नेपालले आज एसीया कपमा डेब्यू गर्दै, पहिलो खेलमा पाकिस्तानसँग भिडन्त

इनेप्लिज २०८० भदौ १३ गते २:०३ मा प्रकाशित

काठमाडौ, नेपालले आज एसीया कप क्रिकेटमा डेब्यू गर्दैछ । डेब्यू खेलमा नेपालले आइसीसी ओडीआई वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग खेल्दैछ ।

नेपाल र पाकिस्तानबीचको प्रतिस्पर्धा अपरान्ह ३ः१५ देखि पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालले पहिलोपटक पाकिस्तानसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

नेपाल पहिलो भेटमै उत्कृष्ट प्रदर्शन गर्दै आयोजक पाकिस्तानलाई स्तब्ध पार्न चाहन्छ । पाकिस्तान नेपाललाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्ने सोचमा छ ।

नेपाली टोली रोहितकुमार पौडेल तथा पाकिस्तानी टोलीको बाबर आजमको कप्तानीमा मैदानमा उत्रनेछन् । हालसम्म पाकिस्तानले दुई पटक एसीया कपको उपाधि जितेको छ ।

एसिया कपअन्तर्गत नेपालले दोस्रो खेलमा १८ भदौमा भारतको सामना गर्ने तालिका छ । नेपाल र भारतबीचको खेल श्रीलंकाको क्यान्डीमा हुनेछ ।

भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि एसिया कपको ९ खेल श्रीलंकामा हुन लागेका हुन् ।

प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

प्रतिक्रिया