चलचित्र भिडियो गेमको शैली – प्रथम पुरुष र तृतीय पुरुष शैलीमा नै किन बनाउनु भयो?

  • दर्शकहरूलाई अनिश्चितताको यात्रामा लिएर जानका लागि । क्यामराको आँखाले मात्र देखेका कुरा यदि तटस्थ भएर हेर्न सकिन्छ भने सबै प्रश्नहरू गर्न स्वतन्त्र पनि भइन्छ । आफूले जसरी बुझ्दै गयो, त्यसरी नै कथा खुल्दै जान्छ र हरेक मोडमा छक्क पार्न सक्ने तत्त्वहरू पनि पाउन सकिन्छ । त्यसका लागि मैले कहिले प्रथम पुरुष त कहिले तृतीय पुरुषमा कथा भनेको हुँ, जुन हालसम्म भिडियो गेममा मात्र छ – तर यसलाई चलचित्रमा ल्याउँदा आफू नै पात्र हुन् पाइन्छ । प्रथम पुरुष देखाउन मैले टाउकोमा राख्‍न सकिने क्यामरा माउन्ट तयार गरेको हुँ, जसलाई दृश्य देखाउन सकिने क्षेत्रमा मात्र प्रयोजन गरियो र पात्रको विस्तार गर्न सोही क्यामराले खिचेको दृश्यमात्र प्रयोग गरियो । तृतीय पुरुषको कथाका लागि भने गिम्बल प्रयोग गरियो जसलाई केन्द्रीय पात्रको दायराभित्र मात्र सीमित गरियो । सिनेमा काट्ने बेला यी दुई ध्रुवहरूलाई मध्यनजर गरेरै काट्यौं हामीले जसका कारण टाढाका दृश्य, नजिकको क्लोज अप कुनै रहने ठाउँ नै हुँदैन । यो दायराका कारण दर्शक आफ्नै संसारमात्र हेरिरहेको अनुभव गर्नेछन्, जुन पूर्ण मनोवैज्ञानिक हुन जान्छ ।

७. सिनेमाको नाम किन “बासेन्जी” राखियो?

– माफ गर्नुहोला, त्यो चैं म भन्दिनँ । तपाईंले गुगल गर्दा आफै केही पाउनुहुन्छ होला तर सिनेमाको अन्तरकुन्तरका कुरा बुझ्न सिनेमा नै हेर्नुपर्छ, त्यो पनि बारम्बार ! मेरो जीवनकालभित्रमा कसैले सिनेमा के हो पत्ता लगायो भने म उसलाई बियर ख्वाउँछु !

८. यो बाहेक पनि चलचित्रहरूको योजना छ ?

  • “आइ विस आइ डिन्ट ह्याभ टु डु दिस” भन्ने लघुचलचित्र बनाउँदै छु, जुन अर्को वर्षसम्म विभिन्न फिल्म फेस्टिबलमा जाला । विगत १० वर्षदेखि “यिथ सेक” नाम गरेको प्रोजेक्टको योजना पनि छ, जुन ह्याकर, एलियन, आतङ्कवाद, राजनीति, आदि विभिन्न विषयहरूमा छ, जुन म अहिल्यै बुझाउन पनि सक्दिनँ । यसबाहेक म्युजिक भिडियोहरू गर्दै छु, जुन मेरी प्रेमिका सिर्जना (अभिनेत्री तथा मोडल सिर्जना रेग्मी) सँग गर्दै छु । उनी निकै अब्बल गीतकार र गायिका पनि हुन् जसलाई मलाई जस्तै डरलगाउने कुराहरू मन पर्छन् । हाम्रा पुराना कामहरू तपाईंले युट्युबमा देख्‍न सक्नुहुन्छ ।

प्रतिक्रिया