स्वर्गीय नेता सुवास नेम्वाङको अन्त्येष्टि हुने दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको आकस्मिक बैठक एमालेका उपाध्यक्ष तथा संविधानसभा सदस्य नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गर्दै सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेम्वाङका दुई छोराहरु विदेशमा रहेकाले उनीहरु आएपछि अन्तिम संस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ । छोराहरु आइपुगेमा बुधबार अन्त्येष्टि हुने छ भने सोही दिन सार्वजनिक बिदा पनि हुने बताइएको छ ।
नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिएका छन् ।
एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्रीले नेम्वाङलाई श्रद्धाञ्जलीको फूल चढाएका हुन् । साथै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी,एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल ,गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतका शीर्ष नेताका साथै विभिन्न दलका नेताहरु र शुभेच्छुकले नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।
नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो ।
सामाचार/तस्बिर कृतज्ञता : रातोपाटी
प्रतिक्रिया