संगीतका पैगेम्बर नेपथ्यको टोरन्टो भ्रमण

डा. गोबिन्दसिंह रावत, क्यानडा २०८० भदौ ३१ गते १६:५५ मा प्रकाशित

डा. गोबिन्दसिंह रावत, क्यानडा
अहिले विशाल टोरोन्टोमा अक्टुबर ८ मा हुने नेपन्थ संगीत साँझको चर्चाले व्यापकता पाई रहेको छ । भनिन्छ मानिसहरुका लागि ईश्वरको सन्देश लिएर आउने मोहम्मद, ईशा, बुद्ध जस्ता पैगेम्बरहरु जस्तै संगीतका पैगम्बर बनेर नेपाली माटोको कथाव्यथालाई गीतमा सुनाउन आउँदै छन् नेपथ्य समुह । हामी पूर्वीय दर्शनमा आस्था राख्ने भएकोले सानैदेखि धेरथोर मात्रामा सूर–ताललाई बुझेका हुन्छौं । तराई पहाड हिमालको देशमा हाम्रो हिडाईले पनि एक प्रकारको लचकता ल्याउने गर्छ । त्यही लचकतामा हामी ताल जोड्दै जान्छौं र सुखानुभूति अर्थात परमानन्दको अनुभूति गर्न थाल्छौं । संगीतको कुनै भाषा हुँदैन त्यसैले भनिन्छ संगीतमा परमात्माको स्वरुप हुने गर्छ । त्यसैले संगीत श्रवणबाट मानिसले सबैभन्दा बढी आनन्द लिने गर्दछन् । यही संतीगको आनन्द हामी समक्ष पु¥याउनका ब्लु जेरियनले गर्दै छ । त्यसका लागि आयोजक समुहले रोजेका छन् उत्तर अमेरिकाकै उत्कृष्ठ प्रेक्षागृह मेसी हल । सन् १८९४ मा खोलिएको मेसी हललाई यसको उत्कृष्ट ध्वनि व्यवस्थापनका लागि चिनिने गरिन्छ भने यसको सिम्फनी अर्केष्ट्रा व्यवस्थाले पनि संगीतको प्रस्तुतिका लागि यो प्रेक्षागृहलाई उच्च स्थान मानिन्छ । २७६५ जनाका लागि निर्माण गरिएको मेसी हलमा विश्वका धेरै प्रतिष्ठित संगीत विधाका कलाकारहरूले आफ्ना प्रस्तुतिहरुको सफलतापूर्वक आयोजना गरेको व्यापक इतिहास रहेको छ र जुन आजसम्म पनि जारी छ। जुन १, १९८१ मा क्यानाडाको एक राष्ट्रिय ऐतिहासिक स्थलका रुपमा राष्ट्रको सम्पदा सुचिमा समावेश गरिएको यही ऐतिहासिक मेसी हल साँगीतिक स्थलमा नेपाली धुन गुञ्जिने दिनको गन्ति शुरु भई रहेको छ । ‘दसैँका बेला पारेर टोरन्टोको आकाशमा नेपाली गीत संगीत घन्किने भएको छ । आयोजकले विशाल टोरन्टोका दर्शकका लागि आयोजना गर्न लागेको यो ठूलो योजना भएकाले यसमा आर्थिक, सामाजिक, नैतिक तथा अन्य जिम्मेवारीका पक्षहरु छन् । ती पक्षहरुलाई हामीले मिलेर आआफ्नो जिम्वेबारी पुरा गर्नु पर्छ ।

