इस्लामावाद – पाकिस्तानको एउटा पुनरावेदन अदालतले मङ्गलबार इमरान खानको भ्रष्टाचारको अभियोग र तीन वर्षको जेल सजायलाई निलम्बन गरेको छ । उनका वकिल र अदालतका अधिकारीहरूले अत्यधिक लोकप्रिय पूर्वप्रधानमन्त्री इमरान खानको कानुनी विजय भएको बताएका छन् ।
यद्यपि उनले समयमै पुन: सुनुवाई को सामना गर्नुपर्नेछ, तर उक्त निर्णयले ७० वर्षीय खानलाई आगामी संसदीय चुनाव लड्न सक्षम बनाउनेछ। खानले आफूले कुनै नियम उल्लंघन नगरेको दाबी गर्दै आरोप अस्वीकार गरेका छन् ।
इस्लामाबाद उच्च अदालतले पनि खानलाई जमानत दिएको छ, तर अप्रिल २०२२ मा संसदमा अविश्वासको मत मार्फत उनको पदबाट हटाइएपछि ल्याइएका अन्य आरोपहरूको सामना गर्दै उनी रिहा हुनेछन् वा छैनन् भन्ने तुरुन्तै स्पष्ट भै नसकेको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।
खानका वकिल शोएब शाहीनले इस्लामाबाद उच्च अदालतले छोटो मौखिक आदेश जारी गरेको र लिखित आदेश पछि जारी गरिने बताए। खानलाई यस महिनाको सुरुमा अदालतले दोषी ठहर गरी सजाय सुनाएको थियो जसले उनलाई पदमा रहँदा प्राप्त राज्य उपहारहरू बेचेर सम्पत्ति लुकाएकोमा दोषी पाएको थियो।
“आजको अदालतको आदेशपछि इमरान खान फेरि आफ्नो पाकिस्तान तेहरिक-ए-इन्साफ दलको नेतृत्व गर्न हकदार भएका छन्,” खानका अर्का वरिष्ठ वकिल बाबर अवानले निर्णयको घोषणापछि पत्रकारहरूलाई भने।
यस महिनाको सुरुमा पाकिस्तानको निर्वाचन आयोगले खानलाई पाँच वर्षका लागि पदमा उम्मेदवार हुन अयोग्य ठहर गरेको थियो। पाकिस्तानको कानून अनुसार,कुनै पनि दोषी व्यक्ति दलको नेतृत्व गर्न, चुनावमा भाग लिन वा सार्वजनिक पद धारण गर्न योग्य हुने छैन ।
खानका प्रवक्ता जुल्फिकार बुखारीले एक विज्ञप्तिमा अदालतको आदेशलाई स्वागत गर्दै पूर्वप्रधानमन्त्रीलाई पूर्वी पञ्जाब प्रान्तको एटक कारगारबाट रिहा गरिने आशा व्यक्त गरेका छन् जहाँ उनी यस महिनाको सुरुमा पक्राउ परेका थिए।
उनले खानको सफाइको लागि कानुनी लडाई जारी रहने बताए ।
प्रतिक्रिया