कर्णालीमा माओवादी ‘जवान’ पार्टी बन्छ : मातृका यादव (अन्तरवार्ता )

इनेप्लिज २०८० भदौ २० गते ६:०६ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका प्रसाद यादव यतिबेला कर्णालीमा छन् । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने मुल नाराका साथ माओवादीले थालेको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत कर्णालीको कमाण्ड गरिरहेका यादव अन्य प्रदेशको तुलनामा कर्णालीमा माओवादीको स्थिति बलियो रहेको दाबी गर्छन् ।

यादवले यो बिचमा हिमाली जिल्ला हुम्लासम्म पुगेर पार्टीको बस्तुस्थिति बुझिसकेका छन् । कर्णालीमा आएदेखि नै नेता, कार्यकर्ता, जनवर्गीय संगठन, घाइते, अपाङ्गता भएका परिवारहरुलाई छुट्टा–छुट्टै भेटेर उनले छलफलसमेत चलाए । सबै बुझ्दा कर्णालीमा माओवादीको जनाधार बलियो रहेको र तीन महिनाको अवधिमा कर्णालीमा माओवादी अझ रुपान्तरित भएर जवान पार्टी बन्ने यादवको दाबी छ ।

यादवसँग कर्णालीमा माओवादीको स्थिति र तीन महिने अभियानको सन्दर्भमा रहेर कुराकानी गरेको छ । प्रस्तुत छ, यादवसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईं मधेसको नेता, अहिले इन्चार्ज बनेर कर्णालीमा आउनुभएको छ, कस्तो पाउनुभयो कर्णालीमा माओवादीप्रति जनताको बुझाइ ?

देशैभरिको तुलना गर्दा कर्णालीमा माओवादीको भूमिका अग्रणी स्थानमा छ । अहिले पनि जनाधार, कार्यकर्ताको संख्या लगायत सबै हिसाबले कर्णाली प्रदेशमा माओवादी अगाडि छ । यद्यपि बिचमा जनतासँग माओवादीको सम्बन्ध केही टुटेको अवस्था छ ।

हामी माओवादीहरुमा केही समस्या छन् । १० वर्षे जनयुद्धमा जनतासँगै बस्ने, जनतासँगै खाने, जनताको समस्यामा सहयोग गर्ने, हातेमालो गर्ने हुन्थ्यो । अहिले आएर हामीमा थोरै शासकीय प्रवृत्ति हावी भएको छ, नेताहरु सीमित कार्यकर्ताको घेराभित्र बस्न थाले । आम जनताको बिचमा नजाने भएको छ । नेताहरुमा प्रशंसक बढी रुचाउने, आलोचनादेखि पर भाग्ने प्रवृत्ति मौलायो ।

यी यावत् कारण जनता हामीसँग अलिक रिसाएका छन् । किनभने हामी माओवादीसँग जनताको आश बढी थियो । आशा बढी हुनेसँग रिसाउनु पनि स्वाभाविक नै हो । यिनीहरुले व्यवस्था बदले, अवस्था पनि बदल्छन् भन्ने आशा जनतामा थियो । तर, हामीले संघर्ष जारी राखे पनि त्यसमा केही कमजोरी भएका छन् ।

अहिले जनताको डिमाण्ड हामीबाट बदल्ने नै हो, जोबाट आशा बढी हुन्छ, नभएपछि जनता रिसाउँछ नै । यो खालको समस्या अहिले छ । त्यसलाई समाधान गर्न र अझ नयाँ तरिकाले रुपान्तरण हुने दिशामा हामी अघि बढिसकेको अवस्था छ । त्यही उद्देश्यरुप ‘जनतासँग विशेष रुपान्तरण अभियान’ सञ्चालनमा ल्याइसकेका छौँ । छोटो तयारीमा देशैभरि एकै साथ उद्घाटन भएको छ । यसले देशैभर, अझ कर्णालीमा माओवादीले नयाँ रुप लिने छ ।

यो अभियानले आम जनता, नेता, कार्यकर्ताहरुमा नयाँ आयम थपेको छ । रुपान्तरणको अभियानमा नलागेसम्म पार्टी अगाडि बढ्न सक्दैन ।

माओवादीप्रति जनतामा वितृष्णा बढ्यो, नेताहरु सहरमुखी भए, जनताको अवस्था बदलिएन भन्छन्, यो तीन महिनाको अभियानले जनतालाई आकर्षित गर्न सकिएला र ?