नेपाली लोकरक ब्याण्डको नामबाट चालिसको दशकमा (सन् १९९० को प्रारम्भ) लोकपप गीत गाउने उद्देश्यले अमृत गुरुङ, दिपक राना र भीष्म पुन भएर स्थापना गरेको नेपथ्य ब्यान्डले सफलताको त्यो आकाश चुम्यो कि कैयौं वर्षदेखि नेपालको सबैभन्दा सफल र लोकप्रिय सांगीतिक समूह हुँदै मात्र आएको छैन, बेलायतको वेम्ली एरेनामा ८ हजार जनाको भीडमा गाउने एकमात्र नेपाली ब्याण्ड हुनुको गरिमा पनि पाएको छ । नेपथ्यको उदय नेपाली संगीतको आकाशमा भएपछि नेपाली संगीतले विश्व बजारमा नयाँ पहिचान पाउन थालेको भन्दा अत्युक्ती नहोला । नेपालका विभिन्न गाँउ बस्ती कन्धरा शहर हँुदै लय ताल र सुरको सीमा नाध्दै श्रृखलाबद्ध कन्सर्ट प्रस्तुत गर्दै नेपालको माटोको संगीतलाई लोकप्रिय लोकरक व्याण्ड नेपथ्यले विश्वभर फैलाउँदै गुञ्ज्याउँदै गई रहेको छ । नेपाली संगीत पारखीका लागि सुपरिचित नाम हो नेपथ्य । अझ लोक–रक फ्यूजन मन पराउने संगीत पारखीका लागि नेपथ्यको नामै काफी छ । यो व्याण्डले देशको संगीत इतिहासमा नयाँ इतिहास रचि सकेको छ । यसरी नेपालका अन्य कुनै पनि व्याण्डले लामो समयसम्म यति धेरै हिट गीतहरु दिएको बिरलै दिएको भेटिन्छ । कुनै समय चर्चाको सगरमाथा पुगेका व्याण्डहरु समयक्रमसँगै चुचुरोमा रहिरहन सकेनन् । नेपथ्य भने यसमा अपवाद बनिरहेको छ । यस ब्याण्डको शाब्दिक व्याख्या गर्दा नेपथ्यको खास अर्थ हुन्छ ‘पर्दापछाडि’ अर्थात मञ्चपछाडिबाट हुने गतिविधि । प्रत्येक शब्दको आफ्नो शक्ती हुने गर्छ, जसलाई अभिधा, लक्षणा र व्यँजना शक्ती भनिन्छ । यो शब्द शक्तीले शब्दको वेग्लै अर्थबोध गराउने शक्ती राखेको हुन्छ । नेपथ्य शब्दले पनि बेग्लै शक्ती ग्रहण गेरेको छ । गाँउको कथाव्यथालाई गीत संगीतमा समेटेर लोकलयमा जनताको स्वरलाई नेपथ्यबाट मञ्चमा पु¥याउने काम गर्दै आएको छ । त्यसैले उनीहरुको परिभाषामा नेपथ्य भनेको मानवताको लागि संगीत हो । यसको नाम जस्तै नेपथ्यले संगीतलाई सदैव अगाडि राखेर मानवसेवा र देशप्रेमको भावनालागि संगीतबाट मुखारित गर्दै आएको छ ।

नेपाली संगीतमा नेपथ्य एउटा यस्तो नाम हो, जसले निरन्तर लोकप्रियता र सामाजिक मान्यता पाइरहेको छ। विगत २५ वर्षदेखि नेपथ्य प्रचलनमा रहेको छ । तिनीहरू युवा मैत्री पप र रक ढाँचामा लोक धुनहरू मिश्रण गर्न अग्रगामी भएका छन्। लोक संगीत नेपथ्यको प्राणशक्ति बनेको छ । लोक बाहेक, नेपथ्यका गीतहरूले समसामयिक नेपाललाई चित्रण गरेको हुन्छ । सामाजिक अवहेलना र जातिगत भिन्नताले उब्जाएको असमानताको युद्ध र मानवीय संकटको समयमा नेपथ्यको संगीतले मलहम भर्ने काम गरेको हुन्छ । मानवीय पीडा र त्यसभित्र गुम्सिएको आशाको किरणलाई नेपथ्यका एक कलाकारले देखेर बुझेर अनि अनुभव गरेर सुखको कल्पनामा संगीत पोख्न थाल्छ । यही संगीतका मानवीय स्वरहरु उनको गीतहरुमा पाईन्छ । अमृत गुरुङ्गका अनुसार उनका गीतहरु दर्शक÷श्रोताका लागि बन्ने गरेकोले ती गीतहरु स्टुडियोमा गएर रेकार्ड गराउनुभन्दा प्रत्यक्ष दर्शकका माँझ प्रस्तुत गर्दा कलाकार र दर्शकका बीच आत्मियता रहने गर्छ । उनले गीत गाउँदा दर्शकले प्रतिक्रिया दिदै जानु पर्छ, कराउनु, सँगसँगै गाउनु, संगीतमा झुम्नु, मञ्चको प्रकाश व्यवस्था र गुञ्जयमान ध्वनिको उनको प्रस्तुतिमा ऊर्जा भर्ने काम गर्दछ ।

