कथा धुवाँ_____

✍️ निलीमा आचार्य विश्वनाथ असम २०८० असोज १ गते ११:१६ मा प्रकाशित

सहरदेखि अलिक पर रहेको पल्टनबजारको एउटा उद्यानमा हिजो लेखक मण्डली भेला भएका थिए। बेलुकी ठिक पाँच बजेको छ, उक्खुम गर्मी नभए नि मौसममा अलिअलि उष्मता भने रहिरहेको थियो। तर कविताको न्यान्योपनले त्यो उष्णतालाई चिर्दै लगेको थियो।

म एकान्तचित्त भई कविता सुनिरहेको थिएँ , एक्कासी प्रमिलाको आवाजले म झकिन्छु। उनले गरेको प्रश्नले मेरो मनलाई बिथोल्न पुग्छ। कविताबाट ध्यान भङ्ग गर्दै म उनलाई उल्टै प्रश्न गर्छु—” किन तिमीले कविताको वर्षा भइरहेको बेला यस्तोकिसिमको प्रश्न गरेकी? अब एउटा कविता वाचन गर्न रहेको छ, ल सुनौँ राम्रोसँग।”

ऊ फेरि हाँस्दै मण्डलीतर्फ इसारा गर्दै भन्छिन्
: “सबै जान लाग्ये त, तपाईंलाईचाहिँ के बसिरहने रहर छ? कि एकान्तमा बसेर फेरि उसैलाई तान्ने इच्छा भयो कि क्याओ हजुर?”
उनको जवाफले म अलिकति लज्जित भएँ। हो त !कविता वाचनको अनानुष्ठानिक कार्यक्रम कतिबेला समाप्त भएछ मलाई थाहै भएन।
धत्तेरी! कविता सुन्दा सुन्दै म कवितामै डुब्न पो पुगेछु। लाजलाई सर्टको गोजीमा हाल्दै भनेँ “हिँड ,सबै बाटो लागिसके छन् ।”
हामी सबै होटेलतिर लाग्यौं। भोलिको प्रोग्राम छ धेरै तयारी गर्नुछ ।

आज दुईदिन भयो म प्रमिलादेखि भागेको। असलमा प्रमिलादेखि भागेको भन्दा भुलै हुन्छ, उनको प्रश्नदेखि चाहिँ भागीरहेको छु म। ऊदेखि भाग्नुपर्ने त्यस्तो केही काम मैले गरेको छैन।

जोसँगबाट धेर भागिन्छ त्यसैसँग पटक पटक भेट हुन्छ भनेझैँ , यी! प्रोग्रामपछि प्रमिला ठिँङ्ग मेरोसामु आएर उभिन्। कता भाग्नु,के गरौंजस्तो भएको थियो आफूलाई । तर कस्तो अचम्म यो!प्रमिलाले न त मलाई प्रश्न गरिन् न केही बोलिन्, मलाई नदेखेजस्तो गर्दै कोल्टे कोल्टे पाराले अन्त लागिन् । आश्चर्यचकित भएँ म।

उनको मौनताले र यो अपरिचितजस्तो व्यवहारले फेरि मलाई बिथोल्यो। धेरै प्रश्न लुकेका छन् उनको मौनतामा। आज एउटाको चाहिँ जवाफ दिएरै म यो मौनता भङ्ग गर्नेछु र दुईदिनदेखि ननिदाएको मेरो दिमागलाई पनि आज अलिकति हल्का पार्नेछु।

प्रमिलाज्यूू नमस्कार
तिमीले सोधेको प्रश्नको उत्तर मलाई आफूलाई नि थाहा छैन। किन म सिगरेट पिउँछु म आफै जान्दिन। जिन्दगीमा आइपरेका समस्या सिगरेटको धुवाँमा उडाउन मन लाग्छ मलाई । यो धुवाँ जसरी क्षितिजतर्फ उडेर जान्छ नि, त्यही हेरेर म मेरो अशान्त मनलाई शान्त पार्छु। अब स्वास्थको कुराचाहिँ एकदमै नगर ल। म तिमीलाई यति आश्वासन दिन्छु कि म मेरो स्वास्थलाई हानी हुने गरी केही काम गर्दिनँ । प्रश्न गरेकोमा धन्यवाद रह्यो। ओहो —! अर्को एउटा कुरा , तिम्रो कविता राम्रो लाग्यो। अर्थपूर्ण थियो। तर शीर्षकचाहिँ किन धुवाँ राखेकी?”

म्यासेज पठाएर रिसिभ भयो भएन हेरेँ। निलो दुईटा शुद्ध चिनो देखायो। सायद पढिन् होला!
अब कसरी बुझाउनु प्रतिमालाई मेरी प्रिय साथी, सहपाठी नीतु यसरी नै अब निलो आकाशमा धुवाँ भई विलिन हुन्छिन् ।


अनन्तमा __अनन्तमा
——-0———–

प्रतिक्रिया