अभियानले जनता, नेता, कार्यकर्ता सबैमा नयाँ उत्साह पैदा गरेको छ । पहिलेको जस्तै माओवादी अब बन्छ भन्ने आशामा जनता छन् । उदाहरणका लागि केही दिनअघि समाजवादी मोर्चाको सन्देश सभामा ठुलो संख्यामा कार्यकर्ता, जनताको उपस्थिति थियो ।

त्यो पनि थोरै सल्यान र सुर्खेतको मात्रै थियो । अन्य जिल्लाबाट हामीले बोलाएका थिएनौँ । यसले पनि के देखाउँछ भने जनताको आशा अझै पनि हामीप्रति छ । यसले के संकेत दिन्छ भने माओवादी रुपान्तरित हुन्छ । दिल, ज्यानले त्यो अभियानमा लाग्छ र रुपान्तरणको सुनौलो अभियानमा हामी अग्रसर हुन्छौँ भन्ने लागेको छ ।

भन्नेबेलामा कर्णालीलाई आधार ईलाका हो भन्नुहुन्छ तर, कर्णालीमा माओवादीले जनाधार गुमाइरहेको छ, तपाईंको विचारमा यस्तो किन भएको होला ?

कर्णालीमा माओवादीको आधार बलियो नै छ । पार्टी अध्यक्ष प्रचण्डले प्रशिक्षणको बेलामा ‘समाजवादी क्रान्तिको’ मुख्य आधार क्षेत्र पनि कर्णाली हुन्छ भन्नुभएको छ । त्यो अनुसारको सम्भावना भएको प्रदेश हो कर्णाली । सबै चिज छ, त्यसलाई हामीले सदुपयोग गर्नुपर्ने छ ।

हामी जनताका सेवक हौँ भन्ने सन्देशसहित आम जनतालाई संगठित गर्ने, नयाँ भर्ना गर्ने, सबैलाई संगठित गर्ने अहिलेको जिम्मेवारी हो । हामी के गर्छौं भने सदस्यता दिन्छौँ, जिम्मेवारी दिदैनौँ । मान्छेलाई पार्टीका समावेश गराउने तर, जिम्मेवारी नदिने हुँदा समस्या आएको हो । त्यसैले अब सबैलाई काम दिने, सबै आन्दोलनको काममा अगाडि बढ्ने गरी अग्रसर हुन्छौँ ।

उत्पादनको क्षेत्र होस्, विकास निर्माणमा माओवादी स्थापित हुन्छ, त्यो खालको आधार पनि छ । कर्णालीको केही दिनको बसाइले नै मैले त्यो खालको अनुभूति गरेको छु ।

अबको तीन महिनापछि कर्णालीमा माओवादी कस्तो पार्टी बन्छ ?

माओवादी अलिअलि बिग्रिन थालेको थियो । त्यसबाट फर्केर साँच्चिकै माओवादी पार्टी बनेको छ भनेर हामी स्थापित गर्छौं । कर्णालीमा माओवादी रुपान्तरितसहितको ‘जवान’ पार्टी बन्छ ।

यो तीन महिनाको अवधिमा माओवादीले गर्ने कामचाहिँ के–के हुन् ?

नारा नै छ हाम्रो ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ । सबै प्रकारका उत्पीडित जनसमुदायको घरघरमा हामी पुग्छौँ । खासगरी हाम्रो सहिद परिवार, घाइते, अपाङ्ग, बेपत्ता परिवार छन् । उहाँहरु हाम्रो मुल पुँजी हो ।

उहाँहरु जति रिसाएको भए पनि हामी गएर उहाँहरुको समस्याहरु बुझ्ने, समाधान गर्नतर्फ लाग्छौँ । अर्कोतर्फ हामीले अन्य पार्टीका मान्छेलाई यो बताउन जरुरी छ कि, ‘अहिले जुन खालको राजनीतिक परिवर्तन आएको छ, जुन विकास भएको छ, त्यो माओवादीको कारण हो ।’ किनभने यो देशमा संघीयता नआएको भए गाउँ–गाउँमा अधिकार पुग्थेन । गाउँमा जुन सरकार बनेका छन्, ती नभएको भए अहिलेको जस्तो विकास हुने थिएन ।

हामीले त्यो कुरा बताउनुपर्छ । दलितको लागि, महिलाको लागि माओवादी लड्ने तर, मान्छेहरु कांग्रेस, एमालेमा जाने भयो । जो अहिलेको परिवर्तनको साँच्चिकै पक्षधर होइन, जनता उतैतिर जाने भइरहेको छ ।

अहिले विभिन्न खालका नयाँ पार्टी छन् । उनीहरुले अनावश्यक नारा दिइरहेका छन् । त्यसको मुख्य कारण भनेको हामी सहरमुखी भयौँ । हामी जनताको बिचमा गएनौँ । यो अभियान अन्तर्गत सबै जनताको बिचमा जान्छौँ अनि वास्तविक कुरा बताउँछौँ ।