संगीतमा तीन मुख्य तत्वहरू हुन्छन्( धुन, लय र सद्भाव। धुनलाई परिभाषित गर्ने संगीतका दुई आधारभूत तत्वहरू पिच र लय हुन् । पिचहरूको उत्तराधिकार मेलोडी ताल हो। मेलोडी सामान्यतया गीतको सबैभन्दा यादगार पक्ष हो, र यही श्रोताको मन मस्तिष्कमा रही रहन्छ । धुन सरल वा जटिल हुन सक्छ। अनि जटिल संरचनामा मेलोडीका तीन मुख्य मापदण्डहरू मध्ये एक जसले ध्वनि र तालको साथसाथै ध्वनि र बीटहरूको सङ्कलनबाट संगीत बनाउँछ। यो सम्भवतः संगीतको सबैभन्दा सजिलो मान्यता प्राप्त पक्ष हो । संगीतको यहीँ पक्षले मानिसको मनलाई बाँधेर राख्ने गर्छ । अनि त्यो मानवीय संगीत बन्ने गर्छ । यही खुबी नेपथ्यको प्रस्तुतिमा रहने भएकोले यो जनप्रिय बन्दै गएको छ ।

परम्परागत लोक धुनलाई आधुनिक रक धुनसँग मिश्रण गरेर नयाँ लोकलयको धुन बनाउने अग्रगामीका रुपमा परिचित नेपथ्यले आफ्ना फ्युजन लोकलयको संगीतका माध्यमबाट समसामयिक नेपालको चित्रण गर्दै गाँउ बेसी शहर हुँदै विश्व परिक्रमा गर्दै छन् । नेपथ्यका बारेमा अध्ययन गर्दा विदेशी भूमिमा यसको पहिलो प्रस्तुति ईजरायलमा अगस्त २४, २०११ मा भएको देखिन्छ । त्यसपछि अगस्त ०३, २०१३ मा लण्डनदेखि शुरु भएको नेपथ्यको विश्व यात्रामा अगस्त ०८, २०१५ मा पुनः लण्डन, अगस्त २९, २०१५ मा न्यु योर्क, अक्टुबर ०१, २०१५ मा सान फ्रन्सिसको, जनवरी ९, २०१८ मा डालस, सेप्टेम्बर ०१, २०१८ फेरी लण्डन, फरवरी १३, २०२३ मा मेलबर्न, अस्ट्रेलिया हुँदै गत अगस्त ८, २०२३ मा जापानको तोयोसु पिट, अगस्त १२ मा फुकुओका अगस्त १७ मा ओसाका मा आफ्नो प्रस्तुति पस्केर नेपथ्य अक्टुबर ८ मा क्यानडाको टोरन्टोमा आउँदै छन् ।

