गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठको उम्मेदवारी घोषणा

इनेप्लिज २०८० भदौ २९ गते २३:१९ मा प्रकाशित

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । हालका उपाध्यक्ष श्रेष्ठले दुई बर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि शुक्रबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । सो अवसरमा उनले आगामी दुई बर्षको लागि पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरे ।

सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए” बनाउने मेरो प्रमुख उद्देश्य र सर्वोच्च प्राथमिकता हुनेछ,’ उनले भने, ‘एनआरएनएमा विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नुहुने सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई म पद र प्रतिष्ठाका लागि भन्दा पनि संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुंदै आएको छु । विजयी भएर शपथ लिएका दिनदेखि वार्षिक क्यालेन्डर र कार्ययोजना बनाएर सबैको विश्वास जित्नेगरी काम गर्ने संकल्प व्यक्त गर्दछु ।’

अध्यक्षमा उम्मेदवारी घोषणासगै प्रतिबद्धताहरु सार्वजनिक गर्दै श्रेष्ठले दुई बर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने मात्र होइन, गैरआवासीय नेपालीहरुको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको रु १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने पहिलो प्राथमिकतामा राखेको बताए ।

‘जन्मभूमिको विकासका लागि योगदान गर्न चाहने सबै गैरआवासीय नेपालीहरु समेट्ने उद्देश्यले सो कोषमा न्यूनतम २५० डलर लगानीको अवसर प्रदान गर्ने मेरो लक्ष्य छ । गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई पनि लगानी कोषमा समेट्नका लागि आवश्यक कानुनहरुलाई समयानुकूल परिमार्जित तथा संशोधन गर्दै गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन दिनरात प्रयास गर्नेछु,’ उनले प्रतिबद्धता जनाए ।

‘सन् २०३० सम्म १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सहकार्य गर्ने’

अर्थतन्त्र मजबुत बनाउने सवालमा दीर्घकालिन योजना र महत्वाकांक्षी सपनाहरु देख्नुपर्छ भन्ने मान्यता अनुरुप सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन एउटा स्पष्ट खाकासहित संघले नेपाल सरकार तथा नेपालको निजी क्षेत्रसंग सहकार्य गर्ने पनि उनले प्रतिबद्धता जाहेर गरे ।

संस्था स्थापनादेखि नै प्रवासी नेपालीहरुको मुद्दामा सक्रियतापूर्वक काम गरेको उल्लेख गर्दै उनले विदेशमा आर्जन गरेको ज्ञान, सिप, प्रविधि र पुँजीलाई स्वदेशको विकास र समृद्धिका लागि उपयोग गर्न नेपाल सरकारसंग सहकार्य गरी श्रम तथा सिप बैंक स्थापना गर्ने प्रतिबद्धता जनाए । वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको निराकरणमा सारथी बन्ने उल्लेख गर्दै अध्यक्षका उम्मेदवार श्रेष्ठले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्याउने व्यवस्था मिलाउन पहल गर्ने, श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउने दृढता व्यक्त गरे ।

साथै नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसंग समन्वय गरी १० करोडको श्रमिक कल्याण कोष खडा गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
आफ्नो दुई बर्षे कार्यकालमा स्थायी वासिन्दा (पीआर) भई विदेशमा बसेका नेपालीहरुका सम्वन्धमा संविधानको धारा २९१ मा राखिएको विभेदकारी प्रावधान संशोधनका लागि पहल गर्ने र एनआरएनएको लामो समयको पहलपछि गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने अवसर मिलिरहेकाले सोलाई कार्यान्वयनलाई सहज बनाउन पहल गर्नुका साथै गैरआवासीय नेपालीहरु तथा भूपू गोर्खाहरुको वंशजको नागरिकताको निरन्तरताको लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
विदेशमै बसेर जन्मभूमि अर्थात मातृभूमिको प्रवर्द्धन र प्रचारमा गैरआवासीय नेपालीहरुको सक्रिय सहभागिताका लागि ‘एक साथी नेपाल पठाउँ’, ‘नेपाली भाषा र संस्कृति जोगाऔं’ अभियान र नेपाल फेस्टिवल जस्ता कार्यक्रमलाई संसारभर सञ्चालन गर्ने लक्ष्य लिएको पनि उनले सुनाए ।

उक्त अवसरमा संघका केन्द्रीय उपाध्यक्षहरू नरेन्द्र भाट तथा राज रेग्मी, प्रवक्ता सोम सापकोटा, सचिवद्वय प्रवीण गुरुङ तथा गंगाधर गौतम, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, पूर्व सल्लाहकार हरिबोल भण्डारी, पूर्व आइसीसी सदस्यहरू बिमल सुवेदी, अर्जुन श्रेष्ठ, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी लगायतले शुभकामना दिएका थिए भने महासचिव डा केशव पौडेलले स्वागत गरेका थिए।

यसैगरी संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष जिबा लामिछाने, पूर्व अध्यक्षहरू भवन भट्ट, कुमार पन्त, अध्यक्ष कुल आचार्य, पूर्व संरक्षक राम प्रताप थापा, इन्द्रा बन, संस्थापक महासचिव भिम उदास पूर्व उपाध्यक्ष रामेश्वर शाहले शुभकामना संदेश पठाएका छन् । यसै गरी जुमबाट जोडिएका केन्द्रीय उपाध्यक्षहरू दुर्गा आचार्य तथा नारायण आचार्य, युवा उपाध्यक्ष हिमाल गुरुङ, सचिव राजन त्रिपाठी, कोषाध्यक्ष सुनील शाह, एनसीसी अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडे, पूर्व सल्लाहकार डा यादव पण्डित, पूर्व वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थ लगायतले शुभकामना दिएका थिए।

प्रतिक्रिया