आगामी अधिवेशनमा देउवा समूहबाट सभापतिको उम्मेदवार बन्ने : डा. कोइराला

इनेप्लिज २०८० भदौ २० गते १२:४६ मा प्रकाशित

चितवन, नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने दाबी गरेका छन् ।

भरतपुर विमानस्थलमा बुधबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस पूर्वमहामन्त्री यस विषयमा टुंगो भने लागिनसकेको जानकारी दिए ।

विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि केन्द्रीय सदस्य कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईं हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ, किन छैन ?  नहुने भन्ने के छ ? ’

पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ थियो ।

तर, यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको उनले बताए । उनले भने, सभापतिजीले केही नभनेको भएपनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ ।

पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु ।’

प्रतिक्रिया