साहित्यकार रामचन्द्र आचार्यको ‘पूर्वस्मृति’ विमोचित

इनेप्लिज २०८० भदौ ३१ गते १२:०५ मा प्रकाशित

लण्डन । अन्तरराष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतद्वारा आयोजित एक कार्यक्रममा दीर्घ शिक्षासेवी तथा साहित्यकार रामचन्द्र आचार्यद्वारा लिखित पुस्तक ‘पूर्वस्मृति’को विमोचन गरियो । बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले लेखक आचार्यको सो पुस्तक विमोचन गरेका थिए ।

पुस्तक विमोचन गर्दै पत्रकार नेपालीले पाका लेखक आचार्यले पुस्तकमा जीवनका विभिन्न पाटाहरु समेटेकाले पुस्तक सबैलाई प्रेरणाको श्रोत हुने कुरा व्यक्त गरे । विमोचित पुस्तकको बारेमा बोल्दै साहित्यकार गोपी सापकोटाले लेखक आचार्यको पुस्तकले उनको जीवनका पाँच पुस्तालाई समेटेको बताए । त्यस्तै नेपालमा वि.सं. २००७ देखि हालसम्म भएका राजनैतिक घटना र परिवर्तन तथा माओवादी जनयुद्धका बेला गोरखाको जनजीवनको बारेमा पुस्तकमा चर्चा गरिएको पनि बताए ।

पुस्तकका लेखक रामचन्द्र आचार्यले आफूले जीवनको लामो समय शक्ति मा.वि. र गोरखा जिल्लाको शैक्षिक विकासमा लगाएको र आफूले गोरखामा बिताएको समय र परिस्थितिको बारेमा पछि अरुले पनि थाहा पाउन् भन्ने उद्देश्यले पुस्तक लेखेको बताए ।

अन्तरराष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतकी महासचिव जयालक्ष्मी राईले लेखकको लामो जीवनका उकाली ओरालीहरुको अनुभवको संगालोले जो कसैलाई पनि प्रेरणा दिन सक्ने भन्दै नेपालको सामाजिक तथा शैक्षिक क्षेत्रको लागि पुस्तक महत्वपूर्ण भएको कुरा बताइन् ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बिकलचन्द्र आचार्यले पुस्तकमा नेपाली समाजको तत्कालिन अवस्था, शिक्षाको वातावरण तथा यसको जागृतिको लागि गरिएका धेरै कामहरुको बारेमा समेटिएको बताए ।

प्रतिष्ठानका अध्यक्ष आचार्यको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकारहरु हरिसिंह थापा, बाशु शर्मा, केदार सुनुवार संकेत, भरत बास्तोला, निर्मला प्रसाई सापकोटा, खुपेन सुनुवार, डा. राजु श्रेष्ठ, बिमल आचार्य, होम सुनुवार लगायतले आफ्नो मन्तव्य र रचना प्रस्तुत गरेका थिए ।

४१ वर्ष शिक्षा क्षेत्रमा समपर्ण गरेका लेखक रामचन्द्र आचार्यले आफ्नो बाल्यकाल, सेवाकाल र सेवानिवृत्त जीवनमा भोगेका अनेक घटनाक्रमका बारेमा पुस्तकमा प्रस्तुत गरेका छन् । पुस्तकमा करिब आठ दशक अघिदेखि वर्तमान समयसम्मको गोरखा जिल्लाको समाज, शैक्षिक वातावरण तथा जीवनका अनेक अनुभवहरु समावेश गरिएको छ । नेपालको वर्तमान अवस्थाको चर्चा गर्दै लेखकले नेपाली युवाहरु विदेश पलायन भै रहेको सन्दर्भबारे विश्लेषण गर्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

वि. सं. १९९८ सालमा जन्मिएका लेखक आचार्यका दुई निबन्ध सङ्ग्रहहरु पौरखीका पाइलाहरु (२०६४) र भावना (२०७०) प्रकाशित छन् ।

प्रतिक्रिया