आफ्नो साँगीतिक यात्रामा पहिलो एलबम ‘नेपथ्य’ देखि पछिल्लो ‘भटभटे’ सम्म आइपुग्दा नेपथ्यले दर्शक÷श्रोतालाई आफ्नो संगीत कर्ममा मात्र नबाधेर संगीतसँगै नेपालका मौलिक भाकाहरुलाई आफ्नो बेग्लै शैलीमा गाँउबेसीका स्रोताहरुका माँझ पुर्याउँदै आएको छ । मध्य कर्णालीको ‘स कर्णाली’, धौलागिरी हिमाल आसपास गाइने ‘शिरफूल शिरैमा’, पूर्वी नेपालको हाक्पारे भाका ‘कोशीको पानी’ गीतमा नयाँ फ्यूजन गरेर देश विदेशका नेपालीहरुलाई सुनाउदै आईरहेका छन । रसुवाको हेलम्बु र सिन्धुपाल्चोक क्षेत्रमा गुञ्जिने ‘भेडाको ऊन जस्तो’ गीत नेपथ्यको ‘ट्रेडमार्क गीत’ भन्दा फरक पर्दैन । नेपथ्य क्षेत्रगत भाकामा मात्र सीमित नरहेर पुरानो अजर अमर संगीतमा समेत नयाँपन थप्दै यसलाई पुस्तान्तरण गर्ने दायित्वमा उसले अग्रभागबाट नेतृत्व गरिरहेको देखिन्छ । यसैले भन्न सकिन्छ, मौलिक भाकालाई नेपथ्यले पुस्तान्तरण गरिहेको छ । नेपथ्य यस क्रममा नेपालको भौगोलिक विविधतालाई समेटेर देशको मौलिक संस्कृतिको प्रचार गर्न सफल भएको देखिन्छ । उहिले लाहुर जाने क्रममा गाइने ‘नैना ताल’ को रिभाइभ भएपछि युवापुस्तामा गीत लोकप्रिय बनिरहेको छ । पाँच दशकअघि फेवाताल आसपास गुञ्जिने ‘तालको पानी’ गीत झ्याउरे रक फ्यूजनमा अहिले पार्टी र पिकनिकहरुमा खुबै सुनिन्छ । गोर्खा मनकामना र त्रिशुली नदीको किनारमा सीमित ‘जोगले हुन्छ भेट’ अहिले देशभर स्रोतामाँझ फैलिएको छ । राष्ट्रिय भावनाले ओतप्रोत गीतहरुलाई नयाँ धुनमा सजाएर लोकप्रिय बनाइ दिएका छन् । संगीत कर्ममा नेपथ्यले देशभक्तिलाई पहिलो प्राथमिकता दिन्छन् र देशभक्तिले ओतप्रोत गीतबाट देशप्रतिको माया र आस्था जगाउने आफ्नो दायित्व सम्झिन्छ । तत्कालीन पञ्चायती शासनविरुद्ध आन्दोलनका क्रममा राल्फाली समुहले गाँउ जगाएको ‘गाउँ गाउँबाट उठ’ बोलको गीत नेपथ्यको कन्सर्टमा प्राथमिकतामा परिरहेको हुन्छ । श्याम तमोटको यो गीतलाई रायन र रामेशको गायनले एउटा बेग्लै उँचाईमा पुर्याई दिएको थियो । अहिलेसम्म १७ भाषामा अनुवाद भएर गाईएको यो गीतलाई २०४६ र २०६४ सालको जनआन्दोलनपछि राष्ट्रिय गीतका रुपमा मान्यता दिलाउन धेरै कसरत पनि नभएको हैन । त्यस्तै देशको वीरता र गाथा बोकेको ‘रातो र चन्द्र सूर्य’ गीत रक फ्यूजन म्यूजिककै कारण यो गीत युवामाँझ निकै लोकप्रिय छ । गोपालप्रसाद रिमालको शब्द रहेको र पहिलोपटक फत्तेमानले गाएपछि अन्य धेरै गायकले आफ्नो स्वर दिएको ‘रातो रगत र सुर्य जङ्गी निसान हाम्रो’ गीतलाई नेपथ्यले प्रसंशाको ऊँचाईमा पु¥याई दिएका छन् ।


मानवीय सेवा नेपथ्य ब्याण्डका अभिन्न अंग का रुपमा रहेको देखिन्छ । त्यसैले त उसका सांगीतिक कार्यक्रम निश्चित लक्ष्य र उद्देश्यका लागि मात्र हुने गर्दछ । गृहयुद्धकालमा आएका एल्बम ‘घटाना’ मा देशमा शान्तिको आवश्यकता बताउने, जनताको भावनालाई प्रकाश पार्नुका साथै श्रोतामा देशभक्तिको भावना जगाउने गीत समेटिएको छ । ‘जुन झै’ गीतले मानवीय जीवनमा शान्तिको आवश्यकताको वकालत गर्दै दाहिने चन्द्रमा परोस्, शान्ति दुबो जस्तै फैलिदैं जाउ, बर(पिपल झैं मेरो देउरालीमा छाउन आउ भन्दै प्रकृतिकरण गर्न खोजेका छन् भने मिर्मिरेमा निस्के जस्तै दिन भरी कर्म गर्दै साँझ घर फिर्न पाउँ भन्दै शान्तिको आव्हन गर्दै तिमी हामी मरेर गए नि, यो देश सधैं रहि रहोस् राष्ट्रि प्रेमको भावना मुखारित गरेका छन् । नेपथ्यले एकातिर संगीतका माध्यमबाट युवा ब्युझाँउने काम गर्दै आएको छ भने नेपाली संगीतमा खडेरो लागेको लोरी सुनाउने प्रथालाई व्युँत्याएर ‘आइजो निदरी’ गीतमार्फत फरक संगीत दिएर दर्शक÷श्रोतामा नयाँ आनन्द भरेको छ ।

