“”एन्टि म्यारिज,,,_____

✍️ निलीमा आचार्य २०८० भदौ १० गते २:०३ मा प्रकाशित

म मुक्त छु
स्वाधीन छु
तर मेरो स्वाधीनतालाई
बेरेको छ
घेरेको छ
संस्कारको नाउँमा थोपरेका
काला पट्टीहरूले
शिरदेखि पैतालासम्म
युगौँदेखि मैले मेरा इच्छाहरूलाई
साडीको फुर्कोमा बाँधेर राख्दैआएकी छु
त्यो पुरानो सुटक्यास खोल्नुभने
मक्किसकेको साडीमा
आशाको गाँठो अझै सजीव भइरहेको छ होला
अब ,,,
म मेरा आशाहरूलाई यसरी
मकिएर जान दिने छैन
आजसम्म म छोरी भएर बाचेँ
बुहारी भएर नाचेँ
सासू भए हाँसे
अरू धेरै के के हुँदै
कतिसँग साइनो गाँसेँ
साइनाको लहरै लहरामा बेरिएर
आफैलाई हराउँदै गएँ
त्यसैले अब
म केवल म भएर बाच्न चाहन्छु
केवल म _
अँ , मैले सन्धि गरेकी छु यो युगसँग
“एन्टिम्यारिज” को
तपाईंको नजरमा
यो समाज विरोधी काम हुनसक्छ होला
अथवा समाजको नजरमा यो घोर अपराध होला
तापनि मैले गरेकी छु
आफैले आफैलाई चिन्न
आफैले आफैलाई बुझ्न्
“एन्टिम्यारिज” सोच पालेकी छु
भन्नुहोस् त ,
मान्छेलाई त्यो बेला सहारा चाहिन्छ ?
जुन बेला शरीरमा
उद्यम हुन्छ
जोस हुन्छ
केही गर्ने जाँगर हुन्छ
अवश्य चाहिन्छ
हे ,,!!
देशका उद्यमी युवती
के तिमीहरूलाई आत्मसुरक्षाको मन्त्र आउदैन
या सक्दैनौ आफैलाई पाल्न?
किन आफ्नो तन-मन अर्कालाई सुम्पिन्छौ
जब तिमी शक्तिशाली छौ
आफ्नो उद्यमशील मनलाई
कसैको भरिया बन्न किन दिन्छौ
कुनै अपरिचित मान्छेको घरको
कोतेधन्दा गर्ने रहर पाल्नु भन्दा
स्वावलम्बीको पाठ पढ्न निको
तिमी परजीवी होइनौ
पराश्रयी पनि होइनौ
तिम्रो समाजहितकारी मनलाई
कुनै पुरुषको सेवामा नियुक्त नगर
बरु देशको सेवा गर
चाहिन्छ दर्जा तिमीलाई पतिव्रता, संस्कारी या गृहलक्ष्मीको
तिमी तिम्रै नाउँमा ठिक छौ
किनकि तिमी नारी हौ
नरको आधी होइनौ
देशकी छोरी हौ
तिमीले सन्धि गर्दा
बढ्दैन समाज
नबढ्न देऊ
यो “समाज मसान बन्छ” भन्नेलाई भन्न देऊ
आफ्नो अस्तित्वलाई चिन
सबल बन
हेर, तिमी सबल बनेऊ भने
कुनै पिशाचले तिम्रो शोषण गर्न सक्दैन
सक्दैन जिस्काउन बीच सडकमा
साहस गर्दैन घिस्याउन सुनसान गोरेटोमा
त्यसैले मैले त दुईटा सन्धि गरेँ आफैसँग
एउटा
स्वयं निर्भरको
अर्को
” एन्टिम्यारिज” को
के तिमीले पनि गरौ?

निलीमा आचार्य
विश्वनाथ असम

प्रतिक्रिया