काठमाडौ, आजदेखि देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा पुनः नेपाल नजिक सर्ने क्रममा रहेकाले पुनः भारी वर्षाको सम्भावना देखिएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
न्यूनचापीय रेखा अहिले पश्चिमतर्फ सरदर स्थान आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ ।
रातिदेखि भोलि र पर्सिसम्म वर्षा तुलनात्मकरूपमा बढी हुने सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए ।
आज बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहेको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई लुम्बिनी प्रदेशसहित पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया