मेरील्याण्ड तथा भर्जिनियाका दुवै गभर्नरद्वारा समुन्द्री आँधी ओफिलियाको कारण आपतकालिन अवस्थाको घोषणा

इनेप्लिज २०८० असोज ६ गते १२:१४ मा प्रकाशित

मेरील्याण्ड तथा भर्जिनियाका दुवै गभर्नरहरुले बिज्ञप्ति जारी गर्दै मेरिल्याण्ड र भर्जिनिया दुवै क्षेत्रलाई प्रभावित बनाउने समुन्द्री आँधी ओफिलियाको कारण दुवैले आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।

मेरिल्याण्डका गभर्नर वेस मूरले गत शुक्रबार सेप्टेम्बर २२ देखि मेरिल्याण्डमा आपतकालिन अवस्था घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उष्णकटिबंधीय आँधी ओफिलियाले शुक्रबारदेखि शनिबार अबेर सम्म डिसी महानगर क्षेत्र मा भारी वर्षा र हावा ल्याउने अपेक्षा गरिएकोले उनले घोषणा गरेका हुन् ।

एबिसी७ का अनुसार उनले जारी गरेको कार्यकारी आदेशले मेरिल्याण्ड राज्यलाई आपतकालीन स्रोत र सहयोगको समन्वय र अनुरोध गर्न अनुमति दिनेछ।

उनको आदेशले मेरील्याण्डको आपतकालीन व्यवस्थापन विभाग र अन्य सबै राज्यका सँस्थाहरूलाई मेरिल्याण्डमा स्थानीय अधिकार क्षेत्रहरूलाई समर्थन गर्न उपलब्ध स्रोतहरू संलग्न गर्न, परिचालन गर्न, प्रयोग गर्न र समन्वय गर्न सक्षम बनाउँछ।

“हामी सबै मेरील्याण्डवासीहरूलाई सतर्क रहन आह्वान गर्दछौ र स्थानीय अधिकारीहरूले यस आपतकालीन अवस्थाको समयमा सूचना प्रदान गर्न सक्ने कुनै पनि निर्देशनहरू पालना गर्न आग्रह गरिरहेका छौं,” गभर्नर मूरले भने।

यसै गरि भर्जिनियाका गभर्नरले सम्भावित उष्णकटिबंधीय आँधी आउन अगाडी आपतकालिन अवस्था घोषणा गरेका छन् । भर्जिनियाका गभर्नर ग्लेन यंगकिन र महान्यायाधिवक्ता जेसन मियारेस सहितले भर्जिनियावासीहरूलाई समर्थन गर्न कार्य गरिरहेका छन्।

गत शुक्रबार दिउँसो यङकिनले आँधी आउनुअघि नै आपतकालिन अवस्थाको घोषणा गरेका थिए ।

प्रतिक्रिया