माओवादीको बारेमा धेरै भन्नु पर्दैन खाली हामी सुध्रेर आएका छौँ भनेर बुझाउनुपर्ने छ । हामीमा अहम् पलाएको थियो, थोरै शासकीय प्रवृत्ति पलाएको थियो, त्यो होइन अब हामी जनताको सेवक हो भन्ने तरिकाले जनतालाई कन्भिन्स गर्छौँ ।

यो अभियानको क्रममा हाम्रा शुभचिन्तकलाई जोड्ने, पार्टीभित्र पनि को सक्रिय छ, को छैन भन्ने विषयमा छलफल हुन्छ । अहिले के भएको छ भने काम गर्ने पनि उस्तै नगर्ने पनि उस्तै । हामी अब मूल्याङ्कन सिस्टमबाट लाग्छौँ ।

जो काम गर्छन्, त्यसको मूल्याङ्कन गर्छौं । निष्कृय भएका साथीहरुलाई सक्रिय बनाउने र सक्रिय हुन नचाहने साथीहरुलाई तपाईं पार्टीको समर्थक भएर बस्नुस् भन्छौँ । संगठनलाई सुदृढ बनाउने छौँ ।

हामीले अहिलेदेखि नै कुराले मात्र होइन, व्यवहारले पनि विकास निर्माणमा सक्रिय हुने, श्रमदान गर्ने अभियानमा लाग्नुपर्छ । माओवादीको बानी बिग्रिएको छ । घरको पनि काम नगर्ने पार्टीको पनि काम नगर्ने, नेता छु भनेर घरको मान्छेलाई पनि ठग्ने अनि पार्टीमा पनि ठग्ने काम भइरहेको छ । त्यसैले सबैलाई श्रममा जोडेर स्कुल बाटोघाटो, पुलहरुमा श्रमदान गरिने छ, जहाँ सरकारले बजेट हालेको छैन ।

अर्को, पार्टीका लागि पनि श्रम गर्ने नीति लिन्छौँ । ठेकेदारहरुले काम लिएका छन्, ढिलासुस्ती गरिरहेको छ भने सम्बन्धित निकायलाई राखेर दबाब सिर्जना गरिने छ । सुकुमबासी समस्या छ, उनीहरुलाई संगठित गर्ने । अहिले प्रचण्डजीको सरकार छ, जग्गा वितरण किन भइरहेको छैन भन्ने भइरहेको छ । जोचाहिँ जग्गा वितरण गर्ने कामको विरोधी छ, उसैले त्यो कुरा गरिरहेको छ । त्यो अधिकार स्थानीय तहलाई आएको छ । यी कुराहरु जनतालाई बुझाउनुपर्ने छ ।

सुशासनको विषयमा माओवादीले कुरा बढी गर्‍यो तर, त्यो अनुसार काम गर्न सकिरहेको छैन भन्ने छ नि ?

सुशासनको विषयमा हामी बलियो ढङ्गले लागिरहेका छौँ । अहिले सुशासन प्रमुख प्राथमिकतामा रहेको विषय हो । जनताले बिना घुस सेवा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामी यो विषयमा पनि वृहत् छलफल र जनतालाई बुझाउँछौँ । हाम्रा कदमहरु यो अभियानको समयमा त्यतातर्फ पनि केन्द्रित हुन्छन् ।

यो खाली माओवादी सुधार्नेमात्र होइन् क्या ! जनताको कमाई खानेहरु सुध्रिन जरुरी छ । जनताको मालिक होइन, सेवक हौँ भन्ने कुराको हेक्का राख्नुपर्छ । यदि त्यसो नभए हामी नङ्ग्याउँछौँ जनताको अगाडि । समग्रमा यो अभियानले कर्णालीमा पार्टी बदलिन्छ नै, समग्र देशमा पनि माओवादी बदलिन्छ ।

तपाईं मधेसको नेता तर, त्यहाँ पार्टीमा ठुलो समस्या छ, भन्छन् नि ?

मधेसमा विविध कारणले केही समस्या बनेको हो । अहिले त्यतातिर नजाउँ । सबैतिर रुपान्तरण अभियान थालनी भएको छ । मधेसमा पार्टी नै थिएन । आम जनताको, कार्यकर्ताको कमी थिएन, तर पार्टी थिएन । अहिले भइरहेको समस्याको जिम्मेवारी सबैले लिनुपर्छ । मैले कति लिनुपर्छ र अरु कसले कति लिनुपर्छ त्यो समीक्षाको विषय बन्ला । जिम्मेवारी लिनुपर्छ नै । त्यो बहसको विषय हो र मैले उठाउँदै आएको छु । 

रातो पाटीबाट

प्रतिक्रिया