टेक्ससमा निधन भएका भट्टको शवको स्थिति हेर्दा नेपाल पठाउन असम्भव,टेक्ससमै अन्तेष्टी गरिने

इनेप्लिज २०८० भदौ २७ गते २:०९ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा सन् २०१६ मा विविधता चिट्ठा(डिभी लटरी) परेर आएका नेपाली मूलका २७ बर्षिय आशिष भट्टको निधन प्रहरीको प्रतिवेदन अनुसार सेप्टेम्बर १ मा भएको पुष्टि भएको छ ।

प्रहरीको प्रतिवेदन अनुसार सेप्टेम्बर १ मा आफै प्राण त्याग गरेता पनि ५ दिन सम्म अर्थात् सेप्टेम्बर १ देखि सेप्टेम्बर ५ सम्म उनको शव आवास गृहको कोठामा मै फेला परेको थियो ।

टेक्ससको अर्भिंगमा आफनै कोठामा मृत भेटिएका आशिष भट्टको मुत्यु भएको पाच दिन पछि मात्रै प्रहरीले जानकारी प्राप्त गरेको थियो । उनि एक्लै कोठामा बस्ने गरेको र नेपाली समुदायसंग सम्पर्कमा नभएका कारण उनको दुखद समाचार नेपाली समुदायले ८ दिनमा मात्र प्राप्त गरेका थिए । अर्थात् नेपाली समाज टेक्ससले सेप्टेम्बर ८ का दिन मात्र उक्त घटना बारेमा जानकारी प्राप्त गरेको थियो ।

स्व भट्टका एक स्पानेली महिला साथीले सेप्टेम्बर ५ साँझ ५ बजे तिर प्रहरीलाई खबर गरेकी थिइन् । गत सेप्टेम्बर ११ सोमबारका दिन नेपाली समाज टेक्ससका विजय भुषाल, आशिषका आफन्त सृजन भट्ट अर्भिंग प्रहरी बिभागमा पुगेपछि प्रहरीले केही थप जानकारी दिएका थिए ।

सोमबार मात्रै आशिषको शब ड्यालसको दाह संस्कारगृहमा ल्याइएको छ । आमाबुवाको एक मात्र छोरा र बुवा बिरामी समेत रहेकोले छोराको मुख हेर्ने अन्तिम इच्छा रहेकोता पनि संस्थाले शव नेपाल पठाउन कोसिस गर्दै गर्दा शव परीक्षण गर्ने निर्देशकले शवको स्थितिको कारण नेपाल नलैजान सिफारिस गरेको छ ।

नेपाल नपठाउन सिफारिस गरे पछि शब नेपाल पठाउने अवस्था नभएपछि आशिषका नेपालमा रहेका परिवार दिदीबहिनि र अष्टेलियामा रहेका परिवारका सदस्यहरुको अनुरोधमा टेक्सस राज्यको ड्यालसमै अन्तेष्टि गरिने भएको छ ।

एनएसटिका बिजय भुषालका अनुसार नेपाल शव पठाउन नपरे पछि संचालनमा ल्याइएको गो फण्डमीमा संकलन भएको १५ हजार ६ सय ८१ डलर उनको अन्तेष्टि र बाकी रहेको रकम नेपालमा आफ्ना परिवारजनलाई हस्तान्तरण गरिने भएको छ । गो फन्ड बन्द गरिएको छ ।

स्व भट्ट अर्बिंग शहरमा बसोबास गर्दै आएका आमाबुवाका एक्लो छोरा र अबिबाहित रहेका थिए ।

प्रतिक्रिया