नेपथ्यले सदैव संगीतका माध्यमबाट देशको मुहारमा मुश्कान भर्ने काम गर्दै आएको छ । दश वर्षे सशस्त्र युद्धकालमा शान्तिको लागि आग्रह गर्दै देशको दूर दराजमा पुगेर संगीत यात्रा गर्दै शान्तिको आव्हन गर्ने एकमात्र व्याण्ड नेपथ्यले बन्दुकलाई कलममा र पीडालाई संगीतमा बदल्ने आवाज गुञ्याउँदै हिडेको थियो । २०१५ सालको भूकम्पको पीडामा रहेका देशवासीलाई संगीतको मरहम लगाउँदै समर्पण गरेर गीत बनाउने व्याण्ड हो नेपथ्य । दोखला जस्तो दुर्गममा रहेका विद्यालय भवन बनाउन आर्थिक अभाव हुँदा चन्दा संकलन गर्ने काममा नेपथ्यले साथ दिएको थियो ।

२०२१ सालको कोभिद महामारीले उब्जाएर सामाजिक नैरष्यतालाई पन्छ्उँदै नेपथ्यले २०२२ को अन्त्यमा सामाजिक दायित्वबोधसहित देशव्यापी ‘मानवताका लागि संगीत यात्रा’ मार्फत धेरै बृद्धाश्रमका असहायहरुका लागि मानवीय सहयोगका हातहरु अघि बढाएको थियो । साठीको दशकमा देशमा विभिन्न समूहको आन्दोलन चर्किँदा ‘शान्तिका लागि शिक्षा’ कार्यक्रममार्फत नेपथ्यले शान्तिको कामनासहित देशव्यापी यात्रा गरेर शान्तिको सन्देश फैलाउने काम गरेको थियो । ‘रंगीन चरा’, ‘सानो कुरा’, ‘मेरो देश’, ‘आमा’ जस्ता सन्देशमूलक गीतमार्फत शान्तिका लागि निरन्तर खबरदारी गर्दै गएको थियो । नेपाली लोक भाकाका मौलिकता नबिगारीकन आधुनिक गीतको सुर र तालमा नयाँ पुस्ताले समेत छमछमी नाच्ने गरी प्रस्तुति दिन सक्नु नै अमृत गुरुङ र नेपथ्यको सबैभन्दा भिन्न र बलियो पक्ष होला । नेपथ्यले दर्शक÷श्रोताको मनको भावलाई समातेर उनीहरुको उपस्थितिलाई मञ्चमा सहभागितामुलक अनुभव गराउन कहिले माया–प्रितीको गीत गाउँदै ‘छेक्यो छेक्यो देउराली डाँडा’, मा युवा उफार्छन भने कहिले ‘जोमसोमै बजारमा’ भन्दै वृद्धहरुलाई पनि उफ्रन बाध्य पार्छन । अहिले ‘रेशम’ त कहिले ‘यो जिन्दगानी’ भन्दै हाम्रो जीवनको अतीत र यथार्थसँग हामीलाई संगीतबाट जोड्दै जान थाल्छन् । सबैभन्दा रमाइलो कुरा त के छ भने सबै उमेर समूहका, सबै खालका गीत सुन्ने दर्शक–स्रोताले नेपथ्यलाई उत्तिकै मन पराएको देखिन्छ । नेपथ्यको विशेषता भनेको नै गीत र संगीतमार्फत आम जनमानसमा सकरात्मक सन्देश प्रवाह गर्नु हो ।

माटोमो मायाको स्वर बोकेका गायक अमृत गुरुङ्गसँगै किबोर्डमा सुरज थापा, बेस गिटारमा सुबिन शाक्य, ड्रममा धु्रव लामा, लिड गिटारमा निरज गुरुङ्ग र मादलमा शान्ति रायमाझीको तड्कारो उपस्थितिले नेपथ्यको संगीतको शफर निरन्तर चलि रहेको छ । यही संगीत सुन्न आतुर छन् विशाल टोरन्टोका संगीतप्रेमी श्रोता÷दर्शकहरु । त्यसैले आउँ मिलाउँ स्वरहरु नेपथ्यको धुनसँगै ।

प्रतिक्रिया