डिसीमा हुने बिश्व साँस्कृतिक उत्सव २०२३ मा १८० राष्ट्रहरु मध्ये नेपालको बिशेष सहभागिता र विशेष प्रस्तुति हुने

इनेप्लिज २०८० असोज १३ गते २:०३ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा भै रहेको बिश्व साँस्कृतिक उत्सव २०२३ मा नेपालले सक्रिय र उत्साहजनक रुपमा सहभागिता जनाएको छ ।

डिसी महानगर क्षेत्रमा सेप्टेम्बर २९ देखि अक्टुबर १ आइतबार सम्म आयोजना भै रहेको बिश्व साँस्कृतिक उत्सव २०२३ मा १८० राष्ट्रहरुबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरु प्रस्तुति सुरु गरेका छन् ।

बिश्व भरका विभिन्न संस्कृतिहरु बोकेका राष्ट्रहरुलाई एकै थलोमा जम्मा गरि एकै सुत्रमा बाँध्ने पहल आर्ट अफ लिभिङ्गका संस्थापक तथा आध्यात्मिक गुरु श्री श्री रविशंकरले गरेका हुन् । यस बृहत बिश्व साँस्कृतिक उत्सवमा नेपालले समेत प्रतिनिधित्व गरेको छ । डिसी डिसी महानगर क्षेत्र वरपर रहेका विभिन्न संघ/संस्थाहरुले यसमा सक्रिय रुपमा सहभागिता जनाएका छन । यसको लागि महिनौ महिना अगाडी देखि बिभिन्न संस्कृतिक प्रस्तुतिहरु दिने भएकोले पुरा तयारीमा लागेका छन् ।

सेप्टेम्बर २९ देखि भएता पनि नेपालको पालो आइतबार अक्टोबर १ का दिन बिहान १५० जना भन्दा ज्यादा कलाकारहरुले बिभिन्न जात जातिका प्रस्तुति दिने भएका छन् ।

५ लाख भन्दा बढी सहभागीहरुले बिश्व भर छरिएका सांस्कृतिक विविधताको महत्व माथि ऐक्यबद्धता जनाएका छन् । विश्वभरका १८० राष्ट्रहरुबाट १७,००० कलाकारहरु सम्मिलित भई ६१ वटा नृत्यहरु प्रस्तुत हुँदैछन ।

नेपालको विभिन्न समुदायको ७ मौलिक नृत्यहरु आफ्नै सांस्कृतिक पहिरनमा १३ वर्ष देखि ६० वर्ष सम्मका १५० भन्दा जयदा कलाकारहरुले बेजोड प्रस्तुति गर्ने भएका छन् ।

डिसी महानगर क्षेत्रको बाल्टिमोरमा लामो समय देखि बस्दै आएका नृत्य प्रशिक्षक यज्ञ मान शाक्यले विगत पाँच महिना देखि नृत्य टोलीलाई प्रशिक्षण दिंदै आएका छन् ।

यो बृहत कार्यक्रममा नेपालको सहभागिता अपरिहार्यको महसुस गर्दै नेपाललाई सहभागिता गराउन पहल गर्ने नेपालको सांस्कृतिक टोलीको प्रायोजन राजेश बहादुर प्रधान तथा निभा माथेमा प्रधानले गरेका छन् ।

दुवै जना आर्ट अफ लिभिङको सक्रिय आजीवन सदस्यको साथै दया फाउन्डेसनमा पनि आबद्ध रहेका छन् । मेरिल्याण्डको नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसी)की अध्यक्ष सरोज प्रजापतिको प्रमुख संयोजकत्व तथा समन्वयमा यस बृहत कार्यक्रममा कलाकारहरुले सहभागिता जनाउने छन् ।

१५० जना भन्दा ज्यादा कलाकारहरु मेरिल्याण्ड राज्यको एक बिद्यालयमा पूर्वअभ्यास(रिहर्सल) गरि रहेका छन् । निभा माथेमा प्रधानले दिएको जानकारी अनुसार डिसी क्षेत्रमा हुने ’बिश्व संस्कृतिक उत्सव २०२३ ’ चौथो संस्करण हो। सन् २००६ मा बैंगलोरमा,दोश्रो संस्करण बर्लिनमा सन २०११ ,तेश्रो संस्करण २०१६ मा दिल्लीमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया