एन्जल मेनुयल सोटो नयाँ फिल्म “ब्लू बीटल” लिएर आए दर्शक माझमा

नवीन रायमाझी २०८० भदौ ८ गते २२:५० मा प्रकाशित

पोर्टो रिकोमा जन्मे/ हुर्केका र बाल्यकालमा गरिबी देखेका तथा डिनर पार्टी (सन् २०१८) जस्तो बहु चर्चित सिनेमाको निर्देशन गरिसकेका एन्जल मेनुयल सोटो नयाँ सिनेमा “ब्लू बीटल” लिएर दर्शक माझ आएका छन्, जो शुक्रबार (१८ अगस्ट) रिलिज भएको छ। डि सी कमिक्सको चर्चित पात्र जेमी रेयस र उनको जीबनमा आउने सुख वा दुखको कथामा आधारित यो सिनेमा बिशेष गरेर ८० को दशकमा किशोर उमेरका दर्शक हरुलाई प्रिय लाग्न सक्छ, यद्वपी अन्य उमेरका दर्शक हरु बीच पनि यो पात्र लोकप्रिय रहेको कुरालाई नकार्न सकिन्न। जिन्दगीमा सुख दुख आउँछ तर परिवार मात्र लामो समय सम्म हाम्रो साथमा रहन्छन भन्ने मूल बिषयमा आधारित यो सिनेमाले नायकको जीबनको उतार चढाबलाई क्रमिक रुपले प्रस्तुत गर्दछ।

सिनेमाको कथा अनुसार जेमी रेयस (जोलो मरिदुएन) जब आफ्नो पढाइ समाप्त गरेर घर फर्किन्छ, त्यसपछि उसलाई आफ्नो परिवार आर्थिक सङ्कट मा भएको थाहा हुन्छ। जुन घरमा उनको परिवार निकै लामो समय सम्म बसेका थिए त्यसको मालिकले तिन गुणा बढी घरको भाडा वृद्धि गरेको हुन्छ। रेयस एउटा सानो काम गरेर आफ्नो परिवारलाई सहयोग गर्दै गरेको अबस्थामा उनको भेट जेनी कोर्ड (ब्रूना मार्केजिन) नामकी सुन्दर युवतीसँग हुन्छ, जसको सहयोगले रेयस “सुपर हिरो” हुन्छन तर सुपर हिरो हुने क्रममा उनलाई निकै धेरै शारीरिक पिडा हुन्छ तर उनले यो पिडा सहन्छन। जेनीको फुपू भिक्टोरिया कोर्ड (सुसन सरण्डन) कोर्ड इण्डस्ट्रिज नामको एउटा ठुलो सुचना प्रबिधिको कम्पनिको मालिक हुन्छिन तर उनि निकै दुष्ट छिन, भिक्टोरियाको स्वभाब र कुरा एक आपसमा मिल्दैन। जेनीले पिज्जाको बक्समा लुकाएर रेयस लाई दिएको यन्त्र अर्थात “ब्लु बिटल” अत्यन्तै सम्बेदनशील छ र त्यसलाई रेयसले लुकाउने र भिक्टोरियाले खोज्ने क्रममै सिनेमाको अन्त हुन्छ। यो दौडमा कसको विजय हुन्छ त्यसको लागि सिनेमा हेर्दा मात्र पूर्ण मनोरन्जन प्राप्त हुन्छ।

कलाकारहरुको अभिनयको कुरा गर्दा नायक मरिदुएनले कलेजको छात्र देखि सुपर हिरो सम्मको यात्रामा उत्कृष्ट अभिनय गरेका छन्। त्यस्तै ब्राजिलकि सुपर मोडल नायिका मार्केजिनले आफ्नो सुन्दर अनुहार र शरीरलाई खुलेर प्रदर्सन गरेकी छिन, यद्वपी उनको अभिनय पनि सन्तोषजनक नै छ। अन्य कलाकारहरुमा रेयसको हजुरआमा नाना रेयस (एड्रियाना बर्राजा), पिता अल्बर्टो रेयस (डेमियन अलकजार), काका रुडी रेयस (जर्ज लोपेज), बैनी मिलाग्रो रेयस (बेलिसा एस्कोबेडो) र भिक्टोरियाको बडिगार्ड काराप्क्स (राउल ट्रूजिलो) को अभिनय आफ्नो आफ्नो स्थानमा राम्रो छ। त्यसमा पनि भिक्टोरिया कोर्डको भूमिकामा नायिका सरण्डनले सफल ब्यबसायी महिला र युबा अबस्थामा रहस्यमय रुपमा गायब भएका भाइको सम्झनामा बिक्षिप्त दिदिको रुपमा गरेको अभिनय उत्कृष्ट छ।

निर्देशक सोटोले भिज्युल इफेक्ट्सको सहयोगमा एक्सन दृशलाई अत्यन्तै रोमान्चक बनाएका छन्, यसको साथै सिनेमाको भावनात्मक दृश्यहरुले पनि दर्शकको मन तान्छ। अब्दुल रहमान र अब्दुल रहिम दुइ भाइले आफ्नो समुह सँग मिलेर गरेको भिज्युल इफेक्ट्सको कामलाई जति तारिफ गरे पनि कम हुन्छ। “द हक्सन क्लक” समुहको सङ्गीत र पवेल पोगोरेजेस्कीको छायाँकनको साथै अन्य सबै प्राबिधिकहरुको काममा खोट लगाउने ठाउँ छैन। कुल मिलाएर एउटा दर्शनीय सिनेमाको निर्माण गर्ने निर्देशक सोटो धन्यबादका पात्र छन्।

यदी तपाईं अँग्रेजी भाषामा दखल राख्नुहुन्छ र सुपर हिरोको सिनेमाको पारखी हुनहुन्छ भने यो सिनेमा अबश्य हेर्नुहोला, तर यी दुवै कुरामा तपाईंको ज्ञान छैन भने तपाईंलाई यो सिनेमा बाँदरको पुच्छर जस्तै हुन्छ, त्यसलाई तपाईं लौरो वा हतियार को रुपमा प्रयोग गर्न सक्नु हुन्न।

@twitter#naviin

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया