पहिलोपटक भारतसँग खेल्दै नेपाल

इनेप्लिज २०८० भदौ १८ गते ३:०५ मा प्रकाशित

काठमाडौ, १६औँ संस्करणको एसिया कप क्रिकेटमा नेपालले आज भारतका सामना गर्दैछ । नेपाल र भारतबीचको खेल दिउँसो ३ः१५ देखि श्रीलंकाको पल्लेकेलेमा सुरु हुनेछ ।

नेपालले सातपटकको एसिया कप विजेता भारतसँग पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले पहिलो भेटमै भारतविरुद्ध सम्झनलायक प्रदर्शन गर्न चाहन्छ ।

यदि आज जीत निकाल्न सके नेपालले सुपर फोरमा स्थान बनाउनेछ । हारेको खण्डमा चाहिँ नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।

भारतका लागि पनि आजको खेल महत्वपूर्ण छ । ऊ नेपालविरुद्ध सहज जीत निकाल्दै सेमिफाइनलको यात्रा गर्ने सोचमा छ । भारतले पहिलो खेलमा वर्षाका कारण पाकिस्तानसँग अंक बाँडेको थियो ।

भारतीय टिमका स्टार बलर जसप्रित बुमराह नेपालविरुद्ध खेल्ने छैनन् । उनी व्यक्तिगत कारण भारत फर्किसकेका छन् । उनको स्थानमा मोहम्मद शामीले मौका पाउने सम्भावना प्रबल छ ।

यस्तै, नेपालले भने प्लेइङ–११ मा परिवर्तन गर्ने सम्भावना कम छ । पहिलो खेलमा सन्तोषजनक प्रदर्शन गर्न नसके पनि नेपाल अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिने योजनामा रहेको हो ।

भारतविरुद्धविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटपिकर( , रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

प्रतिक्रिया