माओवादी अध्यक्ष दाहालले गरे ‘जनतासँग माओवादी’ अभियानको शुभारम्भ

इनेप्लिज २०८० भदौ १६ गते ९:३० मा प्रकाशित

काठमाडौं, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको शुभारम्भ गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज अभियानको उनले शुभारम्भ गरेका हुन् ।

राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकाङ्क्षालाई ठोस रूपमा सम्बोधन गर्न सङ्गठन निर्माण र जनपरिचालनका कार्यक्रम बनाई अभियानका रूपमा सञ्चालन गर्ने पार्टीले निर्णय गरेको अध्यक्ष दाहालले चर्चा गरे ।

देशको ६ हजार ७ सय ४३ वडाहरूबाट एकैसाथ अभियानको शुभारम्भ भएको अध्यक्ष दाहालले जानकारी दिए ।

उनले भने , “संविधानमा उल्लेखित समाजवाद निर्माणको आधार खडा गर्ने, सुशासन, सामाजिक न्याय र सम्बृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्ने जिम्मेवारी हाम्रै काँधमा छ ।

पार्टीलाई जनतासँग जोड्दै समाजवादको आधार तयार गर्ने सङ्कल्पका साथ तीन महिने अभियान सुरु गरिएको उनले बताए ।

आजको दिन पार्टीको जीवनका लागि, देशको उज्ज्वल भविष्यका लागि र जनताका सपना पूरा गर्ने ऐतिहासिक दिन समेत भएको उहाँलेअध्यक्ष दाहालले चर्चा गरे ।

जनसम्बन्धबाट पार्टी विमुख हुँदैजाने परिस्थितिसँगै सिर्जना भएको सङ्कटलाई चिर्न अभियान सफल हुने विश्वास उनले व्यक्त गरे ।

अध्यक्ष दाहालले भने , “नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरूले पुनः शिर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा हामी यो अभियानको सुरुआत गर्न गइरहेका छौँ ।”

इतिहासको यही अत्यन्तै गम्भीर, सङ्क्रमणकालीन र संवेदनशील जिम्मेवारी पूरा गर्ने मोडमा हामी छौँ ।”

“यो अभियानले एकातिर आजको युगको नेतृत्व गर्ने, विचार निर्माणका लागि आधार तयार गर्नेछ भने अर्कोतर्फ नेतृत्वका लागि आवश्यक क्रान्तिकारी र सबल सङ्गठनको निर्माण गर्नेछ” अध्यक्ष दाहालले भने , ”अभियानबाट जनतामाझ पुगेर आजको युगसापेक्ष अग्रगामी सभ्य राजनीतिक संस्कार र चिन्तनको समेत विकास गर्न मद्दत पुग्नेछ ।“

मेरो नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको छु अध्यक्ष दाहालले भने , “इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू सरकारले अघि बढाएको छ ।

एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदैआएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छ ।”

राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको अध्यक्ष दाहालको भनाइ छ ।

“हामी आफैले गरेका राम्रा काम पनि जनतासम्म लग्न सकेका छैनौँ । यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरूलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीचको एकता सुदृढ गर्नेछ” उनले भने ।

सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भीकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मीको पर्दाफास सरकारले गरेको अध्यक्ष दाहालले प्रस्ट पारे ।

मिटरब्याज पीडितहरूको पक्षमा बनाइएका कानून, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवम् स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क शय्याको व्यवस्थादेखि स्वास्थ्यक्षेत्रमा सुधार र सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको समेत अध्यक्ष दाहालले चर्चा गरे ।

लघुवित्त पीडितहरूको आन्दोलनलाई सरकारले सम्बोधन गर्न पहल गरेको, इतिहासमा पहिलो पटक पाठ्यपुस्तक समयमै विद्यालयमा पठाइएको, किसानहरूलाई रासायनिक मल समयमा उपलब्ध गराइएको, विपन्न र असहायका निम्ति निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी तुल्याइएको, आर्थिक सुधारलगायतका कामहरूले सरकारको सङ्कल्प र प्रतिबद्धता व्यवहारमा रूपान्तरण भएको पनि अध्यक्ष दाहालले बताए ।

त्यस्तै, वित्तीय तथा मौद्रिक नीतिको सन्तुलनमार्फत निजी क्षेत्रलाई समेत विश्वासमा लिई सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र बिस्तारै लयमा फर्किन सुरु गरेको पनि उनले बताए ।

उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिगरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील रहेको उनको भनाइ थियो ।

सोहीअनुसार नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको, २०८० असार मसान्तसम्म शोधनान्तर स्थिति २९० अर्ब ५२ करोड रुपियाँले बचतमा रहेको, विदेशी विनिमय सञ्चिति गत वर्षको सोही अवधिको तुलनामा २६।६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपियाँ पुगेको पनि प्रधानमन्त्रीसमेत रहेका दाहालले भने ।

यसैगरी सरकारले चालेका जनमुखी कदमहरूले जनतामा परिवर्तनप्रति असन्तोष बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने तथा प्रमुख राजनीतिक दल र नेताहरूलाई बदनाम गरी राष्ट्रलाई नै असफल बनाउने षडयन्त्रहरूलाई गतिलो जवाफ दिएर जनतामा आशा जगाउने काम सरकारले गरिरहेको उनले बताए ।

त्यस्तै, परिवर्तनलाई नरुचाउने, इतिहासको रथलाई उल्टो दिशामा लैजान खोज्ने र सरकारको लोकप्रियताबाट अत्तालिएका तत्त्वहरूले सरकारविरुद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने, यो वा त्यो रूपमा सरकारका कामको प्रशंसा र चर्चाबाट जनताको ध्यान विमुख गर्ने षड्यन्त्रहरू भइरहेको पनि अध्यक्ष दाहालले दाबी गरे ।

अध्यक्ष दाहालले भने , “सरकारलाई काम गर्न नदिन विभिन्न कोणबाट भइरहेका यी हर्कहरू गलत त छन् ।

यो घेराबन्दीले झनै जिम्मेवार ढङ्गले सबल, सक्षम भएर क्रान्तिकारी आन्दोलनमा अविचलित रूपमा अघि बढ्नुपर्ने कार्यभार समेत हाम्रोसामु थपिदिएको छ । हाम्रो अस्तित्व हामीमा नै निर्भर छ भन्ने कुरा बिर्सिनु हुँदैन ।”

तीन महिने अभियानले सरकारले अघि बढाएको पहलकदमी र पार्टीले अघि सारेको अभियानलाई लक्ष्यमा पुगाउन ठोस भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरे ।

नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको पनि